गैरआवासीयको गिरेको गरिमा

गैरआवासीयको गिरेको गरिमा

जसै १९८६ मंसिर १० अर्थात् १९२९ डिसेम्बर १४ मा भीमशमशेर जबरा श्री ३ महाराज भए। तब नयाँ रोलक्रममा चढेका राणाहरूमा भीम शमशेरका छोरा पदमशमशेर दकज (दक्षिण कम्यान्डिङ जनरल) भए। छोरालाई दकज दिन लाग्दा उनले ‘ल यो नाथे पनि दकज’ भन्दै गिल्ला गरेर अपत्यारिलो हाँसो गरेका थिए रे (सायद उनलाई छोराको योग्यता राम्रैसँग थाहा थियो होला)।

त्यसपछि चन्द्रशमशेरका छोरा मोहनशमशेरलाई नयाँ पद सिर्जना गरेर अतिरिक्त कम्यान्डिङ जनरल दिएर शक्ति सन्तुलन गर्दै अब पहिला जनरल को हुने ? भनेर सोधेछन्। तब पुकज रुद्रशमशेरले स्वर्गीय श्री ३ वीरशमशेरका छोरा प्रतापशमशेरको नाम लिएछन्। तर, प्रधानसेनापति जुद्धशमशेरले चाकडी बजाउँदै उनै भीमशमशेरका अर्का छोरा हिरण्यशमशेर (सुवर्णशमशेरका बुवा) को पाखुरा समाएछन्। अगाडि लगेर ‘पहिला जनरल हुने त यी हुन्’ भनेर देखाएछन्। तब भीमशमशेरले ‘ल, तँ पनि पहिला जरनल भइस्’ भनेर रोलमा राखेछन्।

कुनै दिन एनआरएनको विश्व सम्मेलनमा यसका नायकहरूले देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि व्यवसायीहरूका अगाडि देशमा सुधारको बारेमा गर्विलो भाषण दिन्थे। तर, अचेल तिनै नेताहरूबाट एनआरएनका तिनै पूर्वनायक अनि अहिलेका नवनायकहरूको शर्मिलो उपदेश सुन्छन्।

अहिले एनआरएनको दसौं विश्व सम्मेलनमा पनि यस्तै त्यस्तै वातावरण छ। जसमा नयाँ नयाँ कम्यान्डिङ जनरलहरू बनेका वा बनाइएका छन्। त्यसका लागि भएका पदमा सोहो मुताविक र नभएका पद उही अतिरिक्त कम्यान्डिङ जनरल थपिए झैं गरी सबैलाई भाग पुर्‍याउने प्रयास गरेको देखिन्छ। फरक यत्ति कि तत्कालीन श्री ३ भीम शमशेरले आफू जस्तै श्री ३ को पद ३ वा ४ वटा चाहिँ बनाएका थिएनन्।
करिब एक वर्षदेखि एनआरएनभित्रको सत्ता सन्तुलनको खेलमा आफू वा आफू अनुकूलका खेलाडीलाई नेतृत्वमा स्थापित गर्न ठूलै खेल भए संख्याको खेल अर्थात् टाउको गन्ने (टाउको भित्र के छ ? भन्ने होइन) खेलबाट नेतृत्वको चयन हुने भयो। यसमा जसरी पनि आफ्ना पक्षमा संख्या पार्ने खेलमा राम्रैसँग पौठेजोरी अनि हिलो छ्यापाछाप भए, देखिए। धेरैजना सबै कुरा छाडेर यसैका लागि लागिरहे। केही केही फिल्डमा खटिएका अनलाइनवालाहरू ‘आफ्ना मान्छेलाई राम्रा र उताका मान्छेलाई चाम्रा’ देखाउने खेलमा राम्रैसँग डटेर लागिरहे। यिनलाई एनआरएनभन्दा पनि आफ्ना ‘हे नारान’हरूको चिन्ता बढी देखिन्थ्यो।
यस्तो तानातानमा एनआरएन मात्र होइन, सत्ता र प्रतिपक्षका खेलाडीहरू पनि संलग्न भएको पाइयो। त्यतिमात्र होइन, अदालतलाई समेत सो खेलको एम्पायर बनाउन खोजियो। अदालतले पनि यताउता नहेरी आफ्नै सुरमा सिठी फुक्न थालिसकेको थियो। अदालतले फुकेको सिठीको कुनै मान नराखी मैदानभित्र रहेका खेलाडी र मैदानबाहिर रहेर निर्देशन दिए। तिनै कोचहरू आफूआफू भागबन्डामा उत्रिएर सहमतिमा खेल टुंग्याउनतिर लागे।

