लमजुङका सैनिक गोरखा विजय गर्न दरौंदी नदीसम्म पुगेपछि बाह्रदेखि असी वर्ष उमेरका गोर्खालीहरू खुकुरी, खुँडा, बन्चरो, खुर्पा आदि बोकेर भिड्न गए। राजा पृथ्वीपति शाहलाई ठूलो पीर परेको थाहा पाएपछि जनताले भने– “हामी प्राण दिएर पनि गोरखालाई पराधीन हुन दिँदैनौँ।” माटोको रक्षा गर्न पुर्खाबाट पाएको ज्ञान, द्रव्य शाहको राज्यारोहण (वि.सं. १६१६) पछि विकसित हुँदै आएको गोर्खाली सचेतना र शत्रुलाई परास्त गर्ने बेनजिर कलाले गोर्खा बलियो रहेछ भन्ने बुझिन्छ।
ब्रिटिस दार्शनिक जोन स्टुअर्ट मिलले भनेझैँ गोर्खालीहरू पनि ‘सन्तुष्ट सुँगुर हुनुभन्दा असन्तुष्ट मानिस हुनु उत्तम’ भन्ने मान्यता राख्थे। त्यसैले पृथ्वीनारायण शाहले साम्राज्यवादविरुद्ध सशक्त ढंगले अघि बढ्ने रणनीति बनाए। विदेशीसँग आश्रित हुनै नपर्ने अर्थव्यवस्था, स्वदेशी उद्यमलाई प्रोत्साहन, स्वदेशमै हतियार बनाएर राष्ट्र बचाउने उपायहरूको खोजी, सनातन धर्म/संस्कृतिको रक्षालगायतका बारेमा उनको दृष्टिकोण र मार्गचित्र स्पष्ट थियो।
कालु पाँडेलाई ‘काजी’ नियुक्त गरेर युद्ध निर्देशक बनाए उनले। युद्ध सामग्री बनाउन गोरखामा कारखाना खोले। बन्दूक, खुकुरी, धनुकाँड, तरवार सबै उत्पादन गरियो। घर–घरमा पुगेर युवकहरूसँग पृथ्वीनारायण शाहले गढी र किल्ला बनाउने विषयमा छलफल गर्थे। युवकहरूलाई ‘देश बचाउनुपर्छ’ भन्ने सिकाए। सैनिक शिक्षा दिए।
प्राचीन युरोपमा राष्ट्र बचाउन सैनिक शिक्षा दिएर हरेक नागरिकमा राष्ट्रिय चेतना जागृत गराएझैँ पृथ्वीनारायणले माटोको रक्षा गर्न सबै युवक समर्पित हुनुपर्ने शिक्षा दिए। बीस वर्षमा राजा भएका पृथ्वीनारायणले अहर्निश अभियान चलाएर राष्ट्र एकीकरण गरेकै कारण पटकपटक अंग्रेजले हमला गरे पनि नेपालमा ब्रिटेनको झण्डा गाड्न सकेनन्। यसको सर्वोपरि कारण थियो, उनको अदम्य अठोट।
काठमाडौँ उपत्यका जितेपछि पृथ्वीनारायण शाहले चन्द्रागिरि, शिवपुरी र फूलचोकी पर्वतका टाकुरामा मात्र होइन, दाम्चा, पालुङ र महादेव पोखरीलगायतका ठाउँमा पनि ढुंगाका बलिया किल्ला बनाउन चाहेको इतिहासकारहरूले लेखेका छन्। गुप्तचर प्रणाली बलियो बनाउन पुरोहित, लामा, गाइने, गोठाला आदिलाई तालिम दिएर ठाउँठाउँमा राखिएको थियो।
