युक्रेनले रुससँग वार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गरेका हुन्। यसअघि उनले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार भएका हुन् । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएका बेलारूसी राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकासेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिने भएको छ ।यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिएका छन्।
रुसको मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको बीबीसीले जनाएको छ । रुसको आक्रमणमा परेर युक्रेनमा १४ बालबालिकासहित ३ सय ५२ जनाको ज्यान गएको छ । बालबालिकासहित १६ सयभन्दा धेरै घाइते भएका छन् भने तीन लाख ७० हजार भागेर विदेशको शरणमा पुगेका खबरमा उल्लेख गरिएको छ ।