अर्घाखाँची । सरकारले निर्वाचनको मिति घोंषणा गरिसकेपछी स्थानियतहमा पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ । विभिन्न प्रलोभन देखाएर अर्घाखाँचीका प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीका नेताहरु अहिले गाउँगाउँमा कार्यकर्ता तानातान गरिरहेका छन् ।
बाटो, खानेपानी, पाईप, टँडेल लगायतमा सहायता गर्ने भन्दै पार्टी प्रवेश गराएको स्थानियले बताउने गरेका छन् । कार्यकर्ता भित्राउन विशेष गरी एमाले र कांग्रेसबिच प्रतिस्पर्धा चलेको छ । तर कतिपय ठाँउमा दलहरुले अस्वभाविक गतिविधी गरेको देखिन्छ । नभएको हल्ला फिजाउने, गलत तथ्याङ्क दिने, झुक्याएर टिका लगाईदिने जस्ता अस्वच्छ प्रतिस्पर्धामा दलहरु लागेको जनस्तरबाट गुनासो आउने गरेका छन् ।
यही फागुन १० गते सन्धिखर्क नगरपालिका वडा नम्बर-६, नरपानीको जगतमा नेकपा (एमाले) मा प्रवेश गरेका विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आफुहरु कुनै पार्टीमा नगएको बताएका छन् । एमालेले २१५ जना पार्टीमा भित्रिएको दावी गरेपनी त्यहाँका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका कार्यकर्ताहरुले आफुहरु एकजना पनि एमालेमा प्रवेश नगरेको बताएका हुन् ।
एमालेको नरपानी वडा कमिटीले पार्टी प्रेवश तथा स्वागत कार्यक्रम गरी ७० घर परिवारका २१५ जना आफ्नो पार्टीमा प्रवेश गरेको दावी गर्यो । नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले समेत फेसबुकमा स्टाटस राख्दै २१५ जना पार्टी प्रवेश गराएको पुष्टी गरे । तर नरपानीको कार्यक्रममा उपस्थिती भएर टीका, माला र खादा लगाएका सबैले केहिबेरमै एमालेमा प्रवेश नगरेको बताए । मन्त्री लगायत ठुला नेता आउने र बिकास सम्बन्धी केही कुरा गर्ने भनेर बोलाएर पार्टी प्रवेशको हल्ला फैलाएको उनीहरुले दावी गरे । त्यहाँ पार्टी प्रवेश गर्ने कार्यक्रम भएको बारे आफुहरुलाई केही जानकारी नभएको उनीहरुको भनाई छ ।
नरपानीका कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादीले एकैस्वरमा एमालेले बेईमानीको राजनिती गर्न खोजेको आरोप लगाएका छन् । एमाले १/२ दिन अँघी पैसा वितरण गरेर प्रवेशको कार्यक्रम गरेको दावी गरे । अलोकप्रियता बढ्दै गएपछी एमालेले गाउँमा अहिलेदेखि नै पैसाको प्रलोभन देखाएर पार्टी प्रवेश गराउने रणनिती बनाएको उनीहरुको दावी छ। नरपानीमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतका नेताहरु उपस्थितीमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम गरेको थियो ।
गत माघ २६ गते शितगंगाको जलुकेमा २१० जना र फागुन ७ गते पाणिनीको पोखराथोकमा २५० जना पार्टी प्रवेश गराएको दावि ग¥यो । तर पाणिनी गाउँपालिका कांग्रेसले यसको खण्डन गरिसकेको छ । क्षेत्रिय उपसभापती अर्जुन पोख्रेलले यो हाँस्यास्पद तथ्याङ्क बाहिर आएको उनले बताएका छन् ।
नेपाली कांग्रेसले यो ५ वर्षको अवधिमा ५ हजार भन्दा बढी नेता कार्यकर्ता पार्टीमा भित्राएको दावी गर्दै आएको छ । पाणिनी गाउँपालिकामा मात्र १ हजार ३ सय भन्दा बढी कांग्रेस प्रवेश गरेको उनीहरुको दावी छ । कांग्रेसले दिएको तथ्याङ्क पनी कपोकल्पित भएको एमालले आरोप लगाउने गरेको छ । आफ्ना कार्यकर्ता कहीं नगएको, एमाले अझै बलियो भएको र सबै स्थानियतह आफुहरुले जित्ने एमालेको दावी छ । एमालेको लोकप्रियता देखेर अन्य दलहरु अताल्लिएको एमाले अर्घाखाँचीले जनाएको छ ।
यसरी दलहरु तथ्याङ्क बङगाएर, झुटको खेती गरेर, प्रलोभनमा पारेर कार्यकर्ता भित्राउँदा यसले दललाई कसरि फाईदा गर्ला ? पार्टीको आकर्षण देखाउन विभिन्न हथकण्डा अपनाउन दलहरुको रस्साकस्सी देखिन्छ । तल्लो स्तरमा उत्रिएर कार्यकर्ता फसाउने, झुक्काएर अबिर लगाईदिने एमालेको रणनिती उसैलाई घातक हुने निश्चित छ । नेपाली कांग्रेसका पनी सबै तथ्याङ्क सही हुन् भन्न सक्ने अवस्था छैन । यसले एकैछिन आत्मसन्तुष्टी दिएपनी संगठनलाई भित्रि रुपमा खोक्रो बनाउने देखिन्छ ।
जनताको समस्या केन्द्रित राजनिती नगरेर होडबाजी र मिथ्याको राजनितीले दलहरुको धरातल कमजोर भएको देखिन्छ । कसले कहाँ बाजी मार्छ त्यो हेर्न निर्वाचन कुर्नुपर्ने हुन्छ तर फोहोरी राजनितीले दलहरुको नैतिकता माथी प्रश्न उठाउने र शंकाको सुविधा रहीरहने देखिन्छ ।