एजेन्सी । अफगानिस्तानमा महिला एक्लैले लामो तथा मध्यम दूरीको यात्रा गर्न नपाउने भएका छन् ।
तालिबानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि अनुमति भए पनि अब लामो तथा मध्यम दूरीमा यात्रा गर्दा आफन्त तथा परिवारका पुरुष सदस्यसँगै हुनुपर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ ।
लामो यात्रा गर्ने महिलाको साथमा पुरुष नभए यात्राका लागि अनुमति नपाउने तालिबानी अधिकारीलाई उदृत गर्दै खबरमा भनिएको छ । अब ७२ किलोमिटर भन्दा लामो दूरीको यात्राका लागि महिलाले पुरुषलाई अनिवार्य साथाम लैजानु पर्नेछ ।
यस्तै, तालिबानले बुर्का लगाएका महिलालाई मात्रै यात्राका लागि गाडीमा चढाउन आग्रह गरेको छ ।
गएको अगस्ट १५ तारिखमा अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँ अहिले तालिबानको शासन छ । तालिबानले सत्तामा फर्किँदै गर्दा महिला तथा मानवअधिकारको रक्षा गर्ने बताए पनि त्यसो हुन नसकेको मानवअधिकारकर्मीले बताएका छन् ।