२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

कार्यदिशाबिनाका नेता

भीडमा रमाउनु, मालावाद र चाकडीवादलाई आफ्नो जीवनपद्धति बनाउनु नेताहरूका लागि वास्तविक लोकतन्त्र हो ।

नेपाली राजनीतिक दलका नेताहरू जनताबाट चुनिएका सामान्तवादका मसिहाजस्ता देखिएका छन् । लोकतन्त्रको पाठ जप्न खप्पिस नेताहरू जनताको काम गर्नुभन्दा पनि दलालको काम गर्न पाउँदा प्रफुल्लित देखिन्छन् । भीडमा रमाउनु, मालावाद र चाकडीवादलाई आफ्नो जीवनपद्धति बनाउनु उनीहरूका लागि वास्तविक लोकतन्त्र हो ।

प्रजातन्त्र शब्दले वास्तविकरुपमा जनताको शासनको प्रतिनिधित्व गर्ने हो तर यहाँ जनतालाई अमूर्त लोकतन्त्रले विस्थापित गरेको छ । आजभोलि सबै दलमा सामान्तवादका मुखियाहरूको बाहूल्य रहेको पाइन्छ । दलका नेताहरू बिचौलियाहरूको झुन्डबाट घेरिएका र तिनैको हित प्रवर्द्धनमा लागिरहेको सबैले देखे, बुझेकै कुरा हो ।

देश बनाउने दृष्टिकोणसहितको पारदर्शी राजनीतिक दल र भरोसायोग्य नेतृत्व दिन व्यक्तिको महत्त्वपूर्ण योगदान हुन्छ । अहिले सत्ता सम्हालेका वा सत्ता सम्हालेर प्रतिपक्षमा रहेका दलका नेताहरूको व्यक्तिगत विवरणको ‘क्रेडिट रेटिङ’ गर्ने हो भने लगभग शून्यप्रायः छ । यस्तो अवस्थामा देशले गति लिने सम्भावना शून्यप्रायः हुने नै भयो । जुन अहिले भइरहेको छ ।

राजनीति नै त्यस्तो औजार हो जसले देशलाई सही दिशा दिन सक्छ । गतिशील समाजमा सोही अनुरुपको प्रगति र विकासको अपेक्षा गरिन्छ । नेपाल भने लुडो खेलको गतिमा छ । जुन खेलमा टुप्पोमा पुगेर सर्पको मुखमा पुगी एकैपटक तल झरिन्छ, अहिले नेपाली राजनीतिक खेल ठ्याम्मै यस्तै छ ।

एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू जसलाई जनताले तिरष्कार गर्ने आँट गर्दैनन् । तर, तिनका नेताहरू हेर्दा र तिनले लिएको उल्टो गति देख्दा लाग्छ, देश प्रगति चुम्नेभन्दा पनि अद्योगतितिर लाग्दै छ । तिनले चुनावका बेला आम नागरिकसँग गरेका वाचा–बन्धन र भ्रम छर्न लेखेका घोषणापत्रहरू ‘भूतका काल्पनिक कथाजस्ता’ बनेका छन् । अर्थशास्त्रीका रुपमा विशेषज्ञता हासिल गरेका विद्वानका टिप्पणी सुन्दा देश आर्थिकरुपमा निकै कमजोर देखिन्छ । उत्पादनमा जोडिनु पर्छ भनेर खोक्रा नारा लगाउनेहरू डोजरले गाउँघरका प्राकृतिक सौन्दर्य ध्वस्त पार्दै छन् । उनीहरूले बनाएको सहरीकरणका डिजाइन विशेषज्ञ इन्जिनिययरहरूले दिएको वा बनाएको डिजाइनभन्दा उपयुक्त हुने गर्छ, किनकि उनीहरू सर्वज्ञाता जस्ता भएका छन् । सत्तमा पनि उनीहरू नै बस्छन् र डोजरका मालिक पनि उनीहरू नै छन् ।

पछिल्ला ३० वर्षमा पटकपटक गरी धेरै समय सत्तामा रहने अवसर नेपाली कांग्रेस र नेकपा एमालेले प्राप्त गरे । कांग्रेसको जनमुखी सत्तारोहण कृष्णप्रसाद भट्टराईको कार्यकालमा बाहेक अन्य समयमा हुन सकेन । त्यस्तै एमालेको सत्ता पनि मनामोहन अधिकारीको समयमा बाहेक अरु फोस्रो गफ चुट्न, उखान–टुक्का हाल्नमै बित्यो । कार्ययोजना र कार्यरणनीति नभएका कांग्रेस र एमाले नेताले आफ्नो बखान गर्नबाहेक अरु जानेका छैनन् कि भन्ने उनीहरूका व्यवहारबाट प्रत्यक्ष, परोक्ष अनुभव गर्न सकिन्छ ।

