मन मिले सम्बन्ध, नमिले बलात्कार

मन मिले सम्बन्ध, नमिले बलात्कार

यौन अराजकताको अन्तिम रूप समाजको दुर्घटना हो। यो बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुँदै जानु हो।

यौन सृष्टिको सर्वोत्कृष्ट रचना हो। यौन छ तसर्थ सृष्टिकर्तालाई भ्याइनभ्याइ गर्नु परेको छैन। यिनै जीवन, यौन आनन्द र यौन प्रसंग प्रायः सबैलाई रमाइलो नै लाग्छ। सृष्टिको अनुपम वरदान यौनजन्य क्रियाकलाप जति सुन्दर र आकर्षक छ जति नै सुमधुर पनि छ। अनि त्यति नै विकराल, विकृत र बदनाम पनि। सामाजिक जीवनमा जसरी अनुशासनको महत्त्व र गरिमा हुन्छ, त्यस्तै यौनमा पनि अनुशासन, मर्यादा र जिम्मेवारी रहन्छ। यौन आनन्द मात्र होइन, यौन जीवन पनि हो। यौन कला पनि हो। यौन सबैभन्दा ठुलो यसको व्यवस्थापन र जिम्मेवारी पनि हो। अत्यन्तै सुन्दर चिज जब अव्यवस्थित, अमर्यादित र कानुनको खिलाफमा पुगिदिन्छ तब यसमा कुरूपता, विकराल र भयानक परिस्थिति उत्पन्न हुनजान्छ।

संसारमा धेरै ठुला कहलिएका मान्छेहरू यौनको मामलामा चुकेका छन्। यौनलाई अश्लील हर्कत बनाएका छन्। सुन्दर हराभरा र आकर्षक देखिने मान, सम्मान, इज्जत, प्रतिष्ठा पलभरमै खरानी पारेका छन्। जीवनका लागि यौन अपरिहार्य छ तर व्यवस्थित मर्यादित। मर्यादाहीन यौनले जीवन र जगत्कै बदनाम गर्छ। व्यक्तिको व्यक्तित्व नरक वासयोग्य बनाइदिन्छ, अव्यवस्थित यौन र अवैधानिक यौनले यौन रहस्यमय छ। जब यसको रहस्य अप्राकृतिक रूपमा बाहिरिन्छ तब यसले नकारात्मक रौनकको नकारात्मक परिणतितिर उन्मुख गराउँछ। संसारभर बढी खोजिने, चर्चा र बदनाम दिने र लुकाइने विषय र मामला हो, यौन। जति बदनाम, जति वर्जित, जति रहस्यमय भए पनि यो सृष्टिको अभिन्न पाटो हो।

विकृतिरहित वस्तु पात्र र चिजबिज संसारमै केही नहोला। त्यसैले यौन पनि विकृतिरहित छैन। यौन पृथ्वीमा व्यापार बनेको पहिलो पेशाको रूपमा पनि परिभाषित छ। यद्दपि यसको व्यापार व्यवसायलाई संसारकै नीच पेशाको रूपमा बुझिन्छ। यौन व्यापारीलाई अत्यन्तै खराब दृष्टिले हेरिन्छ। केही देशले यौनशालाको लाइसेन्स दिएर यसलाई व्यवसायको हैसियत प्रदान गरेको पनि पाइन्छ। रमाइलो त के छ भने यसमा महिला र पुरुषको समान सहभागिता रहन्छ। बिक्रेता महिलालाई मान्ने र क्रेता पुरुष हुने परिपाटीका कारण नारीको मात्रै इज्जतमा धावा बोलिन्छ। पुरुषसत्ताले निर्माण गरेको भाष्य चरित्रको व्याख्या गर्ने मामलामा नारी र पुरुषमा विभेदी छ।

यौन सृष्टि धान्ने चक्र हो तर यसलाई शोषण वा बलात्कार गरेका कारण मानव सभ्यता क्रुर र घीनलाग्दो बन्दैछ। यौन सदुपयोग हुनुपर्नेमा दुरुपयोग र दुर्भाग्य हुँदैछ।

समान र उस्तै एकै खाले कार्यवापत पुरुष बदनाम नहुने तर महिलाको चरित्र र योग्यता प्रश्नीय बन्ने हाम्रो सामाजिक सोचको बनावटमा खोट देखिन्छ। गलत भए दुवै बराबरी सही भए विभेद किन ? चरित्रहीन बन्न स्त्री पुरुष दुवै एकअर्काका पूरक हुन्। एकअर्काको अभावमा कोही यौनदूराचारी र चरित्रहीन हुँदैनन्। तसर्थ चरित्रमा लाग्ने दाग र कानुनले दिने सजाय दुवैलाई बराबरी हुनुपर्छ। पुरुष दुराचारी मात्रै र महिला चरित्रहीन मात्रै भन्ने र भनिने सामाजिक चेतमा परिवर्तन आउनु पर्छ। समान अपराधका लागि असमान दण्ड किन ?

विगतमा ठुलाठुला तपस्वी, ज्ञानी, ध्याता, ऋषि, महर्षिहरू राजा महाराजाहरूको तपस्या ध्यान भंग गर्न परि, अप्सरा, तिलोत्तमा आदिको प्रयोग गरिन्थ्यो। सांसारिक मोहजाल र माया भ्रम भन्दै घर व्यवहार यौनजीवन सबै त्यागेकाहरूलाई उसको सत् जाँच्ने विधिको रूपमा रंगीविरंगी अप्सराहरू खटिने गर्थे। त्यागी तपस्वीको ध्यान भंग गराउन अनेकन हाउभाउ गर्थे कति विचलित हुन्थे कति सत्मा अडिग रहन्थे। जो विचलित बन्न पुग्थे तिनीहरू पुनः घरगृहस्थ गरेर सामान्य जीवनमा फर्कन्थे। जो तपस्यामा लीन हुन्थे तिनीहरू महातपस्वी ज्ञानी, ध्याता, ऋषि, महर्षि बन्थे। बेग्लै इज्जत र मान प्रतिष्ठा आर्जन गर्थे। आज पनि ज्ञान, ध्यान, धर्म, योग भनेर विभिन्न धर्म र सम्प्रदायका मानिस मठ, मन्दिर, गुम्बा र मस्जिदमा छन्।

यौन जीवन त्यागेर सन्यास ग्रहण गरेका हुन्छन् तर हिजो अप्सरा र मेनकाहरू प्रयोग हुन्थे। आज भक्त भक्तिनीको रूपमा नरनारी विभिन्न आश्रममा पुग्छन्। ज्ञानी र ध्यानीको संकल्प र अठोटमा आक्रमण गरेर गुप्त कर्मको पार्टनर बन्छन्। कतिपय अवस्थामा लामो समयसम्म ज्ञानी सन्यासीको यौन भोक शान्त पार्छन्। सन्यास लिनेहरू स्त्री र स्त्रीको संसर्गबाट टाढा रहने आफ्नो धर्म च्युत गरेर स्त्रीलम्पट भएर निस्कन्छन्। अनि नाजायज तर सहमतिमा यौनजन्य क्रियाकलाप गर्छन्। विभिन्न धार्मिक, सामाजिक अखडामा अवैध यौनजन्य क्रियाकलापमा संलग्न बन्छन्। जब सम्बन्धमा दरार पैदा हुन्छ तब पूर्वसहमति, पूर्वमित्रता शत्रुतामा बदलिन्छ। तब समझदारीको सेक्स बलात्कारमा परिणत हुनपुग्छ।

त्यसपछि गुरुचेला पीडक र पीडितको अवस्थामा पुग्छन्। विगतदेखि अवैध सेक्ससम्बन्ध राख्नेहरू एकाएक बलात्कार गरेको आरोपसहित सार्वजनिक बन्छन्। र, अचानक व्यक्तिको सार्वजनिक छवि ध्वस्त हुन्छ। दुई वर्षअघि कृष्णबहादुर महरा जो सभामुख पदमा विराजमान थिए। तब यस्तै बलात्कारको अभियोगमा पद र प्रतिष्ठा गुमाए। जेलको चिसो छिडीमा पुगे। यहाँ प्रश्न उठ्छ, वर्षौंको अन्तरंग सम्बन्ध एकाएक बलात्कारमा परिणत कसरी भयो ? बलात्कार आफैंमा जघन्य पशुवत व्यवहार हो। वर्षौं सम्बन्धमा रहेका मान्छे अकस्मात बलात्कारको अभियोगमा पर्छन् भने गम्भीर भएर नसोच्ने ?

