१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको छ ।

रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको बीबीसीले जनाएको छ ।

बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाएको खबरमा उल्लेख छ ।

उनले अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णयक जवाफ दिने चेतावनी दिए । तर रुसी राजदूत भास्ली नेबेन्ज्याले अमेरिकाले शक्तिको उन्माद देखाउँदै युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको आरोप लगाए ।

उनले अमेरिकी कदम रुसका लागि अस्वीकार्य रहेको पनि बताए । रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिँदै रुसले तालिमको लागि आफ्नो क्षेत्रमा सेना परिचालन गर्दा अमेरिका र युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए। बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

पछिल्लो तनावका विषयमा रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले हिजो फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग टेलिफोन कुराकानी गर्नुभएको छ भने आज अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी समकक्षी सर्गेइ लाभरोभबीच कुराकानी हुने बीबीसीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?