१९ फेब्रुअरीका दिन मंगल ग्रहमा जीवनका जीवाश्म खोज्ने मिसनमा पठाइएको ‘पर्सिवरेन्स मार्स रोवर’ले ल्याण्ड गरेर इतिहास नै बनायो। यस रोवरले मंगल ग्रहको ‘जेजेरो क्रेटर’मा अवतरण गर्यो र यसले त्यहाँ विभिन्न अनुसन्धानमूलक कार्य आउँदो दश वर्षसम्म गरिरहने छ। यसले एकत्रित गरेका माटो, ढुङ्गा,चट्टान,बालुवाका नमुना पृथ्वीमा ल्याउन नासाले दुई वर्षमै अर्को दुई वटा मंगल अभियानका रकेट पठाउने छ।
कसरी हुन्छ यो ?
तपाईंलाई जिज्ञासा लाग्नु स्वाभाविक नै हो, आखिर मंगल ग्रहको वायुमन्डलमा परिवर्तन कसरी ल्याउन सकिन्छ। तपाईंसँग वैज्ञानिक क्षमता सम्पन्न मस्तिष्क छ भने मैले भनेको उपाय गरेर तपाईं यो काम सजिलै गर्न सक्नु हुन्छ। यसका लागि तपाईंले एउटा यस्तो ब्याक्टेरिया बनाउनु पर्ने हुन्छ जुन कार्बनडाइअक्साइड ग्रहण गरी ‘फोटो सिन्थेसिस’ (प्रकाश संश्लेषण ) गरेर कार्बनडाइअक्साइडलाई अक्सिजनमा बद्लिन सकोस् । त्यो ब्याक्टेरिया लगेर मंगल ग्रहमा छाडिदिनुस्। यसले कार्बनडाइअक्साइडलाई भोजन बनाएर आफ्नो वंश वृद्धि गर्दै त्यहाँको वातावरणमा अक्सिजनको मात्रा बढाइदिन्छ। तपाईंले यसलाई हल्का रूपमा लिए पनि विज्ञान जगतले यस्तो ब्याक्टेरिया पत्ता लगाइसकेको छ।
अब एलन मस्कको सपना पूरा हुने दिन टाढा छैनन् । केही वर्षभित्रै पृथ्वीवासीको सौर्यमण्डलको अर्को ग्रह मंगलमा गइ बस्ने सपना साकार हुन्छ। वैज्ञानिकहरुले यस्तो उपाय खोजी सकेका छन् जसले मंगल ग्रहको वायुमण्डलमा रहेको ‘कम्पोजिसन’ लाई परिवर्तित गरी त्यहाँ अक्सिजनको मात्रा वृद्धि गर्न सक्छन्।
जर्मनीको यूनिभर्सिटी अफ ब्रेमेन (University of Bremen) का वैज्ञानिकहरुले एउटा यस्तो साइनोब्याक्टेरिया (Cyanobacteria) तयार पारेका छन् जसले मंगलको अहिलेको वातावरणमा हुर्की त्यहाँको वायुमण्डलमा रहेको कार्बनडाईअक्साइड ग्रहण गरी अक्सिजन उत्सर्जित गर्न सक्छ। अर्थात यस साइनोब्याक्टेरियाले प्रकाश संश्लेषण गरेर कार्बनडाईअक्साइडलाई अक्सिजनमा रूपान्तरित गरिदिन्छ। कार्बनडाइअक्साइड भनेको co2 हो, यस साइनोब्याक्टेरियाले co2 मा रहेको एक कार्बन अणु र दुई अक्सिजन अणुलाई पृथक गरी अक्सिजन निर्माण गर्छ।
यस साइनोब्याक्टेरिया अध्ययनका प्रमुख डाक्टर एस्ट्रोबायोलोजिस्ट साइप्रियन वर्सू (astrobiologist Cyprien Verseux.) का अनुसार यस ब्याक्टेरियाका लागि मंगल ग्रहको कम दबाब भएको वायुमण्डल अति उपयोगी हुन्छ। त्यहाँ रहेको उच्च कार्बनडाइअक्साइडको उपयोग यसले कार्बन र नाइट्रोजनका झै गर्न सक्छ र अक्सीजन निर्माणमा प्रसस्त योगदान दिन सक्छ।
साइनोब्याक्टेरियाका सबै प्रजातिका ब्याक्टेरियाले ‘फोटोसिन्थेसिस’को ‘बाई – प्रोडक्ट’का रूपमा अक्सिजन निर्माण गर्न सक्छन् / गर्छन्। यस ब्याक्टेरियाको ख़ास गुण नै यही हो कि यसले कार्बनडाइअक्साइड र नाइट्रोजन मिलनबाट अन्य पोषक तत्वको निर्माण गर्न सक्छ।
यस साइनोब्याक्टेरियाको परिचय ‘Anabaena cyanobacteria, aka blue-green algae ‘ का रुपमा गरिएको छ। ‘Frontiers in Microbiology’मा प्रकाशित रिपोर्टका अनुसार यो मंगलको वातावरणमा सजिलै हुर्किन सक्छ।
ब्रेमेन यूनिभर्सिटीका अनुसन्धानकर्ताले यस कार्यका लागि एउटा ‘बायोरिएक्टर’ (bioreactor) निर्माण गरेका थिए,यसलाई अट्मोस (Atmos ) भनिएको थियो। यस रिएक्टरको वातावरण मंगल ग्रहको वातावरण झै बनाइएको थियो। यसभित्र पृथ्वीमा पर्ने वायु दबाबको १० प्रतिशत मात्रै दबाब कायम हुने व्यवस्था गरिएको थियो। रिएक्टरभित्र ठ्याक्कै मंगल ग्रहको वातावरण उपलब्ध रहेको थियो। यस साइनोब्याक्टेरियाले रिएक्टरभित्र को वातावरणमा हुर्की अक्सिजन बनाएको थियो।
यस प्रयोगपछि वैज्ञानिकहरु मंगल ग्रहमा अक्सिजन बनाउन सकिने कुरामा अति उत्साही बनेका छन। वैज्ञानिकहरुलाई थाहा छ साइनोब्याक्टेरियाले गर्दा नै अर्बौ वर्ष पहिला (२.४ अर्ब वर्ष पहिला) पृथ्वीमा अक्सिजनको निर्माण भएको थियो। वैज्ञानिकहरु यसै कारणले मंगलमा अक्सिजन बनाउन सक्ने कुरामा विस्वस्त भएका हुन्। पृथ्वीमा यो ब्याक्टेरिया हुर्किन जुन बायोरिएक्टर बनाउनु पर्यो त्यो वास्तवमा पृथ्वीमा मंगल ग्रहको जस्तो परिस्थिति निर्माण गर्न बनाइएको थियो । मंगल ग्रहमा बायोरिएक्टर आवश्यक पर्दैन। यो साइनोब्याक्टेरिया मंगलको खुला वातावरणमै हुर्किन सक्छ।