लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पालिकामा आउँदो आर्थिक वर्ष २०७९/८० का लागि बजेट बनाउन आवश्यक प्रक्रिया चलिरहेको छ । नीति तथा कार्यक्रमका लागि छलफल गरी सुझाव सङ्कलन, माग र आवश्यकतालाई ध्यानमा राखेर जनप्रतिनिधि र कर्मचारी सम्बन्धित पालिकाको टोल–बस्तीमा पुगेका छन् ।
गएको वैशाख ३० गते भएको पालिका चुनावबाट चुनिएका जनप्रतिनिधिले कार्यभार सम्हाले लगत्तै बजेटको प्रक्रिया सुरु भएको हो । नेपालका सात सय ५३ स्थानियतह मध्ये बाजुराको बुढीगङ्गामा मात्रै जनप्रतिनिधि चुनिन बाँकी छ । निर्वाचित जनप्रतिनिधि यति बेला वडा तहमा छलफल र आवश्यक योजनाको प्राथमिकीकरण गर्न जुटेका छन् ।
जिल्लाको भुमिकास्थान नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट पूर्व सुझावका लागि केन्द्र सरकारका विभिन्न निकाय, विज्ञ तथा स्थानीय सरोकारवाला पक्षसँग छलफल नै गरेको छ । मेयर झविलाल थापाले तीन तहका सरकार, विज्ञ, स्थानीय सरोकारवालाको सहभागितामा कार्यक्रम गरिएको र प्राप्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढ्ने बताए । भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउतका अनुसार छलफल र सुझावबाट बजेट तर्जुमा गर्न सहज भएको र सबै पालिकाले यसैगरी बजेट निर्माण गर्न सकेमा उपलब्धिपूर्ण हुने बताए ।
यस्तै सन्धिखर्क नगरपालिकाले अहिले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ । असार १० गते भित्र नगरसभा गर्ने तयारी गरेको नगरपालिकाका मेयर कृष्ण श्रेष्ठले जानकारी दिए । शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेलका अनुसार असार १० गतेभित्रै सभा सुरु गर्ने गरी वडास्तरमा योजना छनोट, विभिन्न क्षेत्रसँग छलफलका काम भइरहेका छन् ।
अर्घाखाँचीका ६ वटै स्थानियतहले सुचना नै जारी गरेर बजेट पूर्व सुझावका लागि अपिल गरेका