१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

पुस के आग फुस्स !

कहिलेसम्म हामीले शीतलहरको कहरलाई दान–दातव्यको मौसम ठान्ने ? यसबाट लक्षित तप्कालाई झन् पराधीन र परमुखापेक्षी बनाउने काम भइरहनेछ । यसरी कहिलेसम्म गरिबको नक्कली संरक्षणकर्ता बनेर बस्ने हो ? सोच्ने बेला भइसकेन र ?

शीतलहर फेरि आइपुग्यो । उही ज्यानमारा शीतलहर । तराईमा बर्सेनिको नियति । यससँगै विभिन्न तहका सरकारहरूको कर्मकाण्ड सुरु हुन्छ । उही दाउरा बाल्ने, कम्बल र खाद्यान्न बाँड्ने । तर, बर्सेनि आउने यो विपद्को कहरबाट प्रभावित हुनेहरूको अवस्था ज्युँका त्युँ छ । अचानक आइपर्ने विपद् होइन यो ।

पछिल्ला केही वर्षदेखि बर्सेनि केही अवधिका लागि शीतलहर आउँछ नै । तर सरकारहरूको तयारी देखावटी मात्र छ । उसो त जाडोले सबैलाई प्रभावित गर्छ, तर यसको असर वर्गअनुसार फरक पर्छ । कमजोर तथा विपन्न परिवारमाथि यसले शत्रुपक्षले जस्तो आक्रमण गर्छ । जाडोले विपन्नको विपन्नता उजागर गर्छ । जति बढी गरिब, त्यति बढी असर । तराईमा शीतलहरका बेला मृत्यु हुनेहरूको संख्या बर्सेनि बढी हुन्छ । तर, मृत्युको प्रमुख कारण गरिबी हो ।

हाम्रो समाजको यथार्थ हो— एकातर्फ शीतलहरको कहर, अर्कातर्फ उत्सवको माहोल । गरिब परिवार जाडो छल्न घुर ताप्छन्Ù हुनेखानेहरूका लागि गिजर, हिटर, एयरकन्डिसन, पोषिलो खाना वा रम–ब्रान्डी हुन्छ । हुनेखानेहरू त यो मौसमको प्रतीक्षा गर्छन् । जाडो छल्ने शैली आआफ्नो । कतिपयका लागि शीतलहर बजार भएर आइदिन्छ । यो बजारमा समेत वर्ग विभाजन प्रस्ट देखा पर्छ । कोको सस्तो बजारतिर डोरिएका छन्, कोको भव्य मलतिर लागेका छन् र कोको दानका पुराना कपडा लिन घम्साघम्सी गर्दै छन् ? रजाई र ब्ल्यांकेटबीचको भिन्नता, गाँती र टोपी–मफलरको भिन्नताले आर्थिक हैसियतलाई रेखांकित गर्छ ।

तराईमा लूको प्रकोप कम हुन्न तर शीतलहरको अवधिमा ज्यान गुमाउने बढी हुन्छन् । आगो ताप्दा जलेर मर्ने वा घाइते हुने, जाडोले कठ्यांग्रिएर मर्ने, अन्य रोग लागेकाहरू झन् गाह्रो भएर मर्ने हुन्छन् । ताप्न बालेको आगोले गर्दा, कतिपय अवस्थामा निगरानीको कमीले, घर–गोठ जल्छन् र गाईवस्तुको नोक्सानी हुने हुन्छ । जोसँग संसाधन छैन, तिनले यताउता सडक–खेतबाट ल्याएका कचरा बाल्छन् र जाडो छल्न खोज्छन् । कहावत नै छ, ‘पुस के आग फुस्स’ । आशय हो— आगो बले पनि त्यसमा गर्मी हुँदैन, ताप पनि चाँडै सकिन्छ । यस्तोमा आगो हुनुको भ्रममा त्यहीँ खुम्चिएर बाँच्नुको विकल्प हुँदैन । चिसो छल्न घरै बसेर पनि भएन, कामका लागि बाहिर निस्किनैपर्‍यो । कतै त पाइरहेको काम पनि चिसोले खोसिदिन्छ । शीतलहर एउटा तप्कालाई झन् गरिब बनाउने फ्याक्ट्री नै रहेछ । शीतलहरले तराईमा व्याप्त चरम गरिबीको चित्र बाहिर त ल्याउँछ नै, परोपकारी राजनीतिको नक्कली अनुहार पनि उदांगो पार्छ । यसैले शीतलहरको समाजशास्त्र र अर्थतन्त्रबारे गहिरो दृष्टि दिनुपर्ने हुन्छ ।

