बार्सिलोनालाई स्तब्ध पार्दै फ्रयान्कफर्ट सेमिफाइनलमा

जर्मन क्लब एनट्रय्याच्ट फ्रयान्कफर्ट युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ। बिहिबार राति भएको युरोपा लिगको दोस्रो लेगमा फ्रयान्कफर्टले स्पेनिस जाइन्ट बार्सिलोनालाई ३-२ ले स्तब्ध पार्दै समग्रमा ४-३ गोल अन्तरले विजयी रहँदै अन्तिम चारमा स्थान बनायो।
बार्सिलोनाको घरेलु मैदान नउक्याम्पमा घरेलु समर्थकलाई स्तब्ध पार्ने क्रममा फ्रयान्कफर्डले सुरुवातबाटै गोल गर्यो। यसअघि पहिलो लेगमा १-१ गोलको बराबरी खेलेका दुबै टीमका लागि दोस्रो लेगमा जित्नै पर्ने दबाब रहेको थियो।
खेलमा फ्र्यान्क फर्टले लगातार ३ गोलको अग्रता बनाउँदै बार्सिलोनालाई स्तब्धपुर्ण अवस्थामा पुर्याएको थियो। तर इन्जुरी समयमा बार्सिलोनाले नाटकीय पुनरागमनको प्रयास गरेपनि २ गोल मात्र गर्यो।
फ्रयान्कफर्डका लागि फ्लिप कोस्टीकले चौंथो मिनेटमानै पेनल्टीमार्फत गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। राफेल बोरेले ३६ मिनेटमा टीमको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको फ्रयान्कफोर्टका लागि ६७ औं मिनेटमा कोस्टीकलेनै ब्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरे।
इन्जुरी समयमा बार्सीलोनाले खेलमा फर्कने प्रयास गर्यो। सर्जियो बुस्केटले इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल गर्दा मेम्फिस डिपेयले इन्जुरी समयको ११औं मिनेटमा पेनल्टीमार्फत दोस्रो गोल गरेपनि टीमका हार टार्न भने सकेनन्। इन्जुरी समयको अन्तिम समयमा फ्रयान्कफर्ट १० खेलाडीमा सिमित भएको थियो। दोहोरो पंहेलो कार्डका कारण इभान डिकाले मैदान छाड्नु परेको थियो।
बुन्डेस लिगाको ९ औं नम्बरमा रहेको फ्रयान्कफर्टले भ्रमणमा रहेका आफ्ना करिब ३० हजार समर्थकलाई खुशी दिन सफल रह्यो।