आज ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

आज बराह वर्ष पूरा भई  मुसा वर्ष शुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहेको टीका शेर्पाले जानकारी दिए ।  ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता शेर्पाले सुनाए ।

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । यो समुदाय बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।  विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।  सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज मुलुकभर  सार्वजनिक बिदा दिएको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले बुधबार नै जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.