तीस चालीस वर्षयता काठमाडौँ उपत्यकाका उच्च ठाउँहरूमा धार्मिक केन्द्र, पर्यटन क्षेत्र, होटल आदिका नाममा विदेशी गुप्तचरले गुँड बनाएका खबरहरू आउने गरेको पाइन्छ। राष्ट्र बचाउने जागिर खाइरहेका कैयन् तलवजीवी मातृभूमिभन्दा अरूतिर लहसिएका छन्। शत्रुसँग मिल्नेलाई पृथ्वीनारायण कठोर दण्ड दिन्थे। अहिलेको अवस्था उल्टो छ। राष्ट्रवादीहरू मारिएलान् भन्ने डर छ।
इतिहासको अध्ययनबेगर तत्कालीन राजनीति, कूटनीतिक, आर्थिक र सामाजिक अवस्था बुझ्न सकिँदैन। इतिहासकार सूर्यविक्रम ज्ञवालीले देहरादुन, नालापानी (हाल भारत) युद्धमा नेपाली सेनाले अंग्रेजसँग परास्त हुनुको प्रमुख कारण भारतमा अंग्रेजहरूसँग भएको जस्तो ‘आधुनिक’ हतियार नहुनु नै हो भनेका छन्।
यदाकदा नचाहिँदो हठ र अत्यधिक आत्मविश्वासले क्षति पुग्दोरहेछ भन्ने कुरा पृथ्वीनारायणले कीर्तिपुरमा भएको पराजयपछिमात्र बुझे। कुलानन्द ढकाल (ज्योतिषी) ले युद्ध गर्दा अशुभ हुन्छ भनेकै थिए। दहचोकमा तैनाथ हरिवंश उपाध्यायले सम्पूर्ण तयारी र सूचनाबेगर हमला गर्नु राम्रो हुँदैन भनेका थिए। धेरैजसो भारदार युद्धका पक्षमा थिएनन्। आक्रमणको कमान्डर बनाइएका कालु पाँडे नै युद्धको नतिजा सुखद हुँदैन भनिरहेका थिए।
राजाको हठका सामुन्ने कसैको केही लागेन। गोर्खाली फौजले कीर्तिपुरमा हमला गर्दा कमान्डर कालु पाँडेसहित धेरैजना मारिए। राजा पृथ्वीनारायण शाह ज्यान जोगाएर दहचोक पुगे। त्यहाँ कालु पाँडेको अत्येष्टि गरियो। त्यो बेला पृथ्वीनारायण शाहले भावुक हुँदै भनेका थिए– लडाइँ नगरुँ भनेर कालेले त भनेकै थियो। मेरा कारणले लडाइँ बिग्रियो।
बेलकोटको लडाइँमा जितेपछि कालु पाँडेको प्रशंसा गर्दै पृथ्वीनारायणले भनेका थिए– “काले, लडाइँको कुरा मभन्दा तँ धेरै जान्दो रहेछस्।” त्यति धेरै भरोसा गरेका कालु पाँडे कीर्तिपुरमा मारिँदा पृथ्वीनारायणलाई वज्रप्रहार नै भएको अनुमान गर्न सकिन्छ।
इतिहास विगतको नालीबेलीमात्र होइन, विगतबाट शिक्षा लिएर आगत सपार्ने बाटो पनि हो। कहिलेकाहीँ इतिहास प्रतिशोधको बिउ र कलहको जड पनि बन्छ। मानवताको अवमूल्यन गर्नेहरूले इतिहासको अपव्याख्या र दुरूपयोग गर्छन्। सयौँ वर्षपहिले पुर्खाले कुनै अपराध गरेका थिए भनेर उनका बेकसुर वंशजलाई दण्ड दिनु सभ्यता होइन।
नेपालमा विदेशीले लेखेका ‘नेपाली इतिहास’ कति विश्वासिलो होला भनेर हामीले बहस, मन्थन र मीमांसा गरेनौँ। आजको नेपाली शिक्षा प्रणाली विधर्मी र कुमार्गीबाट उत्प्रेरित, अनुप्राणित र प्रभावित छ भन्दा अतिशयोक्ति हुँदैन। सिल्भाँ लेभीलगायतका केही विदेशीले ‘रचेका’ कथालाई इतिहासका ‘तथ्य/प्रमाण’ ठान्ने नेपालका कतिपय बुद्धिजीवीले संस्कृतका प्राचीन ग्रन्थमा नेपालबारे लेखिएका ‘सत्य’ भन्दा अंग्रेजीमा लेखिएका ‘मिथ्या’ बढी भरपर्दो मान्ने गरेको पाइन्छ।