अवैध सम्बन्ध किन बलात्कार भएर प्रकट हुन्छ ? कुन स्वार्थको गोटी बन्न पुग्छन् महिलाहरू ? बलात्कार भनेर किन अनेकन कुराको बार्गेनिङ हुन्छ ? सहमतिको सम्बन्ध कसरी यौन शोषण र बलात्कार बन्छ ? किन ‘हनी ट्रयाप’ बन्न आफ्नो चरित्र र सामाजिक प्रतिष्ठा दाउमा चढाउन राजीखुसी बन्छन् ? बलात्कार भएका छन्, यौन शोषण भएका छन्। शिक्षकले नाबालिका छात्रालाई बलात्कार गरेका यौनजन्य दुव्र्यवहार गरेको र १८ महिने बालिकासमेत बलात्कृत भएर हत्यासमेत भएको हालसालैका उदाहरण छन्। यौन सम्बन्ध रहेका छन्। तर, मनमुटाव भएपछि मात्रै बलात्कार हुने, यौन शोषण हुने घटना र अवस्थाको गम्भीर समीक्षा नगरी हुँदैन।

अवैध सेक्स सहमतिमै भए पनि कानुनले बन्देज गरेको छ। दण्डनीय अपराध मानेको छ। सेक्सका लागि शारीरिक मात्र होइन, मानसिक परिपक्वता पनि आवश्यक हुन्छ। जुन कुरालाई थुप्रै दुर्घटनाले पुष्टि गरेको छ। परस्परको सहमतिमा लामो समयसम्म चलेको उमेर पुगेका मान्छेहरूको सेक्स सम्बन्ध अचानक बाहिर आउनु अनि बलात्कारकै अभियोगमा पुग्नुलाई के भन्ने ? यसमा चाहिँ यसको गाम्भीर्यता र प्रकृतिअनुसार अलि फरक ढंगले विश्लेषण गरेर कानुन बन्न सकेन। आरोपकै आधारमा पनि धेरैको सामाजिक जीवन चौपट बनेका छन्। धार्मिक आस्था खण्डित हुन्छ, पारिवारिक जीवन चकनाचुर हुन्छ।

राजीखुसी साथ वयस्क जोडीले निरन्तर गर्ने यौन संसर्ग अकस्मात असमझदारी बढ्ने बित्तिकै शोषण भनेर परिभाषित गर्नु बेठिक हो। यसबारे पनि व्यापक विमर्श हुनु जरुरी छ।

बार्गेनिङ नमिल्दा लाउने आरोपलाई दुरुत्साहन गर्ने कानुन कडा हुनुपर्छ। समाजमा विभिन्न आवरणको पर्दाभित्र सेक्स खरिद–बिक्रीदेखि सेक्स सम्बन्ध, सेक्स शोषण अनि बलात्कार सबै घटना भएका छन् र हुन्छन्। आदि–अनादि कालदेखि सेक्स सम्बन्धमा विकृति छ। सबै यौन सम्बन्ध बलात्कार हुँदैनन् तर जुनसुकै प्रकारको सेक्स सम्बन्धलाई बलात्कार र शोषण भनेर बुझाउने त्यस्तै उजुरबाजुर गर्ने संस्कार सुरु भएको छ। यो डरलाग्दो सामाजिक रोग र प्रकोप बन्दैछ। सबैजसो सेक्स सम्बन्ध दरारमा पुग्दा बलात्कार भनिने घटनाको कारण वास्तविक बलात्कारका घटना, अपराध सामान्यीकरण हँुदैछ। यसको प्रत्यक्ष मार वास्तविक पीडितलाई पर्न सक्छ। अतः बलात्कार जस्तो पशुवत र निर्मम घटनाको सामान्यीकरण रोकौं।