अन्ततः आफैंले फुक्न लगाएको अदालतको सिठीको कुनै माने रहेन। न त सिठी फुक्ने अदालतले आफूले फुकेको सिठीको मान राख्न खोजेको देखियो। बरु सुन्नमा आयो– सो खेललाई भागबन्डामा मिलाउन अहिले राजनीतिको सत्तामा रहेका र प्रतिपक्षमा रहेका नेताहरूले सहजकर्ता (?) को भूमिका निभाए। भनौं, पदहरू थपथाप गरेर सबैलाई पुग्ने गरी भाग मिलाइदिए। आखिर २६–२७ वर्षअगाडि त्रिशंखु संसद् चलाएका अनुभवी नेताहरूले तिनै अनुभवबाट एनआरएनका खेलाडी र ती खेलाडीका म्यानेजरहरूलाई मार्गदर्शन दिए क्यारे ! जुन त्रिशंखु संसद्मा बिनाविभागीयसहित दर्जनौं मन्त्री, राज्यमन्त्री अनि सहायक मन्त्रीको पद सिर्जना गरेर आलोपालो सरकार चलाए झैं गरी एनआरएन पनि चलाउन सिकाए।

जसरी अहिले संघीयताको नाममा कामविहीन मन्त्रीहरूको प्रदेश सरकारहरू आलोपालो चलिचलाइएको छ। सायद यस सूत्रका सर्जकले २०२४ जेठ १५ गते सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा गेहेन्द्रबहादुर राजभण्डारी गृहमन्त्री र नेत्रविक्रम थापासहित ६ गृहसहायकमन्त्री बनाएको इतिहास पढेका थिए। सायद त्यसैको परिणतिबिना अध्ययन टाउको गन्ने खेलमा लागेर ‘कहीँ नभएको जात्रा हाडीगाउँ’मा भएको छ। अर्थात्, ३ अध्यक्ष, ११ उपाध्यक्षसहित ९५ पदाधिकारी गरी दुई सयको हाराहारीमा कार्य समिति बनाएर ‘तैं चुप, मैं चुप’को अवस्था सिर्जना गर्न खोजिएको छ। गज्जब त महासचिवमा दरखास्त दिएका उपमहासचिवमा निर्वाचित भएका छन्।

हिजो परदेशबाट घरदेश जाँदा एनआरएन हुँ भन्दा निकै गर्विलो महसुस हुन्थ्यो। तर, अब त्यही एनआरएन हुँ भन्दा घरदेशकाले ‘कुन एनआरएन ?’ भन्दा जवाफ के दिने होला ?

सचिवमा दरखास्त दिएका पनि उपमहासचिवमा निर्वाचित भएका समाचारसँगै क्षेत्रीय संयोजकमा उम्मेद्वारी दिएका एकजनाले आफूलाई सहकोषाध्यक्षमा निर्वाचित गरियो भन्दै उम्मेदवारी दस्तुर फिर्ता मागे। र, उनले ‘इन्जिनियरका लागि आवेदन दिएको तर लेखापालमा नियुक्ति दिएजस्तो भयो’ भनी रहस्यमय व्यंग्य गरेका छन्। अझ यसअघि नै विश्व सम्मेलन गरेर नयाँ समिति निर्वाचित गरिसकेको समिति त छँदैछ। देखिने गरेर नै दुईवटा चिरा परिसकेको संस्था अनि तीन–तीन वटा अध्यक्ष बनाएर अर्को समितिलाई नै अघोषित रूपमा थप चिराचिरा पारियो। यस्तो देखिँदा एनआरएनलाई अब उठ्न गाह्रो हुने गरी साँच्चै थला पारिएकै छ।
जे होस्, गैरआवासीय नेपालीहरूको संस्थामा ‘गैर’हरूको राजनीति राम्रैसँग घुसेको देख्न पाइयो। हुन त अहिलेको एनआरएनमा देखिएको यी लडाइँ या परिदृश्यहरूमा देखिएका नायकहरू निमित्त नायकहरू मात्रै हुन्। मुख्य नायकहरू त यही संस्थाका पूर्वनायकहरू हुन् भनिन्छ। जो पर्दा पछाडि बसेर संस्था हाँक्न चाहन्थे वा चाहन्छन्। यिनीहरूकै जुँगाको लडाइँमा यी बाच्छाहरू उफ्रिएका हुन् भनिन्छ। केही वर्षसम्म आसलाग्दो गरी चलेको एनआरएन, जसबाट गैरआवासीय नेपालीले मात्र होइन। आवासीय नेपालीले पनि केही आशा राखेका थिए, जुन संस्थामा विस्तारै आफूले भनेको सुन्ने वा मान्ने मान्छेहरूको बोलवाला रहोस् भन्ने सोचमा पूर्वनायकहरू सल्बलाउन थालेपछि यस संस्थाको हविगत यस्तो हँुदै जान थालेको हो भनिन्छ।

