नेपालमा ४० लाखको हाराहारीमा सवारीसाधन दर्ता भएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी दुईपांग्रे छन्, यसको व्यवस्थापनका लागि कार्यान्वयनको खाकासहित ठोस योजना ल्याउनु अति आवश्यक भइसकेको छ । निजी सवारीसाधन आयातमा भएको वृद्धि र यसप्रति युवाहरूको आकर्षणले गर्दा सडकमा सवारीको घनत्व दिन–प्रतिदिन बढ्दो छ, सोही अनुपातमा हाम्रा सडकहरूको क्षमता भने बढेको छैन । सडक प्रयोगकर्ताहरूको सुरक्षा पनि चुनौती बनिरहेको छ ।
विश्वमा प्रतिदिन ३७०० व्यक्तिले सवारी दुर्घटनाबाट ज्यान गुमाउने गरेको तथ्यांक छ, नेपालमा भने यो संख्या करिब ८ रहेको छ । सडकको छेउछाउ हिँड्ने तथा सडक पार गर्ने पैदल यात्री र दुईपांग्र्रे सवारीसाधन सधैं दुर्घटनाको जोखिममा हुन्छन् । सार्वजनिक तथा निजी सवारी सञ्चालनका लागि सडक सुरक्षासँग जोडिएका सवालहरू ज्यादै संवेदनशील छन् । सहरी सडक तथा राजमार्गहरूमा सडक सुरक्षाका सबै उपाय अवलम्बन नगर्ने हो भने दुर्घटना झनै बढ्नेछ । सडकलाई कसरी सुरक्षित बनाउने भन्नेमा पनि सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।
सवारीसाधनहरूको नियमन गर्ने ट्राफिक प्रहरीले आधुनिक यातायात प्रणालीको अभावमा सिठ्ठी फुकेरै यातायात सहजीकरण गरिरहेका छन् । सडक प्रयोगकर्ताअनुकूल पूर्वाधार निर्माण हुन नसक्दा दुर्घटना बढेको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र प्राप्त चालकहरूलाई समयसमयमा दक्ष प्रशिक्षकबाट तालिम हुन नसक्नुले पनि दुर्घटनाहरू बढिरहेका छन् । हामीकहाँ भएका अधिकांश दुर्घटनासम्बन्धी छानबिन प्रतिवेदनहरूले सडक दुर्घटना चालकको असावधानीका कारण बढी हुने गरेको देखाउँछन् । त्यस्तै अर्को प्रमुख कारण हो—सवारीको तीव्र गति । गति जति बढी हुन्छ, त्यति नै सवारीसाधन नियन्त्रण गर्न कठिन हुन्छ ।
दुईपांग्रे सवारीसाधन सबैभन्दा बढी आवश्यकता, केही मात्रामा रहर र आर्थिक अवस्थामा आएको सुधारका कारण खरिद गरिन्छ । मोटरसाइकल तथा स्कुटर चलाउँदा गतिमा आफ्नो नियन्त्रण हुनु पर्छ । साथै गुणस्तरीय हेलमेट लगाउनुपर्छ । अचेल विद्यालयको पढाइ सकेर कलेज भर्ना गर्नुपूर्व नै छोराछोरीको इच्छाबमोजिम मोटरसाइकल तथा स्कुटर खरिद गरिदिने चलन मौलाएको छ । छोराछोरीले पनि त्यसैमा दंग परी कलेज आउजाउ गर्ने गरेका छन् । कलेज पोसाकको अतिरिक्त मोटरसाइकल तथा स्कुटर पनि अनिवार्यजस्तै भएको छ । कामका लागि आवश्यकताले खरिद गर्नु त छँदै छ । यसले दुईपांग्रे सवारीसाधन आयात तथा बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । सँगै सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील मानिने हेलमेट खरिदमा भने त्यति ध्यान पुर्याउन सकेको देखिँदैन । बढी संख्यामा प्रयोग हुने दुईपांग्रे सवारीसाधन र तिनले प्रयोग गर्ने हेलमेटको विषयमा कमै चर्चा हुन्छ ।
सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि हेलमेट लगाउनुपर्छ । चालकले कम गुणस्तरको हेलमेट मापदण्ड पनि नपुर्याई लगाउने गर्छन् । पछाडि बस्नेले त हेलमेट नै लगाउन्नन् । यसले धेरैको जीवन असुरक्षित बनाइरहेको छ । हामीले किनेको हेलमेट संयुक्त राष्ट्रसंघबाट प्रमाणित मापदण्ड वा सोसरह छ कि छैन भनेर बुझ्नुपर्छ ।
हेलमेट आफ्नो टाउकोअनुसारको हुनुपर्छ, ठूलो हेलमेट सुरक्षित नहुने र सानो लगाउनै असहज हुन्छ । बच्चाहरूलाई पनि उनीहरूकै साइजको हेलमेट लगाइदिनुपर्छ । गुणस्तरीय हेलमेट लगाउनाले टाउकोमा लाग्ने चोटपटकमा झन्डै ७० प्रतिशतले कमी आउँछ भने मृत्यु हुने जोखिम ४२ प्रतिशतले । हेलमेट लगाउनुका तीन मुख्य कारण छन्— हेलमेट लगाउनुलाई कानुनले नै अनिवार्य गरेको छ, हेलमेटले दुर्घटना भइहाले टाउकोलाई सुरक्षित राख्न मद्दत गर्छ अनि धूलो–धूवाँबाट आँखा–अनुहारलाई सुरक्षित बनाउँछ ।
हेलमेट नलगाउँदा वा मापदण्ड नपुर्याई लगाउँदा दुर्घटना भइहाल्यो भने कल्पना नगरेको क्षति ब्यहोर्नुपर्ने हुन सक्छ । साँघुरा सहरी सडकमा ट्राफिक नियमको पालना नगरी दुईपांग्रे सवारी जथाभावी चलाउने, राजमार्गहरूमा अत्यधिक गतिमा कुदाउने गर्नाले पनि दुर्घटनाको जोखिम बढ्छ । फेरि कार र बसमा जसरी भित्र बसेर यात्रा गर्न नमिल्ने हुँदा, यसमा गरिने यात्रा थप जोखिमपूर्ण छ । जाडो मौसममा चिसो हावा छातीमा सीधै पर्ने हुनाले बिरामी पर्न सकिन्छ, बर्खामा सडक चिप्लो भएर लड्ने सम्भावना पनि उत्तिकै छ । धेरैजसो मुलुकमा दुईपांग्रे सवारीसाधनलाई जोखिमपूर्ण मानिन्छ, र जोखिम न्यूनीकरणका लागि सरकारीस्तरबाट निकै काम गरिएको हुन्छ । हाम्रोमा भने यो विषय ओझेलमा परेको छ ।