काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले महानगर र उपमहानगरका मेयर र उपमेयरको सिट बाँडफाँटको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो।
बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँट गरेर वैशाख ५ गतेभित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ।
वैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिश गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको वडाध्यक्ष र सदस्यको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय पनि गरेको छ। सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँटको संयोजन भने सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए।
सिट बाँडफाँटको आधार भने ०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई मुख्य मान्ने सहमति भएको छ। ०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने निर्णय गरेको हो र संयन्त्रले गठबन्धनमा रहेका दलबीच मात्र चुनावी तालमेल गर्न पाउने निर्णयसमेत गरेको छ।