२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

युक्रेनबाट के चाहन्छ रुस ?

बिहीबार बिहान उज्यालो भइसकेको थिएन, युक्रेनको राजधानी किएभका बासिन्दा बिस्फोटको आवाजसँगै ब्युझिए। किएभमात्रै होइन पूर्वी युक्रेनका अरू धेरै सहरमा बिस्फोट भइसकेका थिए। विशाल छिमेकी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही घोषणा गरेसँगै युक्रेन र रूसको तनाव नयाँ चरणमा प्रवेश गरेको छ।

युक्रेनका विदेश मन्त्रीले रूसले पूर्ण रूपमा युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनलाई रोक्न बाँकी विश्वले साथ दिनुपर्ने बताएका छन्। उनले यो लडाइँ युक्रेनले जित्ने दाबी गरेका छन्। युक्रेनमा संकटकाल घोषणा गरिएको छ। पुटिनको घोषणासँगै युक्रेनले आफ्नो आकाश नागरिक उड्ययनका लागि बन्द गरिदिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो अन्यायपूर्ण कदमका लागि पुटिनलाई विश्वले जवाफदेही बनाउने बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुतेरेसले मानवताका लागि आफ्ना सैनिकहरू फिर्ता लिन पुटिनलाई आग्रह गरेका छन्। रूसी राष्ट्रपति पुटिनले भने लडाइँ अवश्यम्भावी भएको बताएका छन्।

केही दिनअघि पुटिनले रूस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए। डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि उनले त्यहाँ शान्ति स्थापनार्थ रूसी सैनिक जाने बताएका थिए। त्यसको दुई दिनपछि पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।

पुटिन युक्रेनबाट के चाहन्छन्?

रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।

गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए। ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।

यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्। रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।

बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।

डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए। किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्‍यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।

रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।

युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।

पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?