बलात् र हठात् जे गरिन्छ, त्यो बलात्कार हो। अतिशयोक्तिपूर्ण हेराइसमेत बर्जित मानिएको छ। जबर्जस्ती करणी कानुनको नजरमा क्षम्य हुनै सक्तैन। विभिन्न डर, धाक, लोभ,  प्रलोभनमा यौन शोषण भएका छन्। जसलाई बाहिर ल्याउन समय लाग्छ। मौका पर्खनु पर्छ तर बलात्कारको घटना जहिले गरे पनि पहिलो नै हुन्छ। त्यसैले यसको कानुनी उपचार तुरुन्त र समयमै गर्न प्रोत्साहित गर्नुपर्छ। सहमतिका सम्बन्धहरू बलात्कारको आवरणमा प्रकट भएका धेरै उदाहरण सुन्न र देख्न पाइएका छन्। जुन निन्दनीय र लज्जास्पद छन्। धर्म–संस्कृतिका नाममा पनि विभिन्न साधुसन्तहरू, सन्यासी र योगीहरू, पीठाधीश र मठाधीशहरू बारम्बार चर्चा र विवादमा आइरहन्छन्। बलात्कारको प्रयास अनि बलात्कारको अभियोगमा विश्वभर नै पर्ने गरेका छन्।

भारतमा आशाराम बापू, रामरहीम लगायतका सन्तहरू धर्मको आडमा बलात्कार गर्ने ढोंगी र पाखण्डी भएर निस्केका ताजा उदाहरण हुन्। यसैगरी नेपालमा पनि बलात्कार र यौन शोषणको आरोपमा सन्तदेखि गुम्बामा बस्ने भिक्षु अनि लामाहरू पनि आरोपित छन्। कति प्रमाणित भएर दण्ड भोग्दैछन् भने कतिको छानबिन हँुदैछ। कति पक्राउ पर्न सकेका छैनन्। धार्मिक समूह, सम्प्रदाय र आस्थाका कारण पनि यिनीहरू ज्यादती गरेर सत्ता र शक्तिको आडमा बलिया छन्। एक महिलाको उजुरीका आधारमा एक शक्तिशाली सन्त कृष्णदास महाराज पक्राउ परे। उनको केश अदालत पुग्यो र अदालतले भक्तिनीले शरीर समर्पण गरेर सहमतिमै यौन आनन्द लिएको फैसला गरेर बलात्कार होइन भन्यो। दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामा यौनदासी बनाएर बलात्कार गरेको आरोप प्रमाणित भएर अहिले जेलमा छन्।

आफूलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बम्जन बलात्कार र हत्याको गम्भीर आरोपमा छन्। तर, यिनी शक्तिको बलमा पक्राऊ पर्न नसक्ने आजसम्मका सबैभन्दा बलिया धर्मगुरु बनेका छन्। हिजो आज मात्रै एक फिल्मी कलाकार र अर्की गायिकाको बलात्कार प्रकरण चर्चामा छ। बलात्कार विवाहमा परिणत गरेपछि क्षम्य हुने र धन दौलतमा कुरा मिलेपछि ठिक हुने बनाउने गरिन्छ। कानुनबाट तर्कन सजिलो हुने जुन सोच देखिन्छ, त्यो बदल्नु पर्छ। प्रस्तुत उदाहरणले के देखाउँछ भने यौन सबै धर्म, सम्प्रदाय, राजनीति, कला सबैतिर व्यवस्थापन गर्न नसकेका कारण बदनाम छ। यौन व्यवस्थापन असाध्यै जटिल र बृहत भएकाले धेरै मान्छे ठुलो पद, ओहोदा र व्यक्तित्वहरू विचलनमा परेका देखिन्छन्। यौन व्यवस्थापन सबैभन्दा असल र भरपर्दो माध्यम विवाह हो। आजकल मान्छेहरू भने विवाहइतर सम्बन्ध राखेर पनि यौनको भोक प्यास मेटाउँछन्। यौन सम्बन्ध बनाउँछन्।

