२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

आईसीसी विश्वकप लिग-२: बराबरीमा टुंगियो युएई र ओमान बीचको तेस्रो एकदिवसीय

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएई बीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेल बराबरीमा टुंगिएको छ। ओमानको अल अमिरात मैदानमा पहिले ब्याटिङ गर्दै ओमानले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले पुरै ५० ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर २१४ रन बनाएपछि खेल बराबरीमा टुंगिएको हो।

अन्तिम ओभरका यूएईलाई जितको लागि ९ रन आवश्यक थियो । कासिफ दाउतले यो ओभरको पहिलो दुई बल डट खेले । तेस्रो बलमा दुई रन जोडेका उनले चौथो बलमा चौका हिर्काए । पाँचौं बलमा भने दाउत आउट भए। जित्न २ बलमा ३ रन आवश्यक हुँदा ५२ रन बनाएका दाउदलाई क्याच आउट भएका थिए। अन्तिम बलमा यूएईलाई जितको लागि ३ रन आवश्यक थियो। हातमा एक विकेट मात्र बाँकी थियो। अन्तिम बलमा जाहुर खानले २ रन लिँदै रन आउट भए पनि खेल टाइ गराए।

नवौं विकेटको लागि खासिफ दाउदले जहुर खानसँग ४३ रनको साझेदारी गर्दै युएईलाई हारबाट जोगाएका थिए। खराब सुरूवात गरेको युएईले ५० रन बनाउँदा सुरूआती ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि मोहम्मद उस्मान र बसिल हमिदले ५८ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। उस्मानले ४७ तथा हमिदले २६ रन बनाए। मोहम्मद वासीमले ३५ रन बनाउँदा रोहन मुस्तफाले २५ रन जोडेका थिए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानका लागि खवर अलि र नेस्टर धम्बाले समान ३-३ विकेट लिए। कलेमुल्लाहले २ तथा बिलाल खानले २ विकेट हात पारेका थिए। टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ४९.३ ओभमा अलआउट हुँदै २१४ रन बनाएको थियो। उसका लागि कश्यप प्रजापतिले अर्धशतकीय पारी खेले। उनले ८९ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए।

त्यस्तै, कप्तान जीशान मक्सूदले ३६, नसीम खुशीले ३३, जतिन्द्र सिंहले २६ र खावर अलीले २४ रनको योगदान दिए। यूएईका जाहूर खान र कासिफ दाउदले समान ३-३ तथा बासिल हमीद, रोहन मुस्तफा र अहमद राजाले एक-एक विकेट लिए । तेस्रो खेल बराबरी खेले पनि यूएईले सिरिज २-० ले आफ्नो पक्षमा पारिसकेको थियो। युएईले पहिलो र दोस्रो खेलमा समान चार विकेटले जित हात पारेको थियो।

आउँदो एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा हेरिएको यो लिगमा हालसम्म ओमानले सर्वाधिक २३ म्याच खेलेको छ। जसमध्ये उसले १४ खेल जित्दै ३० अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। १० खेल खेलेको युएईले १२ अंकसहित चौंथो स्थानमा उक्लिएको छ। युएईले १० खेलमा ५ जित ३ हार, १ बराबरी र १ नतिजाविहिन खेल खेलेको छ।

८ खेल खेलेको नेपाल छैठौं स्थानमा झरेको छ। नेपालले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ। तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले १२ खेलबाट १६ अंक जोडेको छ। यस्तै १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ। ९ खेल खेलेको नामिबिया १० अंक जोड्दै पाँचौ स्थानमा र १२ खेलबाट अंक जोड्न नसकेको पपुवान्यूगिनि पुछारमा छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?