७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी : दलहरु चुनाव केन्द्रित अभियानमा

काठमाण्डाै । स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ ।

यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा भएको कार्यक्रममा सहभागी भइरहनुभएको छ । केही दिनभित्रै औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु हुने एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि गाउँठाउँमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि ठाउँठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ ।

छिटै चुनावी रणनीति बनाएर अघि बढ्ने एकीकृत समाजवादीले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले पनि औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु गर्ने तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको कुरा भइरहे पनि निर्णय भइसकेको छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसमा यसबारे मतभेद छ । एकथरी नेताहरु केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुनुपर्ने पक्षमा छन् भने अर्काथरी नेताहरुले स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्ने बताउँदै आएका छन् ।

चुनावमा कसैसँग तालमेल नगरि एक्लै जानुपर्ने आवाज पनि कांग्रेसभित्र बलियो छ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ७९ दललाई मात्र स्थानीय तह चुनावका लागि मान्यता दिएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?