बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिस हृदयघातका कारण बहराइनको एक अस्पताल भर्ना भएकी छन्।
आमा अस्पतालमा भर्ना भए पनि ज्याकलिन भने आमालाई भेट्न जान नपाउने भएकी छन् ।२ सय करोड ठगीको केसमा मुछिएपछि ज्याकलिनलाई भारतबाट बाहिर जान रोक लगाइएको छ। यसअघि पनि उनलाई अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको थियो।
२ सय करोड ठगी केसका आरोपी सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी विवादमा तानिएकी थिइन्।ज्याकलिनकी आमाको स्वास्थ्यमा केही सुधार भएपनि अस्पतालमै स्वास्थ्यकर्मीको निगरानीमा रहेकी छन्। आफू जान नपाए पनि ज्याकलिन आमासँग रहेका आफन्तसँग सम्पर्क गरिरहेकी छन्। साथै बिरामी आमालाई भेट्न जान पाउँ भनेर प्रवर्तन निर्देशनालयमा निवेदन पनि पठाएकी छन्।
गत डिसेम्बरमा आफ्नो परिवारसँग क्रिसमस मनाउन बहराइन जाने योजनामा रहेकी ज्याकलिनलाई प्रवर्तन निर्देशनालयले रोकेको थियो। सन् २००६ मा मिस युनिभर्स श्रीलंकाको उपाधि जितेकी ज्याकलिन सन् २००९ मा बलिउड प्रवेश गरेकी थिइन्। ‘अलादिन’बाट बलिउड डेब्यु गरेकी ज्याकलिनका यो वर्ष ‘अट्याक’, ‘बच्चन पाण्डे’, ‘सर्कस’ र ‘राम सेतु’ प्रदर्शनको तयारीमा छन्।