नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे ।
सांसद थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती हेर्नसमेत आग्रह गरे । बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ ।
सांसद थापाले काठमाण्डौको अहिले देखिएको फोहर व्यस्थापनको मूल जिम्मेवारी महानगरपालिका र सहरी विकास मन्त्रालयको भएको र यसअघिको समयमा आवश्यक काम नगरेकाले अहिलेको समस्या देखिएको बताए । यो समस्याको गाँठो फुकाउनका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै उनले काठमाण्डौको बञ्चरे डाँडा र सिसडोलमा थप बजेटमा निकास खोजेर भए पनि समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले आउँदा दिनमा कम मूल्यमा मात्रै होइन कम समयमा पनि काम गर्छु भन्नेलाई ठेक्का दिँदा पुँजीगत खर्च कम हुने र समस्या समाधान हुने धारणा व्यक्त गरे ।