सम्पत्ति शुद्धीकरणको मामिलामा भारतको प्रवर्तन निर्देशनालयले महाराष्ट्र सरकारमा क्याबिनेट मन्त्री तथा एनसीपी नेता नवाब मलिकलाई पक्राउ गरेको छ । बुधबार बिहान नवाब मलिकलाई प्रवर्तन निर्देशनालयका अधिकारी सोधपुछका लागि आफ्नो कार्यालय लिएर गएका थिए । अब सोधपुछपछि नवाब मलिकलाई पक्राउ गरिएको छ ।
समाचार एजेनसी पिटिआईले इडीका अधिकारीलाई उद्धृत गर्दै नवाब मलिकसँग मुम्बई अन्डरवर्ल्डसँग जोडिएको सम्पत्ति शुद्धीकरणको मामिलामा सोधपुछ जारी गरेको जानकारी दिएको छ । इडीको यो कदमपछि महाराष्ट्रमा सत्तारुढ गठबन्धनका नेताले बीजेपीमाथि निशाना साँधेका छन् । महाराष्ट्रमा एनसीपीका प्रमुख तथा राज्य सरकारमा मन्त्री जयन्त पाटिलले भनेका छन्, ‘नवाब मलिकले पछिल्लो केही समयदेखि बिजेपी नेताहरुको पर्दाफास गरिरहेका थिए, यसैकारण उनीसँग बदला लिइँदैछ । ’
नवाब मलिकलाई कुनै पूर्व सुचना बिना नै सोधपुछका लागि इडीको कार्यालय लगिएको उनले आरोप लगाए । शिवसेनाका सांसद सञ्जय राउतले पनि नवाब मलिकलाई घरबाट लगिएकोमा आपत्ति जताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले भने, ‘नवाब मलिक वरिष्ठ नेता हुन् र महाराष्ट्र सरकारमा क्याबिनेट मन्त्री हुन् । जसरी उनलाई घरबाट इडीले लिएर गयो, त्यो महाराष्ट्र सरकारका लागि चुनौती हो । एक मन्त्रीलाई केन्द्रीय एजेन्सीले हाम्रो राज्यमा आएर लिएर गइरहेको छ । सन् २०२४ मा तपाईंमाथि पनि अनुसन्धान हुनेछ । यसलाई ध्यानमा राख्नुहोस् ।’