२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

एमसीसी अनुमोदनमा एमाले साक्षी !

सरकारमा हुँदा संसद्‌‌मा एमसीसी सम्झौता दर्ता गरेको एमालेले प्रतिपक्षमा रहँदा पनि विरोध गरेको छैन । केही सांसदले व्यक्तिगत रूपमा विरोध गरे पनि पार्टीले धारणा बनाइसकेको छैन । एमसीसीलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाले प्रयास गर्दा सत्तारूढ गठबन्धनको धारणा सार्वजनिक भएपछि निर्णय गर्ने बताएको एमालेले निर्णयार्थ प्रस्तुत गर्ने बेलासम्म कुनै धारणा सार्वजनिक गरेन ।

संसद्मा आइतबार सम्झौता अनुमोदन प्रक्रिया चलिरहँदा एमाले सांसदले सभामुखविरुद्ध नारा लगाइरहेका थिए । आफ्नो पार्टीका अध्यक्षसहित सबै सांसदले वेलमा नाराबाजी गरिरहँदा सांसद भीम रावलले भने दुई पटक छलफलमा भाग लिए । सुरुमा सैद्धान्तिक छलफलमा भाग लिएका उनले दोस्रो पटक सरकारले ल्याएको व्याख्यात्मक घोषणा र एमसीसीमाथिको विस्तृत छलफलमा बोलेका थिए ।

अघिल्लो आइतबार एमसीसी पेस हुँदा झपट रावललगायत केही सांसदले ‘एमसीसी मुर्दावाद’ को नारा लगाएका थिए । तर, यस पटक भने उनले नारा लगाउने मौकै पाएनन् । पहिलो बैठक ३ घण्टा र दोस्रो बैठक साढे १ घण्टा चल्दा एमसीसीको विरोधमा एउटै पनि नारा लागेन । एमाले सांसदले ‘हाम्रो विरोध जारी छ’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ जस्ता नारा लगाइरहेका थिए ।

बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली आफैं वेलमा थिए । अरू दिन विरलै देखिने ईश्वर पोखरेल र विष्णु पौडेललगायत सांसद पनि पूरै समय वेलमा रहे तर उनीहरूले नारा लगाएनन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अरू दिनझैं पूरै समय नाराबाजीलाई कहिले टेबलमा अडेस लगाएर त कहिले वेलमा उभिएर अवलोकन गरिरहे ।

नारा लगाउनेमा प्रमुख सचेतक विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, नीरुदेवी पाल, सूर्य पाठक, पदम गिरीलगायत थिए । उनीहरूले आलोपालो नारा लगाइरहेका थिए । अर्थमन्त्री जनार्दन शर्माले सरकारको एमसीसीमाथिको व्याख्यात्मक घोषणा रोस्ट्रमबाट वाचन गर्दा एमाले सांसदहरू प्रत्येक बुँदा उभिएरै पढिरहेका थिए ।

एमसीसीमा फरक धारणा राखेको र पार्टीले वेलमा घेराउ गरिरहेका बेला रोस्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी हुने रावलबारे पार्टीमा छलफल हुने भट्टराईले जानकारी दिए । @ekantipur

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?