कोरोना बिमा हुनुपर्ने कांग्रेस नेतृ पुष्पा भुसालको माग

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसकी नेतृ तथा संसदिय दलकी सचेतक पुष्पा भुसालले आम नागरिकले कोरोना बिमा गर्न पाउनु पर्ने बताएकी छिन् । फ्रन्टलाईनमा काम गर्नेलाई प्रोत्साहनको व्यवस्थासंगै आम नागरिकको कोरोना बिमा गर्न उनले सरकारसंग माग गरेकी छिन् ।
भुसालले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई भेटेर आम नागरिकलाई सुरक्षित राख्न अपनाउनु पर्ने सबै उपाए अवलम्बन गर्न सुझाव दिएकी छिन् । विश्वभर तिव्र रुपमा फैलिंदै गएको कोरोना संक्रमणको तेस्रो लहर ‘ओमिक्रोन’ को नयाँ भेरियन्टबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने भन्दै उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराईन् । विश्वभर तिव्ररुपमा फैलिएको र नेपालमा पनी २/३ साता भित्रै उच्च संख्यामा संक्रमण बढ्न सक्ने भएकाले बेलैमा सचेतना अपनाउनु पर्ने उनको भनाई छ।
समयमै यसको रोकथामको उपाय निकाल्नु पर्ने भन्दै सचेतक भुसालले सबै नागरिकको कोरोना बिमा हुनुपर्ने माग राखेकी छिन् । ८ बुदे ध्यानाकर्षण पत्र स्वास्थ्यमन्त्री खतिवडालाई बुझउँदै सांसद समेत रहेकी भुसालले खोप/बुस्टरको सरल र सहज पहुँच सर्वसाधारण लाई उपलब्ध गराउन माग गरेकी छिन् ।