तीन वर्षअघि नै सरकारले विद्युतीय सवारी (युग)को घोषणा गरे पनि कार्यान्वयनतिर भने फिटिक्कै ध्यान दिएन। पेट्रोलियम पदार्थमा बर्सेनि बाहिरिने गरेको अर्बाैंको रकम जोगाउन र सहरको स्वच्छता कायम राख्न पनि सरकारी संयन्त्रबाटै विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता छ। अर्कोतर्फ वायु प्रदूषण न्यूनीकरण गर्न र स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गर्न पनि विद्युतीय सवारी प्रयोग गर्नुपर्ने देखिएको हो।
काठमाडौंको वायु प्रदूषणको मुख्य कारक नै सवारीसाधन हुन्। डिजेल–पेट्रोलबाट चल्ने गाडीको धुवाँ, धुलो र मैलोले काठमाडौंको वायु प्रदूषण मानव स्वास्थ्यका लागि दिनप्रतिदिन हानिकारक बन्दै गएको छ। प्रदूषणले नाक छोप्ने कि, आँखा छोप्ने कि वा मुख नै छोप्ने भन्ने बैरागलाग्दो अवस्था देखा पर्दैछ। अझ पुराना÷थोत्रा गाडीले फ्याँक्ने धुवाँको मुस्लोले त दिउँसै कालोपर्दा लागेर दुर्घटनासमेत हुने गरेका छन्। देशकै राजधानी सवारीसाधनको धुवाँ र धुलोले कुरूप बन्दै गएको छ।
अर्कोतर्फ, हरेक वर्ष दुई खर्बभन्दा बढी रकम पेट्रोल र डिजेल खरिदमा मात्रै बिदेसिने गरेको छ। गत वर्ष नेपाल आयल निगमले १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यसमा ढुवानी र चुहावटको खर्च जोड नै बाँकी छ। यो रकम बर्सेनि बढ्दै गएको छ। नाकाबन्दी र अरू बेलामा छिमेकी भारतले ‘आनाकानी’ गर्दा पेट्रोलियम पदार्थको अभावमा देश र जनताले भोग्ने दुःख र सास्तीका कुरै नगरौँ।
विद्युतीय सवारीको प्रयोगले देश र जनता सबैलाई फाइदा नै पुग्ने देखिन्छ। डिजेल पेट्रोलका सवारीको जस्तो आवाज नआउने र गन्ध पनि नआउने भएका कारण उपभोक्ताका लागि फाइदै पुग्ने देखिन्छ। उपभोक्तालाई इन्धन खर्च पनि निकै सस्तो पर्ने देखिन्छ। डिजेलबाट चल्ने बसले एक लिटर तेलबाट साढे ४ देखि ५ किलोमिटर दूरी पार गर्छ। हाल डिजेलको प्रतिलिटर १ सय १७ रुपैयाँ पर्छ। एक किलोमिटर दूरीलाई २४ रुपैयाँ खर्च पर्न आउँछ। यस्तै पेट्रोलको मूल्य १ सय ३४ रुपैयाँ ५० पैसा छ। पेट्रोलियम गाडीको प्रतिकिलोमिटर २७ रुपैयाँ जति इन्धन खर्च लाग्छ। तर विद्युतीय गाडीलाई एक किलोमिटर दूरी पार गर्न करिब ८ रुपैयाँ मात्र पर्न आउँछ। त्यसरी हेर्दा पनि विद्युतीय गाडीको इन्धन खर्च निकै कम पर्न आउँछ।
पेट्रोलियम सवारीको प्रयोगले वायु प्रदूषण गर्ने र त्यसले जलवायु परिवर्तनमा पनि असर पुगिरहेको छ। वातावरणविद्हरूका अनुसार कार्बन उत्सर्जन गर्ने दोस्रो क्षेत्र भनेकै यातायात हो। पेट्रोल र डिजेलबाट चल्ने सवारीको विकल्पमा जान नसके जलवायु परिवर्तनका अझ डरलाग्दा दृश्य देखा पर्ने वातावरणविद्हरूको भनाइ छ। यसैकारण विश्व विद्युतीय सवारीसाधनको प्रयोगतिर लम्केको छ।
पछिल्ला दिनमा नेपालमै पनि विद्युतीय गाडी प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। तर आवश्यक चार्जिङ स्टेसन नहुँदा विद्युतीय गाडीप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन। अर्कोतर्फ, विद्युतीय सवारीका लागि खाल्डाखुल्डी पुर्ने र सडकको स्तरोन्नती गर्नेतिर पनि सरकारको ध्यान जान जरुरी छ। विद्युत् प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउने घोषणा गरेको पनि महिनौ बित्यो। उसले यतातिर ठोस रूपमा काम गरेको छैन। पछिल्ला दिनमा स्वदेशमै विद्युत् उत्पादनको मात्रा बढदै गएको छ। केही समयभित्रै हामीले स्वदेशमै विद्युत्को खपत र प्रयोग बढाउनेतिर ध्यान दिन सकेनौं भने उत्पादित विद्युत् त्यसैखेर जाने निश्चित छ। विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माण, घरघरमा विद्युतीय सामग्रीको प्रयोगतिर अहिलेदेखि नै राज्यका नीति र कार्यक्रम बन्नैपर्छ। नेपालले विद्युत्को उत्पादन र प्रयोगलाई व्यापक बनाउन सके ऊर्जामा परनिर्भरता घटनेछ। यसबाट मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभाव पनि पर्नेछ।