२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

खाडी मुलुकमा सुरक्षाको प्रश्न

हातका नाडीदेखि पाखुरा हुँदै गर्धनसम्म चुरोटका ठुटाले पोलेको डाम बोकेर दूतावासको शरणमा आइपुगेकी थिइन्, बुटवलकी पार्वती परियार। झन्डै ३५ किलो जतिकी देखिने ३३ वर्षीया उनलाई के भएको थियो भनी बुझ्न खोज्दा डर, त्रास, भय र तनावले भरिएको उनको बोली फुट्नै करिब दुई घण्टा लागेको थियो।

नेपाली ट्याक्सीचालकले बाटोमा अलपत्र अवस्थामा देखेर उनलाई दूतावाससम्म ल्याइदिएको थियो। उनले काम गरेको घरको यातना सहन नसकेर फोहोर फाल्न निस्कँदा ५० डिग्रीको चर्को घामको बेवास्ता गर्दै उनी खालीहात भागिन्। उनी काम गरिरहेको घरबाट भागेर सडकमै रुमल्लिइरहेको अवस्थामा ती चालकले उनलाई भेटेका थिए। वैदेशिक रोजगारीका लागि घरबाट निस्कँदा ५४ केजी तौल भएकी उनी १३ महिनाको कतार बसाइमा १९ किलो घटिन्।

दुई घण्टा पनि राम्रोसँग सुत्न नपाउने उनी दैनिक १८ देखि २० घण्टा काम गर्र्थिन्। सुत्न नपाउने त छँदैछ, कतारको काम गराइमा पेटभरि खानसमेत उनले कहिल्यै पाइनन्। यति गर्दा पनि उनले पाउने भएको गाली, हप्की मात्रै थियो। चुरोटले पोलिदिने, कपाल लुछ्ने, कुट्ने त सामान्य भइसकेको थियो। यति मात्रै होइन, घरमालिक वा उसका छोराहरू जसले मौका पाउँछ, उसैले गर्ने यौनहिंसा गर्ने। जुन सामान्य दैनिकी नै बनिसकेको थियो।

१३ महिनासम्म नौवटा घरमा पालैपालो काममा लगाए पनि त्यतिन्जेलको न त उनले पैसा नै पाइन् न त बाहिरिया दुनियाँ र घरपरिवारसँग सम्पर्क गर्न नै। करिब चार घण्टा उनको दर्दनाक कहानी सुनेका एक नेपाली सञ्चारकर्मीले मेरा कतिपटक आँसुले गाला भिजे गन्न भुलेछु भनेका थिए। उनको अवस्थाको बारेमा त कसरी बयान गरौं र खै ? तत्कालीन राजदूत प्रा.डा.सूर्यनाथ मिश्रको कठोर कदमपश्चात् १३ दिन आश्रयस्थलमा बसेर खोज तथा अनुसन्धान विभागहँुदै झन्डै एक महिनापछि उनी जीवितै स्वदेश फर्कन सफल भइन्।

एक दशक पहिलेको यो घटनाले स्पष्ट हुन्छ कि खाडी देशहरूमा हुने घरेलु कामदार माथिको हिंसा। पार्वती त प्रतिनिधिपात्र मात्रै हुन्। गैरकानुनी बाटो हँुदै खाडीका देशहरूमा घरेलु कामदारका रूपमा ल्याइएका सयौं पार्वती यी र यस्तै हिंसा भोग्न आज पनि बाध्य छन्। उनीहरू न त जीवित छन् न त मर्न नै सकेका छन्। मरेर बाँच्ने पात्रहरू थुप्रै छन्। यो केही समय पहिलेको कतारको प्रतिनिधि घटना मात्रै हो।
हालै यूएईमा गरिएको सर्वेक्षणले पनि घरेलु कामदार माथि गर्ने व्यवहारमा खासै भिन्नता भएको देखिँदैन। तीन दर्जन घरेलु कामदारसँगको सर्वेक्षणले पनि यही कुरा झल्काउँछ। जसमा यी अवस्था समान छन् ः महिनावारी तथा स्वास्थ्यमा अन्य समस्या भएर काम गर्न नसक्दा पनि आराम नपाउनु, घरमा भएका खानेकुरासमेत भोक लाग्दा खान नपाउनु, इच्छा लागेको खानेकुरा बनाएर खान नपाउनु, घरमा भएका सामान आफ्नो खुसीले प्रयोग गर्न नसक्नु, नेपालमा भएका परिवारसँग लामो समयसम्म पनि बोल्न नपाउनु आदि छन्।

अन्य देशका घरेलु श्रमिक नै भए पनि ‘सर्भिस बेनिफिट’ पाउँछन् तर नेपालीलाई तोकिएको पूर्ण तलब पाउन पनि युद्ध जितेसरह हुन्छ। संगठित क्षेत्रहरू जस्तै विभिन्न कम्पनी, सुपर मार्केट अथवा सामान्य क्लिनरकै काममा आएका किन नहुन् ? उनीहरू विश्वमै सबैभन्दा सुरक्षित खाडीका देशहरूमा छन्। तर घरेलु कामदारका रूपमा उनीहरू यहाँ त्यत्तिकै असुरक्षित। यी देशका अधिकांश घरहरूमा उनीहरूलाई पशुलाई गरिने जति न्यूूनतम मानवीय व्यवहारसमेत गरिँदैन।

हालै कतार सरकारसँग भएको उच्चस्तरीय बैठकमा कतारमा पुनः घरेलु कामदार पठाउने विषयले प्राथमिकता पाएको छ। कतारका नागरिक चाहन्छन्, सोझा, इमानदार, परिश्रमी तथा विश्वसनियतामा विश्वमा ख्याति कमाएका नेपालीलाई आफ्नो घरमा राखौं। तर त्यसका लागि नेपाली नागरिक जो घरेलु कामदारका रूपमा जान्छन्, उनीहरूको न्यूनतम नैसर्गिक अधिकारको उनीहरूले पनि ख्याल गर्नुपर्ने हो। तर, उनीहरूलाई दायित्व सम्झाउने काम नेपाल सरकारले कति गरेको छ ?

सन् २०११ तिर कतार सरकारले घरेलु कामदारको माग गर्दै नेपाल दूतावासमार्फत नेपाल सरकारलाई दबाब दिएको थियो। चर्को दबाबपछि तत्कालीन राजदूत मिश्रले कतार सरकार समक्ष केही सर्त पालना गर्ने गरी नियम बनाएका थिए। जसमा घरेलु कामदारका रूपमा नेपाली कतार विमानस्थलमा पुग्नेबित्तिकै मोबाइल दिनुपर्ने र सो नम्बर नेपाली दूतावासलाई समेत जानकारी गराउनुपर्ने, तत्काल भिसा लगाएर बैैंक खाता खुलाउनुपर्ने, हरेक महिना सम्झौताबमोजिमको तलब बैंक खातामा जम्मा गरी सोको भौचर दूतावासमा बुझाउनुपर्ने उल्लेख छ।

यस्तै, हप्तामा कम्तीमा पनि तीन दिन परिवारसँग कुरा गराउनुपर्ने, ८ घण्टाभन्दा बढी काममा लगाएमा ओभरटाइम बापतको थप पैसा दिनुपर्ने, हरेक ६ महिनामा कम्तीमा दूतावाससँग आफ्ना कुरा राख्न दिनुपर्ने लगायतका सर्तहरू कतार सरकारसमक्ष बुझाइएको थियो। यी सर्तहरू मान्न कतार सरकार तयार भएन। तत्कालीन समयमा दूतावासको सेल्टरमा कतारी नागरिकको ज्यादतीले आहत भएका चेलीहरूले आश्रय लिएका थिए। सम्बन्धित कतारी स्पोन्सरहरू तिनका समस्या हल गर्न आनाकानी गरिरहेका थिए। सर्त नमान्ने तत्कालीन कतार सरकारका प्रतिनिधिलाई राजदूत मिश्रले दूतावासमै बोलाएर सेल्टरमा
रहेका नेपाली चेलीको दर्दनाक अवस्था देखाएपछि उनीहरू मौन भएका थिए।

सकेसम्म घरेलु कामदारका रूपमा नेपाली चेलीलाई सरकारले खाडी मुलुकमा पठाउँदै नपठाएको राम्रो। यदि पठाउनै पर्छ भने नेपालीले त्यहाँ पाउने स्वास्थ्य, सुरक्षा, पारिश्रमिक तथा आरामका सबै खाले मापदण्ड बनाएर मात्रै पठाउने प्रबन्ध बेलैमा गर्नुपर्छ। आज कतारको लागि खुल्ला गर्दा भोलि खाडीका अन्य मुलुकमा सम्झौता गर्दा पनि त्यही धरातल टेकेर गर्नुपर्ने हुन्छ। सरकारले सरकारले बेलैमा विवेक प्रयोग गरेर आफ्ना नागरिकको पूर्ण सुरक्षाको ग्यारेन्टी हुने करार नबन्दासम्म घरेलु श्रमिकमा वैदेशिक रोजगारमा पठाउनु हुँदैन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?