नेपाल आइसिसी महिला यू-१९ टी-२० विश्वकपअन्तर्गत एसिया छनोटबाट बाहिरिएको छ। शीर्ष टिम आगामी वर्ष दक्षिण अफ्रिकामा हुने महिला यु-१९ टी-२० विश्वकपमा छनोट हुने प्रावधानअनुसार नेपाल शीर्ष टिम बन्न नसक्ने भएको हो।
छनोटमा युएई र थाइल्यान्ड लगातार चार जित निकालेर उपाधि दौडमा रहेका छन्। नेपालले चार मध्ये दोस्रो खेलमा हार बेहोर्ने क्रममा मंगलबार थाइल्यान्डसँग ४९ रनले पराजित भयो। थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल खेल्न बाँकी छदा ४० रनमा अलआउट भयो।
नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सर्वाधिक रन बनाएकी श्रृष्टी जैशीले नटआउट ७ रन जोडिन्। बलिङमा थाइल्यान्डकी बूनसुखामले ३ विकेट लिइन्। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले ७ विकेटको क्षतिमा ८९ रन जोड्यो।
थाइल्यान्डका लागि बन्थिदा लीफात्थनाले १९ रन जोडिन् भने थिपात्चा पुथावाङले २० रन र सुवानन खिएओतोले १६ रनको योगदान गरे। बलिङमा नेपालका मनिषा उपाध्याय र कप्तान कृतिका मरासिनीले २-२ विकेट लिए। स्नेहा महराले १ विकेट हात पारिन्। यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो। तेस्रो खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको थियो।
अब नेपालले अन्तिम खेलमा आयोजक मलेसियासँग पर्सि खेल्नेछ।