८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

मुख्य सहर संक्रमणको हटस्पट

कोरोना भाइरस फेरि द्रुत गतिमा फैलिन थालेको छ। यसको संक्रमण देशव्यापी देखिएको छ। सीमावर्ती सहर र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ। देशभर मंगलबार २२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। यो नै पछिल्लो समयको सबैभन्दा उच्च दैनिक संक्रमण हो।

परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। यससँगै मृत्युदर पनि सुरु भएको छ। मंगलबार एक जनाले ज्यान गुमाएका छन्। बढ्दो सहरकेन्द्रित संक्रमणले गाउँमा पनि फैलिने जोखिम देखिएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। पुस दोस्रो सातासम्म संक्रमणदर दुई प्रतिशत हाराहारी थियो। मंगलबार संक्रमणदर ४४.९ प्रतिशत पुगेको छ। ‘संक्रमित दैनिक बढेका छन्। संक्रमणदर पछिल्लो समय उच्च छ’, प्रवक्ता डा. मिश्राले भनिन्, ‘यो दर अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ।’

उपत्यकामा दिनहुँ दोब्बर संक्रमित 
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ। मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको डा. मिश्राको भनाइ छ। मंगलबार काठमाडौंमा मात्रै ४ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिनको तुलनामा दोब्बर बढी हो। ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन्।

तीन साता जोखिमपूर्ण 
आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञ बताउँछन्। दैनिक संक्रमित २० हजार ५ सय नाघ्ने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको आकलन छ। ‘माघ दोस्रो सातादेखि तेस्रो सातासम्म संक्रमणदर अझै बढ्छ। आगामी तीन साता जोखिपूर्ण छ’, सचिव डा. पोखरेलेले भने। उनका अनुसार डब्लूएचओ र स्वास्थ्यका विभिन्न ‘टुल’ प्रयोग गरी संक्रमण फैलावटको अनुमान गर्ने गरिएको छ। मन्त्रालयका अनुसार सबै जिल्लामा सक्रिय संक्रमित छन्।

उपत्यका बाहिरका मोरङ, सुनसरी, कास्की, रुपन्देही र कैलाली जोखिमको सूचीमा परेका छन्। यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार भाइरसको संक्रमण सीमावर्ती सहरकेन्द्रित भइरहेको छ। शैक्षिक एवं स्वास्थ्य उपचारको केन्द्र भएका सहरी क्षेत्रमा आवतजावत बढी भएकाले नै संक्रमण विस्तार भइरहेको जनस्वास्थ्य विज्ञको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुर स्वास्थ्य मापदण्डको पालनामा हेलचक्र्याइँ भएका कारण नै सहरी क्षेत्रमा संक्रमण बढ्दै गएको बताउँछन्।

महाशाखाका पूर्वनिर्देशक डा. मरासिनी र घुमफिर, किनमेल, उपचारलगायत अन्य कामविशेषले आवतजावत गर्नेहरूका कारण अहिले संक्रमण बढेको बताउँछन्। मन्त्रालयका अनुसार संक्रमण हुनेमा चलायमान उमेर समूहका व्यक्ति नै बढी छन्। ‘उपत्यकामा काठमाडौं र कास्कीको पोखरा बढी जोखिममा छन्’, डा. मरासिनी भन्छन्, ‘यसबाहेक तराईका सहर पनि संक्रमणको केन्द्र बन्ने देखिएको छ।’ संक्रमणको पहिलो चरणमा झापाका काँकडभिट्टा, बिर्तामोड र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, पर्साको वीरगन्ज, चितवनको भरतपुर, भैरहवा, बुटवल, नेपालगन्ज र कैलालीको धनगढीमा संक्रमणको उच्च जोखिम भएको विज्ञको आकलन छ। ‘किनमेल गर्न होस् वा अध्ययन वा उपचारका लागि होस्। सहरी क्षेत्रमा आउन परिहाल्छ’, डा. मरासिनी भन्छन्, ‘आर्थिक, स्वास्थ्य र शैक्षिक केन्द्रका रूपमा रहेका सहरी क्षेत्रमा हिमाल÷पहाडबाट कामविशेषले आएका व्यक्तिमा संक्रमण भए गाउँसम्म फैलन्छ।’

‘होल्डिङ’ नहुँदा हटस्पट
भारतबाट फर्केकाहरू सीमा नाकामा ‘होल्डिङ’ नहुँदा कैलाली र कञ्चनपुर हटस्पट बनिरहेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबार बेलुकीसम्मको तथ्यांकअनुसार यी दुई जिल्लामा १ हजार ९ सय ८ जना सक्रिय संक्रमित छन्। निर्देशनालयको बुलेटिनमा कैलालीमा १ हजार ३ सय ५३ र कञ्चनपुरमा ५ सय ५५ जना सक्रिय संक्रमित छन्।

माघ दोस्रो सातादेखि तेस्रो सातासम्म संक्रमणदर अझै बढ्छ। आगामी तीन साता जोखिपूर्ण छ। 
– डा. रोशन पोखरेल
सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

जनघनत्व बढी भएका सहरी क्षेत्रमा मास्क लगाउने गरेको पाइँदैन। दूरी कायम भएको देखिँदैन। भीडभाड कायमै छ। यसले संक्रमण बढाउनमा मद्दत गरिरहेको छ।
– डा. जीडी ठाकुर
निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा 

उपत्यकामा काठमाडौं र कास्कीको पोखरा बढी जोखिममा छन्। यसबाहेक तराईका सहर पनि संक्रमणको केन्द्र बन्ने देखिएको छ।
– डा. बाबुराम मरासिनी
जनस्वास्थ्य विज्ञ 

प्रदेशका ९ जिल्लामा पुसको २० गते ४० जनामा मात्रै कोरोना देखिएको थियो। मंगलबार एकै दिन ४ सय ८८ जनामा कोरोना देखिएको छ। प्रदेशभरिमा ३ हजार ८१ जनामा कोरोना पुष्टि भएको हो। सक्रिय संक्रमित बढ्नुमा सीमा नाकाको व्यवस्थापन नहुनु मुख्य कारक रहेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलले बताए। कैलाली र कञ्चनपुरका सीमा नाकामा १÷१ हजार क्षमताका होल्डिड सेन्टर निर्माण अपूरै छन्। ओमिक्रोन भेरियन्ट फैलिने प्रक्षेपणपछि पनि ती होल्डिड सेन्टर निर्माणमा तदारुकता देखाइएको छैन। निर्माण कार्य ६५ प्रतिसत मात्रै सकिएको छ। कामका लागि भारत जाने र चाडपर्वमा घर फर्किने प्रवृत्तिले पनि सीमावर्ती जिल्ला झन् जोखिममा पर्ने गरेका छन्।

भीडभाड र सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा नगर्नाले पनि संक्रमण बढेको  प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदीशप्रसाद जोशीले बताए। एमालेका जिल्ला सम्मेलनपछि धेरै नेता कार्यकर्ता संक्रमित भएका छन्। एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी, कैलाली इन्चार्ज नारदमुनी राना, जिल्ला सदस्य चूडामणि भट्ट, गणेश साउद, कैलालीका लागि निर्वाचन अधिकृत चक्र तिमिल्सेना, कञ्चनपुरका जिल्ला सदस्य गजेन्द्र चन्दलगायत संक्रमित छन्।

कञ्चनपुरको मजगाउँ विमानस्थलको शिलान्यास गर्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगर र उनका स्वकीय सचिव हेमन्त रेग्मी पनि संक्रमित भएका छन्। सीमा नाकामा पोजेटिभ देखिएकाहरू घरमै होमआइसोलेसन बस्ने भन्दै घर गइरहेका छन्। यसले पनि कोरोना घर–घरमा पुगेको छ। जिल्ला प्रशासन कार्यालयहरूले १२ बुँदे आदेश जारी गरे पनि त्यसको कुनै परवाह गरिएको छैन। बजारमा आधा मानिस बिना मास्क हिँड्डुल गरिरहेका छन्।

मोरङ र सुनसरीमा पनि बढ्दै संक्रमित

प्रदेश १ मा भारतसँग सीमा जोडिएका मोरङ र सुनसरीमा पनि सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ। स्थानीय प्रशासनहरूले मुख्य नाकामा कडाइ गरे पनि विभिन्न स्थानबाट लापरबाहीपूर्ण तवरबाट नेपाल–भारत आवतजावत जारी छ। सामाजिक विकास मन्त्रालयका अनुसार जथाभावि आवतजावतले संक्रमण तीव्र गतिमा फैलिइरहेको हो। कोरोना नियन्त्रणका क्रममा मोरङ र सुनसरीमा सक्रिय संक्रमितको संख्या ३० भन्दा तल झरेको थियो।

मोरङमा १ हजार ६ सय ९ जना सक्रिय संक्रमित छन्। यो संख्या प्रदेशभरिकै आधाभन्दा बढी हो। प्रदेश १ मा ३ हजार ६७ जना सक्रिय संक्रमित छन्। मोरङमा मंगलबार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य प्रमुख सुरेश मेहताले दैनिक संक्रमण उकालो लाग्दै गएको बताए। निको हुनेभन्दा नयाँ बिरामीको संख्या धेरै हुँदा सक्रिय संक्रमित पनि बढेको मेहताको भनाइ छ। उनका अनुसार जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गर्दा परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था बनेको छ। मास्क लगाउँदैनन् भने दूरी कायम गर्दैनन्।

विराटनगरस्थित कोसी कोभिड अस्पताल उपचार केन्द्रमा १३ जना उपचाररत छन्। पहिलो र दोस्रो लहरका बेला ९६ बेड थियो। ७६ बेड थप गरिएको केन्द्रका प्रमुख वैजनाथ साहले बताए। उनका अनुसार नेसनल ट्रेडिङको भवनमा ८० बेडको उपचार कक्ष थप गर्न सकिनेछ। स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले मंगलबार २ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। सुनसरीमा ७ सय ८३ सक्रिय संक्रमित छन्।

पर्सा फेरि ‘हटस्पट’

भारतसँग खुला सीमा जोडिएको पर्सामा एक सातायता संक्रमणदर ६० प्रतिशतभन्दा बढी देखिएको छ। पर्सामा वीरगन्ज नाका र नारायणी अस्पतालमा परीक्षण हुँदै आएको छ। नारायणीमा गरिएको परीक्षणमा संक्रमणदर ६५ प्रतिशतभन्दा बढी रहेको प्रयोगशाला प्रमुख सूक्ष्मजीव विज्ञ डा. प्रभाकर पाण्डेले बताए। सोमबार बेलुकी ५३ जनाको पीसीआर परीक्षण गर्दा ६८ प्रतिशत अर्थात् ३६ जनामा संक्रमण पुष्टि भएको छ।

नाकास्थित हेल्थ डेस्क इन्चार्ज डा. अनिषा महतोका अनुसार माघ सुरु भएयता दैनिक औसतमा २५ जना संक्रमित भेटिने गरेको छ। पुस १५ सम्म दैनिक १–२ र त्यसपिछ मसान्तसम्म १५ जनासम्ममा संक्रमण देखिने गरेको थियो। स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा सक्रिय संक्रमितको संख्या १ सय ९१ छ। परीक्षण बढाउने हो भने संक्रमणदर धेरै पुग्ने नारायणीका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए। भने, ‘एक त अहिलेको भेरियन्ट पहिलेभन्दा धेरै संक्रामक छ। अर्को विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका उपाय प्रभावकारी रूपमा अपनाइएको छैन।’

रेड जोनमा चितवन

चितवनमा मंगलबार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै  संक्रमितको संख्या १ हजार नाघेको छ। यीमध्ये १ हजार ८७ जना होम आइसोलेसनमा छन्। ४० जना अस्पतालमा उपचाररत छन्। सक्रिय संक्रमित ५ सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन)मा राखिएको छ। नयाँ भेरियन्टका कारण संक्रमणदर बढेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए।

खोप लगाएकाहरू पनि संक्रमित भएका छन्। खोपको प्रभावले अस्पताल भर्नादरमा कमी ल्याए पनि संक्रमणमा कमी भएको छैन। जिल्लामा झन्डै ४ लाख जनाले खोप लगाएका छन्। सरकारले ३८ बुँदे निर्देशन जारी गरेलगत्तै अस्पतालहरूले तयारी तीव्र पारेका छन्। अस्पतालहरूमा बेड, अक्सिजन प्लान्ट तयारी अवस्थामा छन्। भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेको बताए। भरतपुर अस्पतालले कोभिड टेक्निकल कमिटी बनाएको छ।

भेलाबाट फैलियो संक्रमण 

एमाले कास्कीको अधिवेशन २३ पुसमा सुरु भएको थियो। अधिवेशन सकिँदा २९ गते भयो। नवनिर्वाचित पदाधिकारीको पदस्थापन ३० गते भयो। त्यो अधिवेशनले एउटा राजनीतिक नतिजामात्रै निकालेन, धेरैको कोभिड–१९ परीक्षणमा पोजेटिभ रिपोर्टको परिणाम पनि ल्यायो। नवनिर्वाचित सचिव बैनबहादुर अधिकारी संक्रमण भएर घरमै आइसोलेसनमा छन्।

जिल्ला समन्वय समिति कास्कीका संयोजक अधिकारी मात्रै होइन, अधिवेशनका अर्का सहभागी मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्याम, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश कमिटी उपसचिव रश्मि आचार्य,  पोखरा २० का वडाध्यक्ष सिम गुरुङ संक्रमित भएका छन्। एमालेका अर्का नेता झपट रानाभाट र विवेक देवकोटा पनि संक्रमित भएर होम आइसोलेसनमा छन्।
माओवादी राष्ट्रिय महाधिवेशनबाट फर्किएपछि प्रदेशका अर्थमन्त्री रामजी बराल, नेताहरू गायत्री गुरुङ, सुमन देवकोटा र राजकाजी गुरुङ पनि संक्रमित भए। प्रदेशका अरू २ मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ पनि संक्रमित छन्।

प्रदेशका ११ मध्ये सबैभन्दा धेरै संक्रमित कास्कीमा छन्। कास्कीमा ४ माघमा एकै दिन ३४७ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो जिल्लामा कुल सक्रिय संक्रमित १ हजार २ सय १६ जना पुगेका छन्। जब कि गण्डकीभर ४ माघसम्म सक्रिय संक्रमित २ हजार १ सय २० छन्। कास्कीमा संक्रमणदर वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। तर, त्यस्ता भेलाहरू भइरहेको देखिन्छ। अनौपचारिक छलफल, भेला र भीडभाड थुप्रै भइरहेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्मा संक्रमण बढ्नुमा स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँलाई मुख्य कारक मान्छन्। ओमिक्रोन त केही रहेनछ भन्ने ठान्ने, भीडभाडमा जाने सबैजसोको मनोवृत्ति र प्रवृत्ति देखिएको उनी बताउँछन्।

रुपन्देही पनि ‘रेड जोन’
खुला सीमाका कारण नरोकिएको आवातजावत र भीडभाडले रुपन्देहीमा कोरोना संक्रमण बढेको छ। पछिल्लो सातामै सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ। यससँगै जिल्ला संक्रमणको ‘रेड जोन’ मा परेको छ। भारतबाट आउनेहरू परीक्षणबिनै गन्तव्यमा पुगेका छन्। संक्रमितहरू सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा संक्रमण झन् बढेको छ। तर, अधिकांश स्थानीयवासीले मास्कसमेत
लगाएका छैनन्।


स्वास्थ्यकर्मी नै संक्रमित 
संक्रमणको तेस्रो लहरमा अग्रपंक्तिमा खटिने पेसाकर्मी संक्रमित हुने दर उकालो लागेको छ। २ सयभन्दा बढी स्वास्थ्यकर्मी, प्रहरी र सञ्चारकर्मीलगायत फ्रन्टलाइनरमा दिनहुँ संक्रमण हुने क्रम बढ्दो छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ३ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जनशक्ति अभावले मेडिकल आईसीयू वार्ड बन्द गरिएका छन्। अस्पतालका कोभिड फोकल पर्सन डा. नीरज बमका अनुसार संक्रमितलाई शड्ढया व्यवस्थापन गर्नै समस्या भइरहेको छ। निजामती अस्पतालका निर्देशक डा. विधाननिधि पौडेल स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचारमा समस्या भएको बताउँछन्।
गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका १५ चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार अस्पतालको मातृ संस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढिरहेका केही विद्यार्थी पनि संक्रमित भएका छन्। स्त्री रोग विभागका स्वास्थ्यकर्मीको संख्या संक्रमितमध्ये धेरै रहेको निर्देशक डा. खत्रीले बताए।

पोखरा–३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका ३ जनामा संक्रमण देखिएको कार्यकारी निर्देशक डा. विकास गौचनले बताए। गण्डकी शिक्षण अस्पताल पृथ्वीचोकका ८ स्वास्थ्यकर्मी संक्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेको भनाइ छ। नेपाल मेडिकल एसोसिएसन गण्डकीका पूर्वअध्यक्ष डा. निर्मल लामिछानेले फ्रन्टलाइनर भएकैले चिकित्सा र स्वास्थ्यकर्मी जोखिममा रहेको बताए।

यस्तै, हेटौंडास्थित हेटौंडा अस्पतालका ३६ कर्मचारीमा कोरोना पुष्टि भएको छ। यो तथ्यांक गत बिहीबारदेखि मंगलबारसम्मको रहेको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले बताए। उनका अनुसार संक्रमित हुनेमा ४ डाक्टर, ११ नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३, प्रशासनिक र कार्यालय सहयोगी ८ जना छन्।

मलाई पनि लक्षण देखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई पनि कोरोना संक्रमण भएको छ’, उनले भने। एकैपटक धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण हुँदा सेवा सञ्चालनमा समस्या भएको प्रसाईंले बताए। ‘विभिन्न निजी अस्पताल तथा स्थानीय तहहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू परिचालन गराउन पहल गरिरहेका छौं’, उनले भने।

चितवनमा करिब १ हजार संक्रीय संक्रमितमध्ये १ सय १७ जना चिकित्सक, स्वास्थ्यकमी र कर्मचार्री छन्। संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन्। भरतपुर अस्पतालका सात चिकित्सकसहित २० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

‘स्वास्थ्यकर्मी र कर्मचारी नै संक्रमित हुन थालेपछि कसले काम गर्ने भन्ने समस्या भएको छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले भने, ‘अहिलेसम्म सबै सेवा निरन्तर छन्। अब पनि बढ्यो भने केही सेवा सुस्त बनाउनै पर्छ।’

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा सात चिकित्सकसहित १० जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन चिकित्सकसहित ४० जनालाई कोरोना संक्रमण भएको छ।  चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सकसहित ३० जनालाई कोरोना संक्रमण भएको छ। यीमध्ये १२ जना चिकित्सक मात्रै छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?