काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले थप १३४ शय्याको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ। केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले आइतबार आइसियु सेन्टरको उद्घाटन गरेका छन्।
केएमसीको व्यवस्थापन गत वर्षदेखि फेरिएको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा बढाउँदै लगेको छ। पहिले आइसियुका ३४ शय्या थिए। अहिले १३४ शय्या थपेको हो।
१६८ शय्या क्षमताको आइसियु सेन्टर सञ्चालनमा ल्याइएकाले नेपालकै सबैभन्दा ठूलो आइसियु सेन्टर भएको डा. शर्माले दाबी गरे।
अस्पतालमा ६८ शय्याको जेनेरल आइसियु, ४० शय्याको एनआइसियु, २२ शय्याको पल्मो आइसियु, १२ शय्याको एमआइसियु, ११ शय्याको एसआइसियु, १० शय्याको पिआइसियु र पाँच शय्याको न्युरो आइसियु सञ्चालनमा छ।
आइसियु शुल्क पनि सस्तो कायम गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन्। उनले भने‚ ‘१९ सय रुपैयाँमै आइसियु उपलब्ध गराउँने गरेका छौं।’ केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ।