नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बैठकमा जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीले आजै संसद् बैठकमा आएर कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको सम्झौता नेपालले गर्दैन भनेर जवाफ दिनुपर्ने बताए ।
‘यस्तो सम्झौता नेपालले गर्दैन भनेर प्रधानमन्त्रीले आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ’ सांसद थापाले भने । प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि मात्र यसबारेका भ्रम र आशङ्का अन्त्य हुने थापाको भनाइ छ ।