सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आउँदो बजेटबारे सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन गर्ने दाबी गरेकी छिन् ।
शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद संग्रौलाले विभिन्न विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नु भएकोले त्यस्ता विषय सम्बन्धित मन्त्रीहरूले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिन् । उनले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाइ नहुने तर्कसमेत गरिन्।
उनले भनिन्, ‘कर बढी राखेको लगायतका विषय संसदमा उठेको छ । सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । सांसदहरूले उठाएको कुरामा सभामुखले रुलिङ गर्नुभएको छ । सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’
सांसद संग्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताईन् ।