विश्वले जे नहोस् भनेर कामना गर्यो, दुर्भाग्य, त्यही भएको छ । रुसले युक्रेनमाथि सशस्त्र हमला गरेको छ । भौतिक संरचनाहरू ध्वस्त बनाइएका छन् । अहिलेसम्म झन्डै २ सय सर्वसाधारणको ज्यान गएको छ । युद्ध लम्बिए बाँकी विश्वमा पनि यसको गम्भीर असर पर्ने निश्चितप्रायः छ । खास गरी विश्व आपूर्ति प्रणाली, इन्धन, खाद्यान्न, सेयरबजार, कमोडिटी मार्केटमा यसको बढी असर पर्ने देखिन्छ ।
धेरै अर्थशास्त्रीले अनुमान गरेझैं, यसअघि नै अकासिएको महँगीलाई युद्धले थप उचाल्नेछ । खास गरी इन्धन, खाना र कच्चा पदार्थमा मूल्य बढ्ने देखिन्छ । कोभिड महामारीले उचालेको मुद्रास्फीतिलाई यसले थप बढाउने चिन्ताले सिंगो विश्वलाई गाँजेको छ । हालै सार्वजनिक तथ्यांकले अमेरिकाको मुद्रास्फीति दर साढे ७ प्रतिशत देखाएको छ । यो विगत ४० वर्षयताकै उच्च दर हो । अमेरिकामा सन् २००० यताका दुई दशकको अवधिमा आधाभन्दा बढी समय उपभोग्य वस्तुको मूल्य घट्ने गरेको थियो । यसलाई मुद्रास्फीति ऋणात्मक भएको भनिन्छ ।
कोभिड महामारीपछि अधिकांश मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउनेलगायतका काम गरेर मौद्रिक नीतिलाई लचिलो बनाएका थिए । मुद्रास्फीति रोक्न मौद्रिक नीतिलाई कस्ने तयारी गरेका विश्वभरिका केन्द्रीय बैंकहरूलाई यो संकटले त्यो नीतिबारे पुनर्विचार गर्नुपर्ने बनाइदिएको छ ।
इन्धन
युद्धको सबैभन्दा ठूलो आर्थिक असर इन्धन बजारमा पर्ने देखिन्छ । रुस विश्वकै दोस्रो ठूलो ग्यास निर्यातकर्ता र पेट्रोलियम पदार्थको विश्वकै तेस्रो ठूलो उत्पादक हो । खास गरी रुसबाट युरोपमा हुने ग्यास आपूर्ति बन्द भयो भने त्यसले आर्थिक मन्दी पनि निम्त्याउन सक्ने सम्भावना छ । आक्रमण सुरु भएलगत्तै गत हप्ता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल १ सय डलरसम्म पुग्यो, जुन २०१४ पछिको उच्च थियो । युरोपेली बजारमा प्राकृतिक ग्यासको मूल्य ६२ प्रतिशतसम्मले बढ्न पुग्यो (ब्लुमबर्ग, २५ फेब्रुअरी २०२२) । रुसले युक्रेन भएर बिछ्याइएका ठूला पाइपमार्फत युरोपमा ग्यास वितरण गर्दै आएको छ । रुसमाथि प्रतिबन्ध लगाउँदा युरोपेली ऊर्जा आपूर्तिमा पनि गम्भीर संकट आउन सक्छ ।
अमेरिकाले रुसबाट इन्धन नभित्र्याए पनि आपूर्ति प्रणाली तथा ढुवानीमा हुने ढिलाइ र मूल्यवृद्धिका कारण इन्धनको मूल्य बढ्नेछ । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य अहिले नै सन् २०२० को सुरुतिरको भन्दा ४० प्रतिशतले बढिसकेको छ । सोमबारसम्म मूल्य प्रतिग्यालन ४ डलर पुगिसकेको छ । आरएसएमका प्रमुख अर्थशास्त्री जो ब्रुसुएलसले हालै सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाको आर्थिक वृद्धिदर १ प्रतिशतले घट्न सक्ने आकलन छ । त्यो खास गरी ऊर्जाको मूल्यवृद्धि र उपभोगमा आउने कमीका कारण हुनेछ ।
