अनवर होजा मुसलमान थिए तर उनका अर्थोडक्स क्रिस्चियन मित्रहरू थिए । एक दिन उनी एक क्रिस्चियन मित्रसँग चेस खेल्न बसे । चेस खेल्नुअघि ती पादरी क्रस बनाउँदै ढोग्दै गर्थे । एक पटक होइन, होजाले तीनतीन पटक हारे । अनि होजाले सोधे, ‘तिमीले हरेक पटक क्रस बनाउँदै ढोग्दै गरेकाले बाजी मारेका हौ कि क्या हो रु’ पादरीले भने, ‘हो, त्यसैले हो । तर, क्रस बनाउनुभन्दा पहिला चेस खेल्नचाहिँ जान्नुपर्छ ।’
हामी देशको स्थिति बिग्रिएकामा नेताहरूलाई धारे हात लगाउँछौं अर्थात् सधैं उनीहरूको नियतमा प्रश्न गर्छौं तर उनीहरूको क्षमताबारे त्यति प्रश्न गर्दैनौं । हुन त त्यसको उत्तर सीधा र सजिलो छैन तर नेता र उनका वफादार कार्यकर्ताहरू खुसी नभए पनि के कुरा सत्य हो भने, देशको हालत यस्तो हुनुमा उनीहरूको इमानदारी र नियत मात्र होइन, क्षमताको सीमा पनि जिम्मेवार छ ।
सात दलको मार्गचित्रमा सहमत भई राजाले संसद् पुनस्स्थापना गरेलगत्तै एक कार्यक्रममा त्यति बेलाका पूर्वमन्त्री नीलाम्बर आचार्यले अब देशको उन्नति तीव्र हुने कुरा गरे । लेखकले प्रश्न गर्यो, ‘हिजोसम्म ढंग नभएका नेताहरूको क्षमता संसद् पुनस्स्थापना हुनासाथ कसरी बढ्छ ?’ उनले बहुत पेचिलो प्रश्न हो भन्दै वैदेशिक सहयोग आउने, अन्तर्राष्ट्रिय समर्थन भएको आदि कारणले सफल हुनेजस्ता उत्तर दिए । दुई दशक बित्न लाग्दा पनि यो प्रश्न मरेको छैन । यथार्थमा नेता मात्र होइन, राज्य सञ्चालनमा संलग्न अरूहरूको पनि क्षमता बढेन । खास गरी कर्मचारीतन्त्रको । न त नागरिक समाज, गैरसरकारी संस्था र निजी क्षेत्रकै बढ्यो । अरूको क्षमता पनि नबढेकाले नेताहरूलाई सुध्र्रिन दबाब नै पनि परेन । नेता र जनता परस्पर रिझ्याइँमै रमाए । नेता भ्रष्ट भए भनेर गुड्डी हाक्नेले नै भरमग्दुर प्रयास गरेर नेतालाई आफ्नो कार्यक्रममा बोलाएर माला लगाउँछ । पक्कै पनि राजनीतिमा टिक्न सत्तामा रहनुपर्छ तर सत्तामा रहेर काम गर्ने क्षमता नेतामा रहेन ।
क्षमता के हो ?
सामान्यतस् कुनै काम गर्ने सम्भावित उम्मेदवार हुन विचार गरिने पक्षलाई योग्यता भन्ने गरिन्छ भने, छानिने र छानिएपछि गर्न सक्ने कार्य प्रदर्शनलाई क्षमताका रूपमा बुझ्न सकिन्छ । यस अर्थमा भइसकेका नेतालाई योग्यताको कुरा गर्नुपरेन । उनीहरूको क्षमताको कुरा गर्नुपर्यो । पहिले हुनेवाला नेताको कुरा गरौं ।
उनीहरूको योग्यताकै कुरा गर्नुपर्यो । बेलाबेलामा नेतृत्वका लागि उम्मेदवार हुन औपचारिक शैक्षिक योग्यताको कुरा उठ्ने गर्छ । विश्वभरि नै कुनै न कुनै किसिमको विधायिका संसद् रहन्छ र त्यो राष्ट्रिय राजनीतिको नीति निर्णायक अंग हो । त्यसैको सदस्य हुने सन्दर्भमा योग्यताको कुरा गरौं । सामान्यतस् सांसदको महत्त्व र गरिमालाई हेरेर न्यूनतम योग्यता स्नातक हुनुपर्ने कुरा गरिन्छ । भारतमा नेतृत्वको योग्यताको कुरा गर्दा भारतीय राजनीतिशास्त्र संघका प्रा। अञ्जनकुमार भान्जा भन्छन्, ‘नेतृत्वले शिक्षा प्राप्त गरेमा दुष्ट प्रवृत्तिका र छट्टू कर्मचारीको फन्दामा पर्नुपर्दैन जसले जनतामा पुग्ने काममा बाधा पुर्याउँछन् । शिक्षाले चुनौतीहरूको आकार र समाधानको क्रमको पूर्वदृष्टि दिन्छ र वादविवादमा तर्कपूर्ण र अर्थपूर्ण दृष्टिकोण राख्ने क्षमता बढाउँछ ।’ तर विश्वमै उच्च औपचारिक शिक्षा भएका राजनीतिक नेतृत्वहरू रहेको सिंगापुरमा पनि सांसद हुन औपचारिक शिक्षा न्यूनतम योग्यतामा राखिएको छैन । नेपालको पञ्चायती संविधानमा सुरुमा राष्ट्रिय पञ्चायतमा चार जना स्नातकबाट निर्वाचित गर्ने प्रावधान थियो जसमा चारै जना इतर पक्षका निर्वाचित भएर पछि त्यो प्रावधान हटाइयो । तरोताजा स्नातकले केही कुरा बुझेको हुन्छ । उसको सपना हुन्छ, जोस हुन्छ, उसको गुमाउने कुरा पनि हुँदैन । ऊ देखेको कुरा भन्छ । त्यो ऐतिहासिक कुराले संसद्मा शिक्षित र युवाको आवश्यकता महसुस गरिएको संकेत भने गर्यो । दलीय युगमा सायद शिक्षित पर्याप्त भएर यसबारे खासै छलफल भएन ।
यस पंक्तिकारले थाहा पाएका बेलासम्म दलहरूमा दीक्षा हुन्थ्यो, दासत्व हुन्थेन । कांग्रेसीले किन कम्युनिजम काम गर्दैन भन्न मार्क्सवाद पढाउँथे, कम्युनिस्टले किन पुँजीवाद काम गर्दैन भनेर अर्थ–राजनीति पढाउँथे । अहिले दासता र प्रलोभन अनि केही नातावाद नै वफादारीको आधार भएको छ, सिद्घान्तको ‘स’ सम्म उच्चारण गरिँदैन । पुराना नेतामा सैद्घान्तिक विचलन हुने कारण पनि सिद्घान्तमा दखल भएको पुस्ताले सिद्धान्तबाट नेतालाई विचलित हुन नदिन सैद्घान्तिक दबाब कायम राख्न नसकेर हो । अहिले दलहरूबीचको फरक जातको भन्दा पनि निकृष्ट भएको छ । जुनसुकै बेला जातमा जस्तै शक्ति र पैसाले जुनसुकै दलमा ‘पतिया’ दिन सक्छ । हेरौं, कति स्वतन्त्र पतिया लिन जान्छन् वा दलहरूले पतिया दिन्छन् । दलका दृष्टिमा उनीहरू जात झरिसके ।
अहिले सम्भवतस् निर्वाचित हुनुपर्ने जनप्रतिनिधिहरूको न्यूनतम योग्यता तोकिएको विद्यालय व्यवस्थापन समिति ९विव्यस० को अध्यक्ष मात्र हो, जसको ‘औंठा छाप’ भनेर शिक्षकहरू उछित्तो काढिरहेछन् । ती बिचरा शक्तिहीन भएर मात्र हो, ‘अशिक्षित’ भए पनि सांसद र मन्त्रीलाई भने नमस्ते गरेरै बसिरहेका छन् । पढेका हौं भन्ने शिक्षकहरूले देशको बिग्रँदो शैक्षिक अवस्थाबारे गोहीको आँसुसम्म चुहाएको भने देखिएको छैन । यस अर्थमा शिक्षामन्त्रीको योग्यता नचाहिने, विव्यस अध्यक्षको चाहिँ चाहिने कुरा पनि विडम्बनापूर्ण नै हो । यद्यपि सम्बन्धित समुदायले त्यसको बेवास्ता गरेर सांकेतिक प्रतिरोध भने गरिरहन्छ । अझै विडम्बना त, कानुनले २०८५ सालसम्ममा साक्षर नभए जनसाधारणलाई सेवाबाट वञ्चित गर्न सक्छ तर अरू राजनीतिक पदका लागि शिक्षाको कुरा गर्दैन ।
के गर्ने त ?
