३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

IPL अक्सन आज, सन्दिप लामिछानेको बलियो सम्भावना

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्।

आज ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ। १० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्। जसका लागि ९० करोड भारतीय रूपैयाँ खर्चना पाउनेछन्। खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १.५ करोड र २ करोड राखेका छन्।

३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडीसहित ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्नेछन्। ५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्। आइपिएलका १० फ्रेन्चाइज टिमहरू चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, कोलकता नाइटराइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पन्जाव किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंग्लोर, सनराइजर्स हैदरावाद र टिम अहमदावाद रहेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत मैदानमा खेल्दैछ । त्यो खेल ११:४५ मा हुनेछ । नेपालीको ध्यान ओमानतर्फ हुनेछ नै योसँगै भारतको बेंगलुरुमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि हुने मेगा अक्सनमा पनि हुनेछ ।

कारण नेपालबाट एक्लो खेलाडीको रुपमा उनै सन्दीप लामिछाने मात्र अक्सनका लागि समावेश छन् । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि अक्सनका लागि भने सन्दीप मात्र छनोटमा परेका हुन् । त्यसैले यसपटक सन्दीपलाई कुन टिमले अनुबन्ध गर्ला रु सन्दीप फेरि आईपीएलमा छनोट होलान् वा नहोलान् भन्ने चासोको विषय बनेको छ ।

सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् । सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका सन्दीपले दुई सिजन खेले । तर २०२० को सिजन भने उनी पूरा सिजन बेन्चमा रहे । त्यसपछि दिल्लीले उनलाई रिलिज गर्‍यो । गत सिजनको मिनी अक्सनमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेन ।

यसपटक दुई नयाँ टिम थपिनु अनि मेगा अक्सन हुनुले पनि सन्दीपलाई कुनै न कुनै टिमले अनुबन्ध गर्ने सम्भावना बढी छ । आईपीएल त्यस्तो प्रतियोगिता हो जुन राष्ट्रिय टिम पनि हरेक खेलाडीको दोस्रो रोजाइमा पर्छ । विश्वको सबैभन्दा चर्चित र ठूलो फ्रेन्चाइज लिग र पैसा र ग्लामर पनि उत्तिकै हुने यस लिगमा खेल्न विश्वभरका खेलाडीको चाहना हुन्छ । नेपालबाट पनि सन्दीपले त्यो अवसर पाइसकेका छन् ।

सन्दीपसहित एसोसिएट राष्ट्रबाट यस पटक ७ खेलाडी छन् । जसमा अधिकांश बलर नै छन् । अक्सनका लागि सन्दीप ११औं सेटमा छन् भने उनको नाम ९४औं नम्बरमा छ । यस सेटमा सन्दीपबाहेक अन्य खेलाडी अनक्याप्ड बलर छन् । सन्दीपसँगै अफगानिस्तानका युवा बलर नुर अहमेद यस सेटमा छन् । बाँकी ६ खेलाडी भारतीय छन् ।

आईपीएल खेलिसकेका भारतका मुरुगन आश्विन, केसी कारिएप्पन, श्रेयास गोपा, जगजित सुचितासहित आर साई किशोर र एम सिद्धार्थ यस सेटमा छन् ।

मेगा अक्सनमा ६०० खेलाडी

यसपटक मेगा अक्सन भएकोले विश्वका ठूला खेलाडीहरू पनि अक्सनमा जानेछन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दिल्ली क्यापिटल्सका कप्तानी गरिसकेका भारतका श्रेयास अयेरसम्म अक्सनमा समावेश छन् । यसपटक मार्की सेटमा १० खेलाडी छन् । सुरुमै रहेको यस सेटमा वार्नर र श्रेयास अयेरसँगै रवीचन्द्र आश्विन, शिखर धवन र मोहम्मद शामीसहित दक्षिण अफ्रिकाका कागिसो रबाडा, क्विन्टन डे कक र फाप डु प्लेसिस, अष्ट्रेलियाका प्याट कमिङ्स र न्युजिल्याण्डका ट्रेन्ट बोल्ट छन् ।

यी सबै खेलाडीको बेस प्राइज २ करोड भारु छ र उनीहरूमाथि ठूलो बोली लाग्ने अनुमानसमेत छ । यसबाहेक भारतीय टिमका विकेटकिपर ब्याटिर इशान किसन, फास्ट बलर भुवनेश्वर कुमार, वेष्ट इन्डिजका अलराउण्डर ज्यासन होल्डर, भारतकै अलराउण्डर साहरुखानलगायत खेलाडीमा मुख्य केन्द्रमा रहेका छन् ।

बेंगलुरमा दुई दिन चल्ने अक्सनमा कुल ६०० खेलाडी समावेश छन् । जसमा सुरुको १८ सेटको कुल १६१ खेलाडीलाई क्रमैसँग अक्सनमा प्रस्तुत गरिनेछ । त्यसपछि भने फ्रेन्चाईजले नोमिनेट गरेको आधारमा खेलाडीहरूको अक्सन हुनेछ ।

आईपीएलको अक्सनरको रुपमा हग एडमेड्स रहनेछन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?