संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ ।
यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ८ गते नयाँ बानेश्वरमा भएको आन्दोलनमा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको थियो भने आन्दोलनकारीले सार्वजनिक सम्पत्ति तोडफोड गरेका थिए ।