विभिन्न राजनीतिक ओहदामा आउन औपचारिक शिक्षा चाहिने–नचाहिनेबारे अहिले तत्काल गर्न सकिने कुरा छैन तर सामूहिक जनमानसले त्यसको धारणा भने बनाइराख्नुपर्ने हुन्छ । औपचारिक शिक्षाले नै हाम्रो अहिलेको शिक्षाको स्तर हेर्दा क्षमता प्रमाणित पनि गर्दैन । यहाँ अहिलेकै परिस्थितिमा कसरी क्षमतावान् नेता छान्ने भन्नेबारे केही चर्चा गरिन्छ ।
यो काम दुईतीन तहबाट गर्नुपर्ने हुन्छ । सबभन्दा पहिला नेताहरूले मनन गरिदिए सबभन्दा राम्रो हो । अहिले दलमा भाषण गरेर प्रभुत्व राख्न सक्नेहरू मात्र नेता हुन्छन् । त्यही नै उनीहरूको क्षमता ठहरिन्छ । उनीहरू राज्यसञ्चालन सम्बन्धी ज्ञानमा अद्यावधिक हुन सक्छन् र अद्यावधिक हुन स्रोतमा पहुँच पनि छ । यद्यपि उनीहरू विज्ञका भन्दा दलका दास–विज्ञका कुरा सुन्छन् । प्रतिपक्षी दलका विज्ञ वा स्वतन्त्र विज्ञका कुरा सुने राम्रो । हरेक कार्यकारी तहका नेता ( जस्तै स् पालिकाप्रमुख, प्रादेशिक मन्त्रीहरू, संघीय मन्त्रीहरू र दलका विभागीय प्रमुखहरू – अद्यावधिक हुन अत्यावश्यक भएका समूहमा पर्छन् भने कमसे कम सांसदहरूले पनि राज्यसञ्चालनका विषयमा अद्यावधिक हुनु आवश्यक छ । थोरै नेताहरूले मात्र यस्तो प्रयत्न गरेको देखिन्छ । सरकारी ढुकुटी खर्च गरेरै सल्लाहकार राख्छन् तर व्यवहार सहायकजस्तो गर्छन् । (बरु सहायकलाई सल्लाहकारजस्तो गर्छन्, नेतालाई अरूलाई ठूलो मान्न गाह्रै लाग्छ । त्यसो भए सल्लाह दिने हैसियत भएकै सल्लाहकार राखून् ।) यथार्थमा सबैजसो कार्यकारीहरू महत्त्वपूर्णभन्दा तात्कालिक काममै समय बिताइरहेका हुन्छन् । बेलाबेला मन्त्री र वडाध्यक्ष, सांसद र वडाध्यक्ष काममा फरक देखिँदैनन् । उनीहरूले आफ्नो भूमिका नै बुझेको देखिँदैन । राज्यको स्रोत ल्याएर जनताका आँखामा काम गरिदिने देखिनुमै उनीहरूको ध्याउन्न देखिन्छ ।
नेताले नै गर्नुपर्ने अर्को कुरा हो- नेताको क्षमता निर्माण पद्धति स्थापना गर्ने । त्यो हरेक तहमा गर्नुपर्छ । यो संक्षिप्त र तदर्थ रूपमा मात्र हुने गरेको सुनिन्छ । नेताले आफ्नो भूमिका पनि थाहा पाउनुपर्यो । उदाहरणका लागि, पालिकाका पदाधिकारीले आलंकारिक प्रोत्साहनका लागि सडक सफा गर्नु ठीकै हो तर उनको काम त्यस्तो पद्धति स्थापना गर्नु र त्यसको अनुगमन गर्नु हो । कुनै कक्षामा शिक्षकले पढाएनन् भनेर जान्ने वडाध्यक्षले आफैं गई पढाएर हुन्छ र रु
तेस्रो जनताले गर्ने कुरो हो । त्यसको खास अवसर चाहिँ चुनावका बेला मात्र आउँछ । क्षमतावान् उम्मेदवारलाई मत दिने । यो पनि दलले नै टिकट दिने बेला विचार गरे राम्रो तर यसो नभएका खण्डमा दलका वफादारहरू दास बन्न छाड्नुपर्छ । घाममा बाहेक छापै लगाउन मन लाग्दैन वा रूखमा बाहेक अन्त हातै जान्न भन्नु दासता नै हो । अहिले धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेको कुरालाई लोकतन्त्रका लागि अशुभ पनि मान्ने गरिएको छ तर त्यसलाई लोकतन्त्रको महत्त्व बुझेको तर दलको अयोग्यता अस्वीकार गरेका रूपमा बुझ्नुपर्छ । यद्यपि स्वतन्त्र उम्मेदवारको नियत र क्षमता दुवै हेरियो कि हेरिएन, समयले बताउनेछ । अब कम से कम भोट हाल्ने लोकतन्त्र खोसिने अवस्था देखिँदैन । लोकतन्त्रलाई लोकतन्त्रजस्तो बनाउने चुनौती लिनुपर्ने हुन्छ । स्थानीय चुनाव सकिए पनि बर्खा बित्नासाथै प्रादेशिक र संघीय चुनाव आउनेछ । तल सक्षम नेताहरूको क्षमता कसरी हेरौं भनेर तिनीहरूको लक्षण खोज्ने कोसिस गरिएको छ ।
सक्षम नेताका मुख्य लक्षण
अध्ययनशील : लिडर्स आर द रिडर्स । पछिल्लो पटक पूरा किताब पढेको समय तीनचार महिनाभन्दा बढी नहोस् । लेखन चाहिँ केही अभ्यासको विषय पनि हो तर लेख्ने मानिस सामान्यतस् पढ्ने हुन्छन् । बेलाबेला लेख्ने गरोस् । बेलाबेला सिकाइ–मेला, तालिमहरूमा जाओस् ।
भ्रमणशील : भ्रमण एक किसिमको अध्ययन नै हो । गच्छे अनुसार सक्रिय भ्रमण गरेको र गरिरहने होस् । उमेरमा कतै पदयात्रा गरेको र पचास कटे पनि केही भ्रमण गरिरहने होस् । औकातले नै नभ्याउने अवस्थाबाहेक अरू देशको, कम से कम भारतका उत्तर र दक्षिणको, भ्रमण गरेको होस् ।
प्रविधिसाक्षर : अहिलेको अवस्थामा विद्युतीय साक्षरता अनिवार्यजस्तै भएको छ । कम्प्युटरमा आधारभूत सीप जरुरी छ । त्यसै गरी त्यो हैसियतको भए गाडी चलाउन जान्ने होस् । साइकल र सिलाइ मेसिन चलाउन जान्नु आधारभूत प्राविधिक सीप हुन् ।
धरातलवासी : चुनावकै कुरा गर्ने हो भने, सम्बन्धित क्षेत्रमै बस्ने गरेको र कुनै किसिमको परिश्रम गर्ने योगदान गरेको होस् । कसैलाई भनसुन गरेर खानेपानी योजना ल्याउने मात्र होइन, त्यसमा श्रमदान नै गरेको होस् ।
उत्पादनशील उद्यमी : इधर का माल उधर गरेर पैसा कमाउनेभन्दा उत्पादनशील काम गरेको आम्दानीमा बाँच्ने होस् । उदाहरणका लागि, ट्रक चलाउने व्यवसायभन्दा टायल उत्पादन गर्ने होस् । राज्यले दिनुपर्ने सेवाको व्यवसाय ( जस्तै स् शिक्षा, स्वास्थ्यमा व्यवसाय ( नगरेको होस् । औषधि वा सर्जिकल सामान उत्पादन गर्नु ठीकै छ ।
सान्दर्भिक वक्ता : भाषण गर्दा विषयवस्तुमा केन्द्रित रहने होस् । लामो भाषण नगरोस् । नजानेको विषयमा बोल्न नजाओस् । भाषण गर्न जानुअघि तयारी गरोस् ।
समयपालक : समय पालन गरोस् । आफैं पनि डायरी बोक्ने होस् र क्षमतावान् सहायक राखेको होस् । कार्यक्रममा समयमा पुग्नु त्यत्तिकै जरुरी छ ।
सत्संगी : क्षमतावान् र इमानदार साथी र सहयोगी भएको होस् । नयाँ विद्वान्हरू खोज्नेभन्दा पनि पहिल्यैदेखि सुसंगतमा होस् । अक्षम र बेइमान साथी भएका नेताहरूबाट टाढा रहोस् ।
उदार तानाशाह : निर्णयमा लोकतान्त्रिक र कार्यान्वयनमा तानाशाह नै होस् । निर्णय गर्दा प्रतिपक्षी र सरोकारवालाको राय लिने होस् । सक्षम नेतृत्व निर्णय गर्नुपर्ने विषय सार्वजनिक गर्न डराउँदैन । निर्णय भएका विषय निर्मम भएर कार्यान्वयन गर्ने होस् । अठोट नेताको महत्त्वपूर्ण गुण हो ।
श्रोता : ज्ञान आर्जन गर्न, फरक दृष्टिकोण थाहा पाउन र व्यवस्थापन गर्न पनि नेता असल श्रोता हुनु जरुरी छ । श्रवण अरूको सम्मानको अभिव्यक्ति पनि हो ।
तीक्ष्ण स्मरणकर्ता : स्मरणशक्ति तीव्र होस् । परस्परविरोधी कुरा नगर्ने होस् । यो पनि क्षमताको महत्त्वपूर्ण सूचक हो । @ekantipur.com