कुनै दिन एनआरएनको विश्व सम्मेलनमा यसका नायकहरूले देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि व्यवसायीहरूका अगाडि देशमा सुधारको बारेमा गर्विलो भाषण दिन्थे। तर, अचेल तिनै नेताहरूबाट एनआरएनका तिनै पूर्वनायक अनि अहिलेका नवनायकहरूको शर्मिलो उपदेश सुन्छन्। कुनै दिन यस संस्थाको नेतृत्वमा रहनु मात्र होइन कि यस संस्थामा आबद्ध हुनुमा पनि एउटा गौरव महसुस हुन्थ्यो।
सन् २००९ अक्टोबरमा सोल्टी होटेलमा भएको चौथो विश्व सम्मेलनको त्यस क्षण सम्झन्छु। जब एसिया प्यासिफिक क्षेत्रको तर्फबाट त्यस क्षेत्रका संयोजक गणेश इजमले मेरो नाम निर्वाचन समितिका लागि प्रस्तावित गरे। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली थिए। म एसिया प्यासिफिक क्षेत्रको नभई एनआरएन यूकेको सदस्य भएको नाताले मेरो प्रतिनिधित्वको बारेमा प्रश्न उठ्यो। संयोजक मैनालीले जुन क्षेत्रको भए पनि उहाँलाई निर्वाचन समितिमा राख्नु पाए हुने भन्ने भावमा कुरा राखे। तत्कालीन अध्यक्ष डा. उपेन्द्र महतोले विधानको भाव देखाएर त्यस भेगकै राख्नु ठिक होला भनी अनुरोध गरे। सबैले विधानप्रति सम्मान देखाएर त्यस भेगकै प्रतिनिधित्व खोजिएको थियो।

विधानको एउटा अदव भएको त्यसबखत महतोको नेतृत्वमा उपाध्यक्षहरू देवमान हिराचन, रामप्रताप थापा अनि महासचिवमा भीम उदास थिए। जसको सदस्यमा जीवा लामिछानेहरू थिए। उस बखत विधानको परिधिमा सदस्यहरू चलेका देखिन्थे। तर अचेल केही सदस्यहरूको प्रवृत्तिमा विधान च्यातिन थालेको देखिन्छ। ‘जब संस्थाको परिधि नाघ्न खोज्ने सदस्यहरूको कान विधानले समात्न सक्छ, तबसम्म त्यो संस्था सुरक्षित रहन्छ, तर जब संस्थाका केही सदस्यहरूको स्वार्थका लागि संस्थाको विधानले आफ्नो कान आफैं समात्न थाल्छ’ तब त्यो संस्था आफ्नाबाट आफैं असुरक्षित महसुस गर्न थाल्छ। अहिलेको विश्व सम्मेलन र त्यसको पृष्ठभूमिले त्यही कुराको संकेत गरिरहे झैं लाग्छ।

जबजब एनआरएनमा एनसीसीको प्रतिनिधित्वदेखि नै बहसहरू चलिरहेका थिए। गर्मागर्मी वातावरणमा सुनिन थालेका थिए, ‘पदको लागि होइन, पद्धति’ का लागि लडाइँ। सुन्दा हो जस्तै लाग्ने, यी पद्धतिका लडाइँ भ्लादिमिर पुटिनको सनकमा युक्रेन ध्वस्त हुँदै गएजसरी पदको मिसाइलले ध्वस्त हुने गरी उडाइएझैं देखिए। पद्धति भए पद पाइन्छ भन्ने ठाउँमा अब पद पाएपछि पद्धति किन चाहियो ? भने झैं देखियो।

जे होस्, सुरुका वर्षहरूमा आशा जगाएको एनआरएन अभियान अहिलेको पूर्वनायकहरूको जुँगाको लडाइँ (?) अनि नवनायक (?) हरूको पदीय स्वार्थको लडाइँको चेपुवामा परे। अब हिजो जसरी उठ्न र हिँड्न नसक्ने गरी थला परे वा पारिएझैं देखिएको छ। यसरी आफ्नैले आफ्नैसँग भिडेर अनि मिलेर विधि र विधानमाथि टेकेर थिलथिलो हुने गरी थला पारेको एनआरएन अब कसरी अगाडि बढ्न सक्ला ? यसको प्रश्न अब त कोसँग होला र ? अरू त अरू आफ्नो र आफ्नाका लागि एनआरएनलाई थला पर्ने प्रपञ्चमा सामेल अगुवा अनि पछुवाहरूसँग पनि सायद यसका जवाफ नहोलान्। एउटा दुःख लाग्ने कुरा हिजो परदेशबाट घरदेश जाँदा एनआरएन हुँ भन्दा निकै गर्विलो महसुस हुन्थ्यो। तर, अब त्यही एनआरएन हुँ भन्दा घरदेशकाले ‘कुन एनआरएन ?’ भन्ने प्रश्न सोध्दा हुन्। त्यतिखेर जवाफ के दिने होला ? त्यसबखत हिजो गर्विलो हुने अनुहार अब त शर्मिलो हुँदो हो नि ?

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.