‘नीति’ हराएको ‘राजनीति’

‘नीति’ हराएको ‘राजनीति’

भाष्य
मानव समाजको इतिहास उसै पनि स्वार्थहरूको गठजोडमा पाइन लगाउने यत्नहरूद्वारा अभिप्रेरित इतिहास हो । आजसम्मको मानव समाजको इतिहासमा मानव जातिले जे–जे क्रियाहरूमा आफूलाई समर्पित गर्‍यो, ती सबै आफ्नो स्वार्थमा साँध लगाउनका लागि गर्‍यो । उसै पनि मानिस मौजुद वनस्पति र जीव–जनावरमध्ये सबैभन्दा स्वार्थी जीव हो भन्ने तथ्य कम से कम आधुनिक मानवको सवा तीन लाख वर्षभन्दा लामो पदचापको इतिहासले आलोकित गरेको छ ।

‘राजनीति’ मानव समाजले त्यही सामूहिक स्वार्थको व्यवस्थापन गर्ने आवश्यकताको सिलसिलामा निर्माण गरेको वैचारिक संस्था हो । मौजुद सामाजिक अन्तरविरोधहरूलाई व्यवस्थापन र मार्गनिर्देशन गर्ने आवश्यकताको उत्कर्षमा राजनीतिक संरचनाको प्रादुर्भाव भएको थियो । मानव हित, सामाजिक हित र राष्ट्रहितको शीर्षकले लपेटेर यसलाई आकर्षक र सार्वभौम बनाउन खोजिए पनि निश्चित विचार, दर्शन र कार्ययोजनाभित्र समाजलाई लपेट्ने र दपेट्ने चालबाजी भने मुखर भइरहेकै हुन्छ ।

यति हुँदाहुँदै पनि यसले निश्चित वैचारिक, दार्शनिक, नैतिक, सार्वजनिक सीमारेखाभित्र आफूलाई अनुबन्धित गरिराखेको हुन्छ । आफू अभिप्रेरित दार्शनिकी, वैचारिकीको मार्ग फराकिलो पार्न र त्यसका आधारमा सामाजिक व्यवस्थालाई बदल्न र व्यवस्थापन गर्न आफ्ना सामर्थ्यहरूको उच्चतम परिचालनको सीमाभित्र राजनीति चलायमान भइरहेको हुन्छ ।

यात्रा

आफ्नो अस्तित्वको यात्रालाई अघि बढाउने क्रममा आधुनिक मानव (होमो स्यापियन्स) ले आफ्नो आवश्यकता, स्वार्थ र महत्त्वाकांक्षामा धार लगाउन नियन्डरथल, डेनिसोवन, होमो इरेक्टस, हबिट्सजस्ता अन्य मानव प्रजातिमाथि आफ्नो प्रभुत्व लाद्ने काम गरेको (प्राक्)मानवशास्त्रीय अध्येताहरूले उल्लेख गर्ने गरेको पाइन्छ ।

त्यस चरणबाट अघि बढेर पशुपालन र कृषि युगको आरम्भताका सम्म आइपुग्दा मानव समाज भिन्न–भिन्न चेतना, व्यवहार, आवश्यकता, स्वार्थ र महत्त्वाकांक्षाहरूको पुञ्ज बनिसकेको थियो । जब आधुनिक मानव समूह तुलनात्मक तवरले स्थायी रूपमा बसोबासको अभ्यासमा अग्रसर भयो, त्यसले जनसंख्यामा अकल्पनीय वृद्धि गरायो । त्योसँगै मानिसका आपसी सम्बन्ध, आर्थिक परिचालनको परिपाटीमा पनि व्यापक परिवर्तन पैदा हुन गयो । फिरन्ते समूह एकीकृत र स्थायी समाजको हिस्सा बन्न गयो । स्थायी समाजका आवश्यकता र प्राथमिकताहरू बदलिए । योसँगै समाजमा आपसी अन्तरविरोधहरू पैदा हुन गए जसले मानव समाजको इतिहासमा वर्गीय विचलन र शोषणको अत्यासलाग्दो नीलडामको चित्र कोरिदिए ।

त्यस्तो चित्र जसमा हामी आपसी संघर्ष र खिचातानीको उत्कर्षमा मञ्चित भयावह युद्धका अत्यासलाग्दा रक्तभेलहरू र अस्थि–थुप्रोहरूको विवरण अवलोकन गर्न पाउँछौं । ती युद्धहरू कहिले धर्मका नाममा, कहिले सम्पत्तिका नाममा, कहिले भूगोलका नाममा, कहिले शान्तिका नाममा, कहिले शासन त कहिले शासकका नाममा आयोजना भए । मानव जातिको इतिहासमा सबैभन्दा धेरै मानिस अतिवादविरुद्ध ‘शान्ति’ स्थापना गर्ने शीर्षकमा लादिएका अनेकन् युद्धका कारण मारिएका छन् । जीवहरूको इतिहासमा मानिसद्वारा जति मानिसहरू मारिएका छन्, त्यति संख्यामा कुनै पनि जनावरले आफ्नै समूहको कत्लेआम गरेको छैन भनेर गरिने व्याख्या यस सन्दर्भमा उद्धृत गर्नु उचितै छ । आफ्नो स्वार्थलाई आकार दिने क्रममा मानिसले आफूलाई यति हिंस्रक र मतलबी जीवका रूपमा परिचित गराएको छ, हजारौं वर्षको त्यो अभ्यासका कारण जंगलको सबैभन्दा हिंस्रक र डरलाग्दो मानिने बाघजस्तो जनावर पनि मानिस देखेपछि भाग्ने गर्छ । भाग्ने र ज्यान जोगाउने उपाय नभए मात्रै मानिसमाथि बाघले आक्रमण गर्छ, सामान्यतया ।

सामाजिक अन्तरविरोधमा आफूलाई विजयी गराउने महत्त्वाकांक्षाको घोडामा सवार भएर मानिसले आफूलाई हद दर्जाको हिंस्रक जीवका रूपमा परिचित गराएको छ, इतिहासमा । यद्यपि यसले सबैभन्दा चेतनशील जीवका रूपमा आफैंले आफैंलाई परिभाषित गर्ने आत्मश्लाघाको सिरक पनि ओढिबस्ने गरेकै छ । यही श्लाघाको व्यवस्थापन, समयक्रममा वृद्धि हुँदै गएका सामाजिक असन्तोषहरूले पैदा गरेको अन्तरविरोध र त्यसको उत्कर्षमा घटित आफैंभित्रका अनगिन्ती जंगली युद्धको सिलसिलाबाट समाजको अनियन्त्रित संघर्षलाई एकीकृत गर्न र अनियन्त्रित अन्तरविरोधलाई व्यवस्थापन गर्न निश्चित वैचारिकीको शीर्षकभित्र मानव समाजलाई समाहित गर्ने प्रयासले आकार लिएको पाइन्छ जसले कालान्तरमा राजनीतिक संस्थाको स्वरूप ग्रहण गर्न गयो । यसले मुख्यतः आफ्नो यात्रारम्भ भएदेखि नै वर्गीय दर्शन र चिन्तनको पक्षपोषण गर्ने आवरण पहिरिइरहेको पाइन्छ ।

यो उतारचढावका बीच मानिस जतिसुकै स्वार्थी, मतलबी भए पनि आफ्नै खाले सांस्कृतिक, परम्परागत, वर्गीय स्वार्थहरूको एकत्व भएको समाजको व्यवस्थापन र परिचालनका लागि भने उसले निश्चित सीमा तय गरेको पाइन्छ । यसो गर्नुको कारण पनि छ । उस्तै सामाजिक, सांस्कृतिक र ऐतिहासिक निरन्तरता, पृष्ठभूमि र स्वार्थहरूको गठजोडमा निर्मित समाजमा एकआपसका स्वार्थहरूमाथि निर्णायक धक्का नपुगोस् भन्ने समझदारी । यही समझदारीको आलोकमा तय भएको हुन्छ समाज व्यवस्था सञ्चालन गर्ने नीति । परिवार, सम्पत्ति र समाजले संगठित स्वरूप ग्रहण गर्दै जाने क्रममा विकसित भएको समाज व्यवस्था सञ्चालनको नीति । यो कहिले कबिला नीतिका रूपमा त कहिले धार्मिक नीतिका रूपमा क्रियाशील भएको पाइन्छ । कहिले सांस्कृतिक तवरले त कहिले भौगोलिक तवरले पनि यसले आफ्नो अस्तित्वलाई सिञ्चन गरिरहेको पाइन्छ । कालान्तरमा सामाजिक संगठनले राष्ट्र, राज्य र देशको स्वरूप ग्रहण गरेपछि यस्ता नीतिहरूले राजनीतिका रूपमा परिचय सघन बनाउन पुगेको पाइन्छ ।

त्यसको पृष्ठभूमिमा मानव समाजले आफ्नो अविरल यात्रामा अनेकन् सामाजिक संस्थाहरूको भाष्य आफूमाथि आरोपण गरेको पाइन्छ । मानव समाजको बितेका झन्डै आठ हजार वर्षको इतिहासमा समाजमा विभिन्न संस्थाको, संगठनको निर्माण भएको छ । धार्मिक संस्था, पुरुषप्रधान सामाजिक चेतना र संरचना, रंगभेदी नस्लीय सामाजिक व्यवस्था, जात व्यवस्था, सांस्कृतिक संस्था, फौजी संगठन, लेखन पद्धति, वैचारिक संस्थाहरूको संकथन गरेको छ आफ्नो समाजको बदलिँदो आर्थिक–सामाजिक अन्तरविरोधलाई शमन गर्ने या आफ्नो आधिपत्यद्वारा अरूमाथि नियन्त्रण र प्रशासन सञ्चालन गर्ने क्रममा । र, यिनै संस्थाहरूको बलमा कज्याइएको आसनमा बसेर आफूलाई विजयशील शक्तिका रूपमा हुँकार मच्चाएको छ इतिहासभरि । यी सबै वैचारिक–सामाजिक संस्थाहरूलाई एकीकृत तवरले व्यवस्थापन गरेर तिनलाई नेतृत्व गर्दै ढलीमली गरिरहेको शक्तिशाली संस्थाका रूपमा भने यताका कम से कम तीन हजार वर्षदेखि राजनीतिक संस्था क्रियाशील रहेको पाइन्छ, सामाजिक नीतिहरूको नायकत्व अधिग्रहण गर्दै ।

समयक्रममा यसको रूप र स्वरूपमा निरन्तर बदलाव आइरहेको छ । तीन हजार वर्ष उसै पनि एउटा संस्थाका लागि आफूलाई आवश्यकतानुकूल परिमार्जन गर्न पर्याप्त समय हुँदै हो । त्यही समयको मझधारमा प्रवाहित हुँदै राजनीतिक संस्थाले आफूलाई समाज व्यवस्थापनको शक्तिशाली संघटकका रूपमा मात्रै स्थापित गराएको छैन, तमाम मानव जातिलाई राजनीतिक प्राणीका रूपमा परिभाषित गर्ने र सोही अनुरूप व्यवहारको जालोमा कस्ने सामर्थ्यसमेत निर्माण गरिसकेको छ । आज जतिसुकै मन नपरे पनि हरेक मानव आफ्नो समाजमा अस्तित्वमा रहेको राजनीतिक परिपाटीको, अभ्यासको, व्यवहारको, विचारको प्रभावबाट, असरबाट, परिणामबाट निरपेक्ष रहन सम्भव छैन । कुनै न कुनै रूपमा आफ्नो भूगोल या निश्चित सांस्कृतिक–भौगोलिक एकाइभित्र क्रियाशील राजनीतिक अभ्यासले उसको जीवनका क्रियाहरू या आखिरी परिणामहरू निथ्रुक्कै भिजेको हुन्छ । भलै, व्यक्तिले आफूलाई राजनीतिबाट पृथक् रहेको घोषणा गर्दै जतिसुकै सुकिलो छाता ओढ्ने प्रयास किन नगरोस् ।

निरन्तरता

राजनीति कस्तो हुनुपर्छ र कस्तो भइरहेको छ भन्ने बहस नौलो विषय होइन न यो निमेषभरमा मेटिइजाने या टुंगिइजाने सन्दर्भ नै हो । यताका दिनमा पश्चिमा समाजको राजनीतिमा भौगोलिक आधिपत्यको अहंकारले युद्धको आयोजना भइरहेको छ । कहिले शान्तिका नाममा पृथक् धार्मिक पृष्ठभूमि भएका देशहरूमाथि आक्रमण र युद्धको शंखनाद गरिन्छ । यसो भए पनि त्यहाँका सामाजिक अन्तरविरोधहरू भने दुई भिन्न वैचारिकीको सीमावारिपारि क्रियाशील भएको पाइन्छ । एकातिर धनकेन्द्रित लोकतन्त्र र अर्कातिर सामाजिक लोकतन्त्र । धन व्यवस्थाको लोकतन्त्र पनि आफैंमा उदार र अनुदार नीतिहरूको भाष्यको घेरामा कैद भएको पाइन्छ । अर्कातिर समाजवादी समाजको शिविरको वकालत गर्नेहरूको प्रधानता पनि राजनीतिमा बलियो रूपमा उपस्थित छ । तर समाजवादी समाजको भाष्यबाट अभिप्रेरितहरूको अभ्यास पनि कट्टर सामन्तवादी या अधिनायकवादी समाजको जस्तो देखिएको यथार्थ हाम्रो सामु छ ।

विघटन

आजको दक्षिण एसियाली समाजको राजनीति भने अनुदार हुँदै गइरहेको छ । बहुमत जनसंख्या, धर्म, विचारका पक्षधरहरूले लोकतन्त्रको सामाजिक फासीवादीकरण तीव्र बनाएका छन् । समग्रमा दक्षिण एसियाको लोकतन्त्र लोकप्रियतावादको सिकार भएको छ र उत्कर्षमा फासीवादीकरणको मझधारमा आइपुगेको छ । लोकप्रियतावादले धर्म, राष्ट्रवाद र नस्लवादको वैचारिकीलाई आफ्नो अविच्छिन्न एकाधिकारको हतियारका रूपमा तर्जुमा गरिरहेको छ । फरक मतलाई निषेधित गर्ने र आरोपित गर्ने क्रम तीव्र भएको छ ।

भिन्न कोणबाट उठेका असन्तोष र प्रश्नहरूलाई वैचारिक विमर्शको फराकिलो मैदानमा प्रवेश गराउने होइन, प्रश्नलाई अवैध र आपराधिक ठहर्‍याउन प्रश्नकर्तामाथि व्यक्तिगत आरोप र लाञ्छना लगाउने अभ्यासतर्फ सिंगो सामाजिक परिपाटी क्रियाशील गराइएको छ । यसो गर्न मुख्यतः राष्ट्रवादी धार्मिक वैचारिकीलाई नस्लीय स्वरूपमा सघन बनाइएको छ । नीति त छ, तर नस्ल नीति । अनुदार नीति । धर्मको विषालु कवच भिरेको असहिष्णु नीति । विभाजनकारी राष्ट्रवादी भाष्यको फणा उठाइरहेको नीति । जनता भने पसिनामा बाँचेका छन् । राष्ट्रवादसँग तिनको कुनै साइनो छैन । देशप्रेम तिनको अभ्यासको शीर्षक हो ।

जनसाधारणको त्यही देशप्रेमलाई राजनीतिकर्मीहरू आफ्नो स्वार्थको रोटी सेक्न राष्ट्रवादको विषालु तावामा तताउने आगोका रूपमा गिजोलिरहेछन् । सामान्यजनहरू निरन्तरको राजनीतिप्रेरित यो अभ्यासका कारण देशप्रेम र राष्ट्रवादको भेद खुट्याउन नसक्ने अवस्थाले रनभुल्ल भएका छन् । देशप्रेम राष्ट्रवाद र राष्ट्रवाद देशप्रेमजस्तो भएको छ । ‘विचारभन्दा माथि देश’ जस्ता नारा लगाएर राजनीतिको रोटी सेक्न उद्यत विषालु पेसेवरहरू दक्षिण एसियाको राजनीतिक बजारमा जताततै राष्ट्रवादको च्याँखे थापिरहेका भेटिन्छन् । उसै गरी धार्मिक आस्थालाई धर्मवादले सर्लक्कै निलेर अतिवादको विस्फोटक कक्षमा रूपान्तरण गरिदिएको छ । जनसाधारणको आस्थाको अभ्यास धर्मभीरु राजनीतिज्ञको भोट कुम्ल्याउने नीतिमा विघटित भएको छ ।

स्खलन

नेपालमा भने राजनीतिबाट नीति गायब भएको छ । यो कोरा प्राविधिक जोडघटाउको टीठलाग्दो तमासामा रूपान्तरित भएको छ । आजको दिनमा तपाईं चुनावी संसदीय राजनीतिको विकल्पमा जनवादी समाजको स्थापना गर्ने शीर्षकमा संगठित ‘माओवादी’ नामको पार्टी एक थान चुनाव जित्न विचारको सवाललाई टुकुचामा विसर्जन गरेर जोसँग पनि घाँटी जोडिरहेको देख्नुहुन्छ । जसरी पनि एक थान चुनाव जित्नु नै उसका लागि जीवनमरणको लडाइँ भएको छ । यसका लागि ऊ चुनावी व्यवस्थाविरुद्ध भएका तमाम युद्धका, क्रान्तिका, बलिदानका सबै खाले निबन्धहरूको बजारीकरण र व्यापार गर्न तत्पर छ ।

अर्कातिर, आफूलाई लोकतान्त्रिक र उदार समाजको हिमायती भन्ने कांग्रेस पार्टी छ, जो चुनाव जित्नका लागि कम्युनिस्ट भनिएका पार्टीको चुनाव चिह्नमा मत हाल्न कार्यकर्तालाई निर्देशन बेचिरहेको हुन्छ । यही मेलोमा एमालेजस्ता तथाकथित कम्युनिस्ट नामधारी पार्टीहरू छन्, जो सम्भावित चुनावी हारको पूर्वसंकेतले त्राहिमाम् भएर धर्मभीरु राजनीतिको यज्ञमा चरु होमिरहेको हुन्छ । कहिले ऊ राम बेचिरहेको हुन्छ त कहिले राज्य कोष समर्पित गरेर होली वाइन । एकातिर ऊ चरम क्रिस्चियन भनेर चिनिएको परिवार दलसँग तालमेलको मञ्च निर्माण गरिरहेको हुन्छ भने त्यसको एकाध घण्टामै हिन्दु धर्मलाई राजनीतिको रोटी सेक्ने खेलो बनाउन उद्यत कमल थापासँग तालमेलको नृत्य मञ्चित गरिरहेको हुन्छ । कम्युनिस्ट भनिएको एउटा दल घोषित रूपमै धर्मको राजनीति गरिरहेको दलसँग किन सार्वजनिक तवरले तालमेल गरिरहेको छ ? यसले के देखाउँछ ?

स्थानीय चुनाव आएको छ, तर दलहरूको प्राथमिकतामा नीति र एजेन्डा छैन । नीति गायब छ । एजेन्डा गुमनाम छ । फलानोलाई हराउनकै लागि गठबन्धन । एजेन्डा त्यस्तो छ । त्यो नै नीति भएको छ । जनता केन्द्रमा छैनन् । जनताको जीवन र भविष्य प्राथमिकतामा छैन । आफूले जित्ने र जसरी पनि जित्ने विषय प्राथमिकतामा छ । आफूले जे–जे गरेर भए पनि एक थान चुनाव जित्नुलाई जीवनमरणको सवाल भनेर व्याख्या गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायका विषयहरू एक थान घोषणापत्रको मसलामा संकुचित छन्, जसको सामयिक जवाफदेही र जिम्मेवारीको सन्दर्भ गायब छ । सामाजिक पहरेदारका रूपमा लिइने सञ्चारमाध्यम दलहरूले या उम्मेदवारले गएको चुनावमा जारी गरेको प्रतिबद्धतापत्र या घोषणापत्र र आजसम्म भएको काम र त्यसबारेको उत्तरदायित्वबारेमा कति प्रश्न र बहस चलाइरहेका छन् भनेर प्रश्न गर्नुपर्ने अवस्थामा छन् । कसरी हैन जसरी पनि चुनाव जित्ने ध्याउन्नमा नीतिलाई तिलाञ्जली दिएर राजनीतिलाई लुडो खेलजस्तो एकाएक भर्‍याङ चढेर माथि उक्लने या तल खस्ने–खसाउने सस्तो खेलोमा बदलिइरहेकाहरूको अर्थहीन भाषणबाजी र जोडघटाउको खबरले आफ्नो काम चलाउन अभिशप्त भइरहेको देखिनु दुःखद छ ।

जनतालाई बदलिँदो यथार्थबारे अवगत गराउनु सञ्चारमाध्यमको सार्वजनिक कर्तव्य नै हो । जतिसुकै अप्रिय भए पनि सूचना दिनु त छँदै छ तर आवधिक र सामयिक समीक्षाको तुलोमा समाचारनिर्माताहरूको कृत्यलाई जोख्नु र पस्किनु पनि उत्तिकै आवश्यक छ भनेर सञ्चारमाध्यमसँग अपेक्षा गर्नु उचितै छ ।

खरानीको लेप

अर्कातिर, नेत्रविक्रम चन्दजस्ता केही हप्ताअघिसम्म पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरूलाई दलाल संसद्वादी, चुनाववादी भन्दै विकल्पमा वैज्ञानिक समाजवादको वकालत गर्नेहरू छन्, जो आफ्नै पार्टीको केन्द्रीय समितिले गरेको निर्णयविपरीत पार्टीलाई चुनाव आयोगमा दर्ता गराउन प्रवक्तासहितको डफ्फा दौडाइरहेका भेटिइन्छन् । चन्दहरू आफ्नो राजनीतिक मार्ग के हुने भन्ने निर्णय गर्न स्वतन्त्र छन् तर विगतमा आफूले गरेको प्रश्न र कर्मको सार्वजनिक जवाफ भने दिनैपर्छ, यदि चन्दले आफूलाई सार्वजनिक पार्टीको नेता स्विकार्छन् भने । हिजोको स्थानीय निर्वाचन किन निरपेक्ष रूपमा बमबारुद पड्काउँदै बहिष्कार गरेको र आजको चुनाव जितेर कुन समाजवादी व्यवस्था ल्याउनका लागि हो निरपेक्ष रूपमा पार्टी दर्ता गराउने मौका पाऊँ भन्दै चुनाव आयोगमा हान्निएको भनेर जवाफ दिनैपर्छ ।

के राजनीतिमा नीति भनेको बजारमा बेच्न राखेको जुत्ताको खोलजस्तो मात्रै हो, आफ्नो निहित उद्देश्यलाई छोपछाप पार्नका लागि प्रयोग गरिने ? नीति गायब भएको राजनीति गरिरहेकाहरूमाथि गर्नुपर्ने प्रश्नहरूको चाङ छ ।

उसो त अब कसैमाथि, कुनै विषयमाथि प्रश्न उठाउनु मात्रै समस्याको समाधान हुन सक्दैन । प्रश्न आफैंमा समाधानको या विकल्पको एउटा आलोक हो । यसर्थ पनि कि, चलिरहेको परिपाटी ठीक छैन र यो प्रश्नहरूबाट घेरिएको छ भन्ने जनाउ दिन । तर, यो मात्रै पर्याप्त छैन । समाधान के त ? बारम्बार सोधिने प्रश्न हो यो । साँच्चै समाधान के त ? यदि जनसाधारणलाई आज चलिरहेको धन व्यवस्था या यसले पैदा गरेको सामाजिक अन्तरविरोधलाई राजनीतिक परिपाटीले थेग्न र समाधान दिन सक्दैन भन्ने लागेको हो भने यसको विकल्प खोज्न अग्रसर हुने काम पनि गरिखाने जनसाधारणहरूकै हो । समाधान कुनै बनिबनाउ भ्याक्सिन होइन जो कसैले कसैलाई लगाइदिने र निको हुने । समस्या आयो भने समाधान खोज्ने काम पनि समस्या भोग्नेहरूकै हो ।

त्यसका लागि प्रस्थानविन्दु भनेको नीतिबाट विचलित भएको राजनीतिलाई नीतिप्रधान, विचारप्रधान र दर्शनप्रधान मार्गतिर अग्रसर गराउनु हो । कस्तो नीति भन्ने सवाल कसको वर्गको राजनीति भन्नेले निर्धारण गर्छ । धन व्यवस्थामा धन हुनेहरूको हितकारी परिपाटीको व्यवस्थापन गर्न प्रतिबद्धहरू व्यवस्थापकका रूपमा अघि आउँछन् । व्यवस्थापकहरू फेरिन्छन्, फेरिइरहन्छन् । तर मूलभूत योग्यता र सीमा उही हुन्छ ।

गरिखानेहरूको व्यवस्था गरिखानेहरूले नै ल्याउने हो । कसैले भावुक र कल्याणकारी भएर व्यवस्थापन गरिदिँंदैन । आजको दिनमा जो छानिए पनि पाँच वर्षका लागि आफूमाथि शासन गर्नेहरू छान्ने हो । शोषण गर्नेहरू छान्ने हो । शोषण र शासन नै आजको व्यवस्थाको मूल चरित्र हो । यो सहभागितामूलक व्यवस्था होइन, प्रतिनिधिमूलक व्यवस्था हो । सहभागितामूलक समाज चाहिनेहरूले त्यस्तो नीति भएको समाज निर्माण गर्न आफैं प्रतिबद्ध भएर अग्रसर हुने हो । आफ्नो मतले त्यस्तो नीतिमा समाजलाई फर्काउन सक्छ कि सक्दैन भनेर ख्याल गर्ने काम सरोकारवालाहरूकै हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.