यौन अराजकताको अन्तिम रूप समाजको दुर्घटना हो। यो बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुँदै जानु हो।

साधना तपस्याबाट यौन आकांक्षालाई निर्मम तवरले दबाएर पनि यौनलाई व्यवस्थापन गर्न केही मान्छे सफल छन्। अधिकांस मान्छे यौन विचलनमा पुग्छन्। फलतः साधुसन्तहरू विवाह गर्न पुग्छन् त कति यौन शोषण र बलात्कारको फन्दामा जाकिन पुग्छन्। यौनलाई बर्जित होइन, व्यवस्थित र मर्यादित बनाउनु पर्ने आवश्यकता मानव सभ्यता रहुन्जेल परिरहन्छ। लिभिङ टुगेदर पनि एक प्रकारको यौन व्यवस्थापनको माध्यम हो।

यसलाई पनि कानुन बनाएर व्यवस्थित गर्ने नीतिबारे संसद्मा बहस सुरु भएको छ। आजभोलि लिभिङ टुगेदर मात्र होइन, वैवाहिक बलात्कारको समस्यासमेत देखिएकाले यसलाई पनि कानुनले कसेको छ। विवाह बलात्कारको लाइसेन्स होइन।

वैवाहिक बलात्कारको आरोप र अरू बलात्कारको आरोपलाई एकै डालोमा हाल्नु न्यायसंगत हुँदैन। वैवाहिक जोडीको असहमतिमा भएको यौनजन्य क्रियाकलापलाई शारीरिक हिंसाको कोटिमा राख्नु मनासिब हुन्छ। लामो समयसम्म वयस्क जोडीको आपसी सहमतिको यौन सम्बन्ध यौन शोषण कसरी हुन्छ ? डर, धाक, धम्की, आश्वासन, यातना र करकापमा गरिने यौन शोषण हो। महिलाको संवेदनशीलता बुझ्नु त्यति नै आवश्यक छ जति आफ्नो प्रतिष्ठा ? कोही पनि नारीलाई उसै चरित्रहीन हुन मन लाग्दैन र त्यसै आरोप पनि लगाउँदैनन् होला कि ?

राजीखुसी साथ वयस्क जोडीले निरन्तर गर्ने यौन संसर्ग अकस्मात असमझदारी बढ्ने बित्तिकै शोषण भनेर परिभाषित गर्नु बेठिक हो। यसबारे पनि व्यापक विमर्श हुनु जरुरी छ। यौन आनन्द हो। यौन सृष्टि धान्ने चक्र हो तर यसलाई शोषण वा बलात्कार गरेका कारण मानव सभ्यता क्रुर र घीनलाग्दो बन्दैछ। यौन सदुपयोग हुनुपर्ने दुरुपयोग र दुर्भाग्य हुँदैछ। वैध यौन, अवैध यौन, यौन शोषण र बलात्कार आदि यौनकै रूप हुन्। तर, यौनको दुरुपयोग, यौन सम्बन्धको व्यापार र कानुनी बन्दोबस्तीमा गम्भीर बहस र निचोड आवश्यक छ।

अन्यथा, यौनमामला स्वाभाविक बन्न छोडेर अस्वाभाविक, उत्ताउलो, अमर्यादित, व्यापार, अभिशाप र निरन्तर अपराध हुने बाटोमा पुग्ने क्रम अझ बढ्ने छ। हाम्रा सामाजिक सम्बन्धहरू टुटफुटमा जानेछन्। व्यक्तिको निजी जीवन र सार्वजनिक जीवन नै चौपट हुनेछ। यौन अराजकता बढ्ने छ। यौन अराजकताको अन्तिम रूप समाजको दुर्घटना हो। यो बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुँदै जानु हो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.