कार्यदिशालाई निर्देशित गर्ने माध्यम भनेको नेतृत्वको क्षमता हो । क्षमता मापन गर्ने माध्यम भनेको उनीहरूले जनतालाई दिने सेवा सुविधा हो । कांग्रेसका नेता/कार्यकर्ता आफूलाई बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई भन्दा कम आकलन गर्दैनन् । उनीहरूका क्षमता मूल्याकंन गर्ने हो भने आशातीत प्रतिफल सिर्जना गर्न सक्ने देखिँदैन । तर, पनि मेरो देश हाँक्न सक्ने क्षमता छैन भनेर नत साधारण सदस्यले ठान्छ, न क्रियाशील सदस्यहरूको मतदानबाट तिरस्कृत भुरे नेताले नै ठान्छ । नत कांग्रेसमा देशलाई अबको ५ वर्षमा यस्तो बनाउने भन्ने दृष्टिकोण नै देखिन्छ । लोकतन्त्रको पाठले जनतालाई भ्रमित गर्ने कार्यदिशा नै कांग्रेसको चुनावी रणनीति हो । यसबाट प्राप्त हुने प्रतिफल कति फलदायी हुन्छ भन्ने अनुभव विगत लामो समयदेखि जनताले भोगी आएकै छन् ।

कांग्रेसको गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा लोकतन्त्रको आधारभूत सिद्धान्तको केही हदसम्म प्रयोग भइ नेतृत्व चयन भयो । यो उदाहरणीय कार्य हो । जसका माध्यमबाट शेरबहादुर देउवालाई पार्टीको बिग्रिएको छवि र देशमा चुलिएका समस्याका लाम छिचोल्दै आशा गरिएका सुधार गर्ने अवसर प्राप्त अन्तिम मौका हो । यस्तो मौकालाई सुझबुझका साथ पूरा गर्न सकेमा कांग्रेसले निकट भविष्यमा हुन गइरहेका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आशातीत सफलता पाउन सक्ने अवस्था छ ।

त्यसका लागि अहिले देखिनै नै कार्यदिशा सही ठम्याउनु जरुरी छ । एमालेको बल नै कांग्रेसमा सिर्जना भएका विकृतिहरूको विकल्प उत्पादन हो भन्दा फरक पर्दैन । कांग्रेसको भाइ पार्टीका रुपमा स्थापित एमालेको कार्यदिशा पनि नवप्रवर्द्धनात्मक हुन सकेको छैन । त्यसैले होला, एमालेका नेता/कार्यकर्ता कांग्रेसका बुँख्याचाजस्ता देखिन्छन् ।

माओवादीको जन्म जुनरुपमा र परिवेशका लागि भएको थियो उसले गर्ने काम र उसको कार्यदिशा सोही रुपमा नै हुनु खासै अनौठो विषय होइन । जनक्रान्तिका नाममा भएका जेजति वितण्डा होस् वा सार्वजनिक सम्पतिका विनाश, त्यसबाट निर्दिष्ट पृष्ठपोषणबाट हुर्किएको दलको कार्यदिशा स्वाभाविकरुपमा सोहीअनुसार नै हुने भयो । जसले जेजस्तो कार्यदिशा लिन्छ सोही गतिमा उसले आफ्नो प्रतिफल जगेर्ना गर्ने हो ।

आज जनतामा वितृष्णा सिर्जना केवल राजनीति र तिनका नेताको कार्यशैलीका कारण हो । यसमा सुधारको सम्भावना सदैव हुन्छ । व्यक्तिका कारण बिग्रिएको अवस्थामा सुधार ल्याउन सबल र सक्षम नतृत्वको विकास हुनु जरुरी हुन्छ । दलहरूले आफ्नो छवि सुधारका लागि अनुसन्धानमा आधारित कार्यनीति अबलम्बन गर्नु पर्छ । दलले लिने नीति व्यक्तिप्रधान भन्दा पनि संस्थाप्रधान हुनु जरुरी छ । शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाललाई प्रधान ठान्नुभन्दा पनि कांग्रेसको नीति, सिद्धान्त, कार्ययोजना वा कार्यरणनीति प्रधान हुने प्रणालीको विकास गरिनु पर्छ । ओली र पुष्पकमल दाहाललाई सर्वेसर्वा ठान्नुभन्दा पनि एमाले र माओवादी केन्द्रको नीति, सिद्धान्त, कार्ययोजना वा कार्यरणनीतिलाई प्रधान ठान्नु पर्छ । पार्टीमा संस्थागत निर्णय गर्ने परिपाटी अंगाल्नु पर्छ ।

विद्यमान विकृति सुशासको अभाव, मनोबल गिरेको नीजी क्षेत्र, विकासको उल्टो गति, दिशा र गतिहीन दल र जनतामा छाएको निरासा, राजनीति दलले गुमाएको साख, एकआपसमा विकास भएको विश्वासको खाडल, चोकगल्लीमा गालीका लागि छनोट भएका पात्र (जसमा मुख्य राजनीतिक दलका नेता हुने गर्छन्) को सुधारका लागि दलहरूले कार्यदिशासहितको कार्ययोजना ल्याउनु जरुरी छ । मुख्यतः आगामी निर्वाचनमा कांग्रेसले सबै तहमा परिणाम आफ्नो पक्षमा ल्याउने अभिलाषा राख्ने हो भने यस्तो तयारीमा लाग्न ढिलो भइसकेको देखिन्छ । अन्यथा कार्यदिशा विनाको दल बटुवा पार्टीमा परिणत हुनसक्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?