कोदो, फापर, जौ र कागुनोलाई हेँला गरेर तागतका लागि ‘हर्लिक्स’ खोजे जस्तो, झरनाको पानी भन्दा कृत्रिम ‘जुस’ प्रिय ठाने जस्तो र ‘गुरुकूल’ बिर्सेर हरेक वर्ष लाखौँ रुपियाँ तिर्नुपर्ने अंग्रेजी स्कुललाई ‘ओन्डरफुल’ माने जस्तो छ, नेपाललाई हेप्ने र विदेशमात्र राम्रो देख्ने सोच।
‘द ओल्ड म्यान एन्ड द सी’ पुस्तकमा अर्नेस्ट हेमिङ्वेले भनेका छन्– “मान्छे ध्वस्त हुन सक्छ, परास्त हुँदैन। अर्थात ऊ परास्त हुन जन्मेको होइन।” पृथ्वीनारायण शाह धेरैपल्ट लडेर पनि जुरुक्कै उठ्ने राजा, सेनानायक र स्वप्नद्रष्टा थिए। नेपाल कहिले पनि हार्दैन र हार्नुहुँदैन भन्ने उनको दृढविश्वास थियो। उनको जस्तो संकल्प भएका राष्ट्रनायक संसारमै थोरैमात्र जन्मिएको इतिहासकारहरूको मत पाइन्छ।
जापानका ओदा नोकुनागा, तोरोतोमी हिदेयसी, तोकुगावा लेयास हुन वा इटलीका भिक्टर इमान्युअल, क्याभोर, मेजिनी र ग्यारीवाल्डी जस्तै योगदान छ – पृथ्वीनारायणको।
कतिपय राष्ट्रमा गम्भीर राष्ट्रिय संकट राष्ट्रका सबै जाति, भाषा, संस्कृति, धर्म र परम्पराको सूत्रधार बन्छ। दशौँ लाख जनता मारेर पोलपोटले साम्यवादका नाममा विदेशी कठपुतली भएर राष्ट्रलाई ध्वस्त र परास्त गरेपछि जनताले राजा नरोदम सिंहानुकलाई राजगद्दीमा पुनर्बहाली गरे। अफगानिस्तानमा विदेशी षडयन्त्र र तन्त्रमन्त्रले राष्ट्र र जनता अलपत्र परे। आज सो राष्ट्र संकटको नयाँ चरणमा प्रवेश गरेको छ।
राष्ट्र अस्थिरताले हार्छ। बाह्य षडयन्त्रले लाचार बन्छ। आर्थिकरूपमा जर्जर हुँदा शिथिल हुँदै जान्छ। जनता दल, गुट, क्षेत्र र भाषालगायतका कारणले विभाजित हुँदा राष्ट्र खण्डित हुन सक्छ। हिजो प्रयोगमै बित्यो। वर्तमानमा चरम निराशा व्याप्त छ। पछाडि ठूलो पहाड छ। अगाडि डरलाग्दो भीर छ। के हुने हो, यही पीर छ।
नेपाली राजनीति, कूटनीति र अर्थतन्त्र धरापमा छ। विदेशी दबाब र हस्तक्षेप अभूतपूर्वरूपमा बढ्दैछ। कुनै दलले ढुक्कसँग सरकार चलाउने, राष्ट्र बलियो बनाउने र जनता प्रशन्न पार्ने लक्षण देखिँदैन। यस्तो दुर्भाग्यपूर्ण अवस्था सुगौली सन्धिपछि (२०५ वर्षपछि) देखिएको हो। दुर्भाग्यवश र नियतवश नेपाल र नेपालीलाई यो अवस्थामा पुर्याउने दुष्कर्ममा धेरथोर दलहरू नै नैतिकरूपमा जिम्मेवार छन् र हुनुपर्छ।