१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

निर्वाचन घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको दबाव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई दबाव दिएको छ । यसअघि दुई पटकसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तोक्न आग्रह गरेको आयोगले मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।

‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनुपर्छ भनेर आयोगले सरकारलाई औपचारिक रुपमा भनेको यो तेस्रो पटक हो । आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।

त्यस्तै गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए । तर, आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले तेस्रो पटक सरकारलाई निर्वाचनको मिति तोक्न ताकेता गरेको हो । र तेस्रो पटकको आग्रहमा आयोगले केही निर्देशनात्मक भाषा प्रयोग गरेको छ ।

सरकारलाई परामर्श दिने हैसियत राख्ने आयोगले निर्वाचनको मिति ‘यथाशीघ्र तोक्न’ सरकारलाई आग्रह गरेको छ । आयोगका अधिकारीहरु यसलाई थप दबाव दिने रणनीति भन्न रुचाउँछन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया निर्वाचन आयोगले सरकारलाई दबाव दिएको नभई संवैधानिक र कानुनी सीमा सम्झाएको बताउँछन् । ‘चुनाव गर्ने काम निर्वाचन आयोगको हो । आयोगले परामर्श दिनुपर्ने हो । ढिलो भयो है मिति तोक्न आयोगले गरेको आग्रह ऐन कानुन अनुसार नै छ । र आयोगले सरकारलाई संवैधानिक र कानुनी सीमा सम्झाउने अधिकार राख्दछ’ उनले भने ।

प्रधानमन्त्रीले समय नदिएपछि विज्ञप्तिबाटै दबाव

स्थानीय तहको निर्वाचन आगामी जेठ ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भनेर सरकारलाई तारन्तार सम्झाइरहेको निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न समय मागेका थिए ।

तर, प्रधानमन्त्री कार्यालयबाट सोमबार खबर आयो, ‘मंगलबार प्रधानमन्त्रीको समय मिल्दैन । बुधबार वा बिहीबार भेट्दा के हुन्छ ?’

प्रधानमन्त्रीले भेट नदिएपछि मंगलबार आयोगका पदाधिकारी छलफलमा जुटे । ‘आज भोलि, आज भोलि भन्दै प्रधानमन्त्रीले कहिले समय दिन्छन् र निर्वाचनको मिति तोक्न थप दबाव दिउँला भनी कुरेर बस्न नहुने’ निष्कर्षमा आयोगका पदाधिकारीहरु पुगे । त्यसपछि मंगलबार दिउँसो आयोगले सरकारलाई चुनावको मिति यथाशीघ्र तोक्न आग्रह गर्दै विज्ञप्ति निकाल्यो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?