यो द्वन्द्वले गाडीहरूको उत्पादन र ढुवानीमा समेत असर पर्ने देखिन्छ । रुसले आक्रमण गरेलगत्तै गाडी निर्माता कम्पनीहरूले रुसी साझेदारसँगको अर्डर ढुवानी स्थगित गरेका छन् । अर्कातिर, रुसले विश्वमा आपूर्ति हुने कुल ‘पलेडियम’ को एकतिहाइ उत्पादन गर्छ । यो चाँदी रंगको धातु पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा प्रयोग गरिन्छ । यसले सवारीसाधनबाट निस्कने उत्सर्जनलाई घटाउन मद्दत गर्छ ।
खाद्यान्न
पेट्रोलियम पदार्थका अलावा रुस र युक्रेन दुवै कृषि उत्पादनका ठूला निर्यातकर्ता पनि हुन् । यी दुवै मुलुकले गहुँलगायतका खाद्यान्न मध्यपूर्वसहित विभिन्न मुलुकमा पठाउँछन् । विश्वको कुल गहुँ निर्यातमा रुस र युक्रेनले मात्रै झन्डै ३० प्रतिशत र मकै निर्यातमा १९ प्रतिशत स्थान ओगट्छन् ।
विश्वका ३० भन्दा बढी मुलुकमा अन्तर्राष्ट्रिय वित्तीय सेवा दिँदै आएको नमुराको पछिल्लो प्रतिवेदनले बढ्दो पेट्रोलियम पदार्थ र खानेकुराको मूल्यले मध्यपूर्वलगायत एसियाली अर्थतन्त्रलाई प्रतिकूल असर पार्ने जनाएको छ । यसले भोकमरी पनि बढाउन सक्छ ।
न्युयोर्क टाइम्सका अनुसार, इजिप्ट र टर्कीमा हुने कुल गहुँ आयातमा रुस र युक्रेनले ७० प्रतिशत हिस्सा ओगट्छन् । अझ युक्रेनको गहुँ निर्यातमध्ये ९५ प्रतिशत मध्यपूर्वलगायत एसिया र अफ्रिकामा जान्छ । लिबिया, लेबनान, यमनजस्ता मुलुक पनि गहुँका लागि युक्रेनमाथि निर्भर छन् । बंगलादेश र इन्डोनेसिया, पाकिस्तानजस्ता दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकसमेत गहुँका लागि यही क्षेत्रमा निर्भर छन् (भक्स, २७ फेब्रुअरी २०२२) ।
ढुवानी तथा आपूर्ति प्रणालीमा आउने अवरोध र इन्धनको मूल्यवृद्धिको सीधा असर उनीहरूबाट सीधै खाद्यान्न नकिन्ने मुलुकमा पनि पर्नेछ । अमेरिकासहित थुप्रै मुलुकमा कोभिड महामारीका बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य निकै अकासिएको छ । त्यसको मुख्य कारण कोभिडका कारण उपभोक्ताको मागअनुसार आपूर्ति नहुनु नै हो, आपूर्ति प्रणाली सुचारु नहुनु हो । अमेरिकामा माछा–मासु, दुग्धजन्य उत्पादन, तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य दुई वर्षमा निकै बढ्न पुगेको छ । अमेरिकी कृषि मन्त्रालयअन्तर्गत आर्थिक सेवा अनुसन्धानले गरेको अध्ययनअनुसार, सन् २०२२ मा अमेरिकामा घरहरूमा उपभोग हुने खानेकुराको मूल्य २–३ प्रतिशतले बढ्ने अनुमान छ । घरबाहिर (रेस्टुरेन्ट आदिमा) उपभोग हुने खानेकुराको मूल्य भने ४–५ प्रतिशत बढ्ने प्रक्षेपण छ । यो युद्धअघिको स्थितिलाई ध्यानमा राखेर गरिएको प्रक्षेपण हो ।
सेयर तथा वित्तीय बजार
युद्धको खबर फैलन नपाउँदै विश्वभरि नै सेयर बजार ओरालो लाग्यो । सोमबार यसमा केही सुधार आए पनि बजारको अस्थिरता कायमै छ । नयाँ अंग्रेजी वर्षको सुरुमै अमेरिकी सेयर बजारले ठूलै ‘करेक्सन’ (सेयर मूल्य १० प्रतिशत तल झर्नु) बेहोर्नुपर्यो । युद्ध चर्किंदै गएमा सेयर बजारलाई थप अस्थिर बनाउँदै ‘बेयर मार्केट टेरिटोरी’ (सेयर मूल्य २० प्रतिशत वा त्योभन्दा बढी दरले घट्ने अवस्था) मा लैजान सक्छ । अमेरिकी सेयर बजारको मुख्य परिसूचक ‘एसएन्डपी ५००’ जनवरीयता करिब १० प्रतिशतले झरेको छ । कोभिड महामारी सुरु भएको एक महिनाको अवधिमा झन्डै ३० प्रतिशतले सेयर मूल्य घट्न पुगेको थियो ।
