बुटवल । रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उहाँका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् । घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ । मोटरसाइकलका चालक फरार छन् । मोटरसाइकलको नम्बर समेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।