२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

अर्घाखाँची: जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा दल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रुपमा तयारी थालेका छन्। २०७४ मा नेपाली कांग्रेसले जिल्ला समन्वय समितिको प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुख जितेको थियो।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ । अन्य पाँच सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उमेदवार भएर आउनेछन् । र, उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ। तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ। ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन्।

कुल ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १२ जना मतदाता रहेका छन्।यसपटक समन्वय समिति निर्वाचनमा नेकपा एमालेका ८ जना, कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका १ तथा राष्ट्रिय जनमोर्चाका १ जनाले मतदान गर्दैछन्। एमालेले यसपटक सन्धिखर्क नगरपालिका प्रमुख/उपप्रमुख, मालारानी गाउँपालिका प्रमुख/उपप्रमुख, पाणिनी गाउँपालिका प्रमुख/उपप्रमुख, शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकमा उपप्रमुख जितेको छ।

यस्तै कांग्रेसले शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकामा प्रमुख जितेको छ। यसैगरी नेकपा (माओवादी केन्द्र)ले भुमिकास्थान नगरपालिकाको मात्र उपप्रमुख पद जित्न सफल भएको छ। राष्ट्रीय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको प्रमुख पद जितेको छ।

जिल्लाका स्थानीयतहमा कार्यपालिका(बोर्ड) सदस्य पदको निर्वाचन भईरहेका छन्। भुमिकास्थान, पाणिनी, मालारानीमा कार्यपालिका सदस्यको निर्वाचन भईसकेको छ भने अन्यमा एक-दुई दिनमै टुङगो लाग्दै छ । त्यसपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुनेछ । समन्वय समितिको नेतृत्व गर्न दलहरुबीच आन्तरिक तयारी भएको हो। मतदाता संख्याको आधारमा यसपटक समन्वय समितिमा एमाले एक्लैको पनि बहुमत पुगेको देखिन्छ।

समन्वय समितिका लागि आफ्ना उम्मेदवार चयन गर्न एमाले अर्घाखाँचीले आन्तरिक रुपमा तयारी थालेको छ। समन्वय समितिको निर्वाचन मिति एकिन नभएपनि पार्टीले आन्तरिक रुपमा तयारी सुरु गरेको एमालेले जनाएको छ।

एमाले नेता लीला बिकले यस विषयमा पार्टीभित्र अनौपचारिक रुपमा छलफल भएपनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए।

एमालेले यसपटक समन्वय समितिमा एक्लै लडेपनि सहज रुपमा जित्ने अवस्था देखिएपछि आकांक्षीहरु देखिन थालेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (25%)
  • दुःखी (25%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?