यसले अवकाश तथा व्यक्तिगत अवकाश अकाउन्ट (आईआरए) मा कर छुटको सुविधा लिएर लगानी गरिरहेकाहरूलाई पनि प्रभावित पार्नेछ । किनकि सेयरको मूल्य घट्दा उनीहरूको भावी बचत पनि घट्न पुग्छ । अर्कातिर, सेयर बजार बिथोलिनु भनेको उपभोक्ताको आत्मविश्वास क्षय हुनु हो, उसले गर्ने खर्च घट्नु हो जसले प्रत्यक्ष रूपमा अर्थतन्त्रको वृद्धिदरलाई प्रभावित पार्छ । त्योभन्दा ठूलो, लगानीकर्ताको मनोभावना कमजोर हुनु हो । मनोवैज्ञानिक रूपमा यसको असर नकारात्मक रूपमा पर्नेछ ।
सेयर बजार ओरालो लाग्दा कमोडिटी मार्केट भने उसै गरी उकालो लाग्यो । सुन, पेट्रोल, ग्यास, गहुँलगायतका वस्तुको बजार निकै बढ्न पुग्यो । यसैगरी बढ्ने हो भने यसले मुद्रास्फीतिलाई थप बढाउनेछ ।
अन्य क्षेत्र
अर्कातिर, अमेरिका र युरोपियन युनियनले रुसी बैंक तथा वित्तीय संस्थाहरूमाथि लगाएको प्रतिबन्धले अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा असर पार्ने नै छ । त्यो प्रतिबन्धले रुसी मुद्रालाई कमजोर बनाउँदै लग्दा उसको वित्तीय बजार नै भत्किन सक्छ ।
यो द्वन्द्वले अन्तर्राष्ट्रिय हवाई र पर्यटन क्षेत्रमा पनि असर पार्नेछ । बेलायतले एरोफ्लटबाट आउने सबै उडान रोकिदिएको छ । यसअघि नै युक्रेनसहित मोल्दोभा र बेलारुसमा विमान उडानमा रोक लगाइएको छ । खास गरी एसियाबाट युरोप आउने हवाई उडानहरू त्यसबाट प्रभावित हुनेछन् ।
साइबर आक्रमणको जोखिम पनि उत्तिकै छ । रुसले आफूलाई सहयोग नगर्ने मुलुकहरूसँग साइबर आक्रमणबाट बदला लिन सक्ने जोखिम रहेको न्युयोर्क टाइम्सले जनाएको छ । यसअघि नै युक्रेनका सरकारी र बैंकिङ वेबसाइटहरूमाथि साइबर हमला भएको छ ।
थप मानवीय, भौतिक र आर्थिक क्षति रोक्न विश्वले वार्ताका माध्यमबाट समस्या हल गर्नतिर ध्यान दिन आवश्यक छ । नत्र एउटा गोलार्द्धमा भएको युद्धले बाँकी गोलार्द्धलाई पनि सखाप पार्न सक्छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य अकासिन पुग्दा नेपालजस्ता कम विकसित मुलुकमा सर्वसाधारणको आम्दानीले दैनिक गुजारा चलाउनै मुस्किल पर्नेछ । खाद्यान्नका लागि रुस र युक्रेनमा निर्भर अफ्रिकी र मध्यपूर्व तथा एसियाली मुलुकमा भोकमरी बढ्न सक्छ ।
युद्धको आर्थिक र मानवीय मूल्य चुकाइनसक्नु हुन्छ । संयुक्त राष्ट्रसंघको ‘वर्ल्ड ह्युमनिटेरियन डेटा एन्ड ट्रेन्ड्स, २०१७’ का अनुसार, सन् २०१६ मा मात्रै १४ खर्ब ३० लाख डलर बराबरको आर्थिक मूल्य चुकाउनुपर्यो । त्यो भनेको विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १२.६ प्रतिशत हो । मानवीय क्षतिका हिसाबले पनि युद्ध निकै महँगो पर्छ । युद्धका कारण २०१६ को अन्त्यमा मात्रै विश्वभरिबाट ६ करोड ५६ लाख मानिस घर छोड्न बाध्य भएका थिए ।
यति बेला रुस–युक्रेन वार्ताका प्रयासहरू पनि भइरहेका छन् । सार्थक वार्ताका माध्यमबाट युद्ध रोक्नु सम्पूर्ण विश्वको हितमा छ । अमेरिका, युरोपलगायत सबैले आर्थिक तथा अरू प्रतिबन्ध लगाउनुसँगै युद्ध रोक्न रचनात्मक भूमिका खेल्नु आवश्यक छ ।