सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।
अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ ।
विष्टले वीरेन्द्रनगर नगरपालिका-३ मा कित्ता नं. १८६१ र ०-०-८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो ।
नेकपा माओवादी केन्द्रबाट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका विष्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्ने कानुनी व्यवस्था छ ।