२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

थन्क्याउन ल्याएको होइन खोप

कुनै बेला कोभिडविरुद्ध मुलुकमा खोप थिएन, कहाँबाट–कसरी जोहो गर्ने भन्ने चिन्ता थियो। आजभोलि खोप पर्याप्त छ, तर सरकारको उदासीनताका कारण जनताले पाएका छैनन्। यही रवैयाले आगामी चैतभित्र सबै नागरिकलाई कोभिडविरुद्ध खोप लगाउने सरकारको घोषणा कागजमै सीमित हुने देखिन्छ। कोभिडविरुद्धका १ करोड २० लाख खोप डोज भण्डारणमै थन्किएका छन्। विश्वमा कोरोनाका नयाँनयाँ भेरियन्ट देखा पर्दा पनि जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील छैन भन्ने यसबाट पुष्टि हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिएका कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप मुलुकमा भण्डारण भएका छन्। तीमध्ये केही सरकारले आफंै किनेर ल्याएको हो भने केही अनुदानका हुन्। तर, जुन रफ्तारमा खोप भिœयाइयो, त्यसअनुसार प्रयोगमा ल्याउने र जनताको स्वास्थ्यलाई प्राथमिकता दिने काम सरकारबाट फिटिक्कै भएन। जनताले लगाउन नै नपाई भण्डारणमै खोप त्यसैखेर जाने हो कि भन्ने चिन्ता सरोकारवालाहरूको छ।

विज्ञहरूका अनुसार, खोप लगाएका व्यक्तिमा कोभिडको जटिलता र मृत्युदर कम छ। अमेरिकालगायतका सम्पन्न मुलुकमा पूर्ण खोप लगाइसकेर पनि (बुस्टर डोज) लगाउन थालिसकिएको छ। तर, हामीकहाँ ३२ दशमलव १ प्रतिशतले मात्र पूर्ण खोप पाएका छन। दुई तिहाइ जनसंख्या अझै खोपको पहुँच बाहिर छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म खरिद र अनुदानको गरी ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज खोप प्राप्त भइसकेको छ । थप, १ करोड ८० लाख डोज आउने  क्रममा छ। अहिले १ करोड २० लाख खोप डोज भण्डारमै थन्किएको छ।

छिमेकी देश र अरूसँग हारगुहार गर्दै, दाता खोज्दै बल्लतल्ल भिœयाइएको खोप पनि जनतासम्म पुर्‍याउन सकिएको छैन भन्नु लाजमर्दाे विषय हो। जतिसक्दो चाँडो जनतालाई खोप लगाएर कोभिडको सन्त्रासबाट जनजीवन सामान्य र चलायमान बनाउनेतिर सरकारको ध्यान जान जरुरी छ। एकातिर खोपप्रति सरकारको उदासीनता र हेलचेक्र्याइँ देखिन्छ भने अर्कोतर्फ खोपप्रति जनतालाई विश्वस्त तुल्याउने र खोपको महŒवबारे जानकारी गराउनुपर्ने देखिन्छ। सबै खोपहरू विश्वसनीय, सुरक्षित र प्रभावकारी भएपनि आमजनता खोपप्रति आकर्षित हुन सकेका छैनन्। सुरुका दिनमा खोपप्रति फैलाइएका विभिन्न भ्रम र नकारात्मक प्रचार पनि यसका कारण हुन सक्छन्।

त्यसैले सरकारले स्थानीय सरकार, नागरिक समाज, राजनीतिक दल, समाजसेवी र समाजसेवाका विभिन्न संघसंस्थालाई आबद्ध गएर खोप लगाउने विशेष अभियान नै सञ्चालन गर्नुपर्छ। जनचेतना र अभियानले मात्र सबैलाई खोप लिन प्रेरित गर्ने देखिन्छ। अर्कोतर्फ, विभिन्न सेवा र सुविधाका लागि खोप लगाएको छ वा छैन भनेर विवरण संकलन गर्ने काम पनि सँगसँगै गर्नुपर्ने देखिन्छ। कोभिडले थला परेको समाज र आर्थिक गतिविधिलाई तत्काल चलायमान बनाउने एकमात्र विकल्प यसविरुद्धको खोप हो। गठबन्धनको सरकारले पनि जनताको जीवनरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको भन्दै सरकारको साझा कार्यक्रम घोषणा गरेको थियो।

सबै नागरिकलाई समयमै खोप दिन सके कोभिडको संक्रमण पनि कम हुने र जनजीवन पनि सामान्य बन्दै जान्छ। अर्कोतर्फ विश्वमा कोभिडका नयाँनयाँ रूप देखा पर्न थालेका छन्। हालैमात्र ओमिक्रोनको संक्रमण फैलँदो छ। तर, कोभिडविरुद्ध खोप लगाएका मुलुकमा ओमिक्रोनको जटिलता र मृत्युदर निकै कम छ। त्यसैले पनि सरकारले भण्डारणमा रहेका खोप जतिसक्दो चाँडो जनतामा पुर्‍याउने काम गर्नैपर्छ। स्वास्थ्य मन्त्रालयका अनुसार खोपका लागि सिरिन्जको अभाव देखा पर्दैछ। सरकारले समयमै सिरिन्जको पनि व्यवस्था गर्नैपर्छ।

अन्नपुर्णबाट

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?