२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

आश्वासन पाए , पैसा पाएनन्

काठमाण्डौ । यस वर्ष पनि सरकारले तोकेको समयभित्र उखु किसानले पूरै भुक्तानी पाएका छैनन् । अघिल्लो वर्ष आन्दोलनपछि सरकारसँग भएको सहमतिअनुसार भुक्तानी नपाएका किसान यस वर्ष पनि काठमाण्डौ आएर दुई हप्तासम्म धर्ना दिएका थिए ।

किसानको धर्नापछि गएको पुस १३ गते सरकारले २१ दिनभित्र भुक्तानी गराउने सहमति त गर्‍यो तर समय सीमाभित्र किसानले पूरै भुक्तानी पाउन सकेनन् । २१ दिने समय सीमा सकिएको दिन सोमबार (हिजो) सम्म चिनी उद्योगले उखु किसानको ५१ करोड ३८ लाख बक्यौता भुक्तानी दिएको गृह मन्त्रालयले जनाएको छ । ​किसानले पाउनुपर्ने ७० करोड ५७ लाख बक्यौतामध्ये ५१ करोड ३८ लाख रुपैयाँमात्र भुक्तानी भएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए । यो किसानले पाउनुपर्ने रकमको ७२ प्रतिशत हो ।

लुम्बिनी चीनी उद्योग प्रालीले आठ करोड ४१ लाख बक्यौता भुक्तानी गर्नुपर्नेमा सोमबारसम्म चार करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । यस्तै १७ करोड दिनुपर्ने अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख भुक्तानी गरेको छ । ४० करोड ४६ लाख बक्यौता रहेको श्रीराम सुगर मिलले ३५ करोड ७५ लाख भुक्तानी गरेको छ । चार करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्ने इन्दिरा सुगर मिलले अहिलेसम्म भुक्तानी नदिएको गृह मन्त्रालयका सूचना अधिकारी लामिछानेले बताए ।

उखु किसानले भने आफूहरूको ९० करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको बताउँदै आएका छन् । सबैजसो किसानको खातामा रकम पुगेको भए पनि भुक्तानी पूरै नभएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए । भुक्तानी दिएकाहरूको पनि नाम र विवरण स्पष्ट नखुलेको उनले बताए । सरकारले पूरै बक्यौता भुक्तानी गराउने सहमति गरे पनि त्यो पूरा नभएपछि अब के गर्ने भनेर मङ्गलबार (आज) उखु किसानहरूको बैठक बस्ने तयारी रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?