नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनोटको सेमिफाइनलमा पुगेको छ । आज आइतवार ओमानको अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएको हो ।
अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएई सोमबार नै समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान भोलि नै भिड्नेछन्।
नेपालको जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखोली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्यो । उसका लागि डिलोन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बोहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।
यसअघि नेपालले फिलिपिन्स र आयोजक ओमानलाई हराएको थियो । अब सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले पछिल्लो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।