सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेशसभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् । आउँदो आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।
प्रदेश-१ सरकारले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ । त्यस्तै, वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ ।