३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

म कमजोर छुइनँ

समाजमा यस्ता थुप्रै उदाहरण छन्, अघि बढ्न, अवसर खोज्न अनि व्यत्तित्व विकास गर्न ऊर्जा थपिदिने।


मेरो मुख सामान्य अवस्थाको छैन, मलाई देखेर साथीहरू हाँस्छन्। त्यसैले म स्कुल जान्नँ। मेरो आँखाले सिधा हेर्दैन, मलाई उपनाम दिएर जिस्क्याउँछन्। म कान सुन्दिनँ, मेरो मुख पनि सबैको भन्दा फरक छ, त्यसैले मलाई हेरेर सबै हाँस्छन्। मेरो हिँडाइ अरूको भन्दा फरक भएकाले दाइदिदीहरू मसँग हिँड्न मन पराउँदैनन्। म बैसाखीको सहारामा हिँड्छु, त्यसैले मसँग साथीहरू चिया, खाजा खान जान गाह्रो मान्छन्। म भकभक गरेर बोल्छु, मेरो बोली सुनेर सबै हाँस्छन्। मुखको प्रकृति देखेर घृणा गर्छन्। धेरैजना पढ्ने ठाउँमा पनि म एक्लै हुन्छु। कति त बोल्न पनि अप्ठ्यारो मान्छन्। बैसाखीको सहारामा हिँड्छु, त्यसैले साथीहरूको साथ र सहयोग कहिल्यै पाइनँ। सग्लो शरीर नहुँदा यसरी आआफ्ना गुनासो नसुनाउने कमै होलान्।

इन्द्र दाहाल एउटा थापाथलीस्थित निजी कार्यालयमा काम गर्छन्। उमेरले ४७ वर्षका उनी दैनिक कोटेश्वरदेखि थापाथलीसम्म बैसाखीको सहारामा आवतजावत गर्छन्। भन्छन्, ‘गाह्रो त हुन्छ तर धैरै चोटी बसको पखाईमा बसें। धैरैले बा अर्काे बसमा आउनुस् भन्छन्, बस दौडाइहाल्छन्। मेरो बैसाखीले सायद गाडीको भार थाम्न सकेन।’ किन अपांगता भएकालाई हेर्ने आँखा फरक छ हाम्रो समाजमा ? अझै पनि समाजमा यस्ता अवस्थामा पुग्नुलाई बोझ मात्र हो भन्ठान्छन्। उनीहरूको मनोबल घटाउने र हेप्ने अनि लाचार बनाउने काम गरिन्छ। ऊर्जा थप्नेभन्दा पनि उनीहरूलाई लज्जाबोध गर्न बाध्य तुल्याइन्छ।

शरीर सक्षम भएकाहरूले गर्न नसकेका काम आज हातखुट्टा नचल्नेहरूले गरेर देखाएका छन्। आँखै नदेख्नेहरू पनि समाजमा राम्रो कार्य गरेर उदाहरणीय बनेका छन्। तिनले गीत गाएर अब्बल भएका छन्। शरीरका अंग नचल्नेले पुस्तक लेखेर स्थापित भएका छन्। एउटा खुट्टा नै नभएकाले पनि नाँचेर देश विदेश घुमेका छन्, सबैलाई लठ्याएकै छन्। बोल्न नसक्नेहरूको कला देखाएका छन्। हिँड्न नसक्नेहरू ह्विलचेयरमा ओहोरदोहोर गरेर बैंकमा वा सरकारी जागिर खाएका पनि छन्। दुवै हात गुमाएकाहरूले ओहोदामा  बसेर काम गरिरहेका छन्। शरीरकै कारण कमजोर हुनेहरूले पनि व्यापार व्यवसाय गरेका छन्। मोटर गाडी चलाएका छन्। यस्ता उदाहरण धेरै छन् हाम्रो समाजमा। यस्ता उदाहरणले पनि ऊर्जा थपिदिएको छ अघि बढ्न, अवसर खोज्न अनि व्यक्तित्व विकास गर्न।

यस्ता हरेक मान्छे (यात्री)लाई ऊर्जा थप्ने सहयात्री चाहिन्छ। आफन्त र समाज चाहिन्छ। गोरो मान्छेलाई कालोभन्दा कोही रिसाउँदैन, सहज स्वीकार्छ। कालोलाई कालो भन्नु हुँदैन, ऊ रिसाउँछ स्वीकार्दैन। कसैलाई पनि उसको आत्मसम्मानमा ठेस लाग्ने शब्द बोल्नु हुँदैन, व्यवहार गर्नु हुँदैन। शारीरिक रूपमा समस्यामा परेकालाई त ढाडस चाहिन्छ, प्रेरणा अनि हौसला चाहिन्छ। सक्दैनौं होइन, त्यस्तो भएर के भो त यस्तो वा यसरी त गर्न सकिहालिन्छ नि भन्दिने मात्र हो भने पनि आत्मबल थपिन्छ। अपांगता भएका मानिसहरूको जीवनस्तर उकास्न केही बढी प्रयास अवश्य चाहिन्छ तर सम्भव छ। यस्ता व्यक्तिलाई सबल र सक्षम बनाउन व्यक्ति, समाज र राष्ट्रका तर्फबाट पहल प्रयास हुनुपर्छ। सरकारले नियम कानुन बनाएरै औपचारिक रूपमै योजनासहित परिणाम खोज्नुपर्छ।

एक बिहान कार्यालयका लागि घरबाट निस्किएँ। चोकमा सधैं झैं भीडभाड थियो। तीनचार बसको पर्खाइ र प्रयासपछि अपांगता भएका एक फुर्तिला युवक पुनः बस चढ्न खोजे। सहचालकले यत्ति नराम्रो वचन बोले कि उनी खस्रक्क परे। ‘तिमी चढ्न सक्दैनौं। अर्कै गाडीमा आऊ’, उनलाई भनियो। उनले भने, ‘होइन, मलाई अफिस जान हतार भइसकेको छ। धेरैवटा गाडी भीड देखेर चढ्न सकिनँ।’ सहचालकको पुनः इन्कारपछि उनले सम्झाए, ‘यसैमा चढ्छु। भित्र हामीजस्ता शारीरिक अपांगता भएकाको सिट त खाली नै होला।’ बसभित्रका यात्रुहरूले पनि कराए, ऊ त चढ्नै सक्दैन। हामी नै बल्लतल्ल चढ्यौं। त्यस्तो सिट त लास्टमा छ कसरी भित्र जान सक्ला ? धैरैले धैरै कुरा बोले। अरू त अरू, सम्बोधन पनि उस्तै। अन्ततः ती युवकको अनुहारको चमक ओइलाएको फूल झै भयो। यस्ता दृश्यहरू हामी बिहान÷साँझ हरेक ठाउँमा देखिरहेकै हुन्छौं।

आँखा देख्न नसक्ने, लुलो भएर राम्ररी हिँड्न नसक्ने आदिका लागि सार्वजनिक यातायातमा कुनै सहयोग र सम्मान छैन, हुँदैन। कसैलाई उनीहरूप्रति सद्भाव पलाउँदैन। उल्टै उनीहरूसँग भएको आत्मबल ‘म कमजोर छुइनँ, म गर्न सक्छु’ लाई पनि उडाइन्छ र अस्रक्क बनाइन्छ। अझ खानै नपर्ने गरी जवाफ लगाइन्छ। आफ्नो एउटा वचनले उसलाई कति दिन बिझाउँदो हो ? त्यो कमैले सोचेका हुन्छन्। आफ्नो सानो सहयोग र ढाडसले उसलाई कत्रो आत्मबल आउँदो हो ? यो पनि कमैले आकलन गर्छन्।

उनीहरू आफू सक्षम छु भन्दाभन्दै पनि धेरैले अपांगता भएको व्यक्ति होस् भनेर बारम्बार औंला ठड्याउने गरेको पाइन्छ। अपहेलनाको पात्र बनाउने होइन, सहयोगको भावनामा ऊर्जा थप्नुपर्छ। अरूलाई आक्रमण गरेर रमाउनुभन्दा सहयोगी र हितैषी हुन जरुरी छ। यो अभियान हरेक व्यक्तिबाट हुन जरुरी छ। गाउँदेखि सहरसम्म, टोलदेखि राजमार्गसम्म, विद्यालयदेखि कार्यालयसम्म अभियान जरुरी छ। भेदभाव गरेर होइन, हातेमालो गर्न जरुरी छ। आज सबल र सपांग व्यक्ति के थाहा भोलि दुर्बल र अपांगता भएको अवस्थामा पुग्न सक्छ। सोच सकारात्मक भए सहयोगी भावना स्वतः आउँछ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?