शीतलहरबाट बढी आक्रान्त तप्काको बसोबास कस्तो ठाउँमा छ ? नदीकिनार, जलजमाव हुने क्षेत्रवरिपरि, सडक वा नहरको खुला ठाउँमा ? घरको बनोट कस्तो छ ? यो सवाल मूलतः दलितहरूका सन्दर्भमा छ । प्रायः दलितहरू विपन्न छन् र तिनको बसोबास असुरक्षित छ । उसो त तराईको जीवनशैली पारम्परिक रूपमा गर्मीसँग जुध्ने प्रकारको छ । जाडोसँग अनुकूलनको जीवन पद्धति नभएर पनि होला, यहाँको जाडो ज्यानमारा हुने गर्छ । शीतलहरका सन्दर्भमा गरिबीलाई बुझ्न भौतिक अभाव र त्यसको परिपूर्तिप्रति बढी जोड दिइएको आभास हुन्छ । तराईमा जाडो पनि त्यस्तै, गर्मी पनि उस्तै । छोटो समयको अन्तरालमा दुई भिन्न चरम परिस्थितिबाट गुज्रिनुपर्ने हुन्छ । यस्तोमा तराईको जीवनशैली यी दुई विपरीत मौसमका लागि अनुकूल बनाउनुपर्ने देखिन्छ ।

एउटा नागरिकलाई बाँच्नका लागि नभइनहुने कुरा हुन्— खाना, घर, सुरक्षा आदि । व्यक्तिको क्रय शक्तिका आधारमा गरिबी मापन गर्ने गरिन्छ । व्यक्तिको क्रय शक्तिमै निर्भर हुने हो उसको भौतिक आवश्यकताको पूर्ति । अबको समयमा यसलाई अझ फराकिलो ढंगले हेर्नुपर्छ । कोही व्यक्ति आफ्नो जिन्दगीको निर्णय आफैं गर्छ कि कसैले गरिदिएको भरमा बाँच्नुपरेको छ ? गरिबीको कारण र उत्पत्ति यहीँको सामाजिक–आर्थिक संरचनाबाट भएको हो भन्ने मान्यता हाम्रै माझ छ कि छैन ? उपलब्ध स्रोतसाधनको असमान वितरण प्रणाली र त्यसले सामाजिक न्यायमा के प्रभाव पार्‍यो ? हाम्रो विश्लेषण र बुझाइमै समस्या छ कि ?

शीतलहर–विमर्श परालको आगोजस्तै हुँदै आयो । संकट आउँदा होहल्ला, त्यसपश्चात् चुपचाप । जतिसुकै शीतलहर आओस्, त्यससँग जुध्दै आफ्नो दैनिकी वहन गर्ने बाध्यतामा रहेकाहरूको महागाथा ओझेलमा पर्छ । कतै विद्यालय र कतै कलकारखाना बन्द त सुन्छौं तर भान्साको काम बन्द भएको सुनिँदैन । अहिले पनि भान्साको काममा महिलाहरूकै संलग्नता छ । महिलाहरूको स्थितिलाई हेर्दा गरिबीको व्याख्या र विश्लेषणका सन्दर्भमा विद्यमान समाजको उनीहरूप्रतिको समग्र दृष्टिकोण र उनीहरूलाई संलग्न गराइएको कामको बाँडफाँटलाई बिर्सनु हुँदैन । यस कोणबाट चियाउँदा शीतलहरबाट पीडित हुनेमा महिलाहरू नै बढी छन् ।

शीतलहरले गर्दा जसको जीवन रोकिएको छ, जो दैनिक ज्याला गरेर जीवन धान्छन्, तिनीहरू अर्थोपार्जन गर्न नपाएपछि चर्को ब्याजदरमा ऋण लिन विवश हुन्छन् । साहूहरूका लागि कमाउ मौसम हो यो । चिसोमा जीउ अररिने भएकाले खुला ठाउँमा काम गर्न पनि समस्या हुन्छ । अहिले पनि तल्लो तहका कर्मचारी–कामदारका लागि निजी वा सरकारी प्रतिष्ठानमा जाडोअनुकूलको कार्यथलो बन्न सकेको छैन बरु उपल्लो तहकाहरूले मौसमअनुकूल बन्दोबस्त गरेका हुन्छन् । मोटरसाइकल–साइकलबाट रोजगारी वा व्यापार गर्नेहरू पनि यो मौसममा प्रभावित हुन्छन् । शीतलहरले आलु, दाल, गहुँ र तरकारी खेतीमा असर गर्छ । शीतलहरले दैनिकीमा के–कस्तो फेरबदल ल्याउँछ ? त्यसले को कहाँ कस्तो असरमा परेका छन् ? सही तथ्यांक र विश्लेषणको अभाव छ । कहिलेसम्म हामीले शीतलहरको कहरलाई दान–दातव्यको मौसम ठान्ने ? यसबाट लक्षित तप्कालाई झन् पराधीन र परमुखापेक्षी बनाउने काम भइरहनेछ । यसरी कहिलेसम्म गरिबको नक्कली संरक्षणकर्ता बनेर बस्ने हो ? सोच्ने बेला भइसकेन र ?

शीतलहरका नाममा नगरपालिकाहरूले कम्बल बाँड्न वा सार्वजनिक ठाउँमा दाउरा बाँड्न सजिलो हुन्छ, तर केकति कारणले हिमाल–पहाडका तुलनामा मधेसमा शीतलहरपीडित बढी छन्, त्यसको कारण निफन्न र निर्मूल गर्न त्यति सजिलो छैन । राहतमा कम्बल त बाँडिन्छ तर त्यसले चिसोबाट जोगाउन सक्छ कि सक्दैन ? शीतलहरलाई लिएर जुनसुकै तहका सरकारमा तय हुने रणनीति र कार्यक्रमहरू त्यस्ता गतिला देखिन्नन् । प्रायः देखासिकीमा हुने गरेका छन्, यस्ता कार्यक्रमहरू । एउटा स्थानीय तह वा ठाउँमा गरिएको कार्यक्रम नै सर्वत्र दोहोरिने गर्छ । चाहे सरकारी क्षेत्र होस् वा गैरसरकारी, भाषा र ढर्रा मात्र फरक हुन्छ, आशय एउटै भएको पाइन्छ । यसरी टाउको दुखेको औषधि नाइटोमा लगाउने काम भैरहेको छ । त्यसै गरी तत्काल राहतका नाममा जे स्रोत पोख्ने गरिन्छ, त्यो कहाँ बगेको छ ? त्यसबाट फाइदा कसले लुटेको छ ? त्यसमाथि कसको नियन्त्रण छ ? कुन पक्षले बढी त्यसलाई सोसेको छ ? यस्ता पक्षलाई आधार बनाएर, विश्लेषण गरेर रणनीति तय गरी त्यो जालोलाई च्यात्न सक्नुपर्छ ।

तराईकै कुन भूगोलमा शीतलहरको कस्तो असर पर्छ ? यसले पार्ने सामाजिक–आर्थिक प्रभाव के हो ? हाम्रा शिक्षण प्रतिष्ठानहरूलाई शीतलहरमैत्री कसरी बनाउने ? हामी देख्छौं, हिमालदेखि तराईसम्मका स्कुलहरूको बनावट समान प्रकारको छ । कक्षाकोठाको छानामा जस्ता हालिएको हुन्छ, जुन तराईमा जाडो याममा झन् चिसिने र गर्मीमा झन् तात्ने हुन्छ । यस्ता कक्षाकोठा विद्यार्थीमैत्री हुन्नन् । पीडितहरूलाई राहत सुविधा पटक्कै चाहिँदैन भन्न खोजिएको होइन; यथार्थ के हो भने, शीतलहरको बहुआयामी असर छ, जेलिएको छ, जटिल छ । त्यसैले सबै कोणबाट सोच्ने बेला आएको छ । नत्र हाम्रा सबै प्रयत्न पुसको आगोझैं ‘फुस्स’ भइरहन्छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?