काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् ।
उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।
उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार डङ्गोलले १५ हजार २ सय ४२ मत पाएकी छिन् । उनी गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा १० हजार ४ सय ११ मतले अगाडि छिन्। श्रेष्ठले अहिलेसम्म ४ हजार ८ सय ३१ मत मात्र प्राप्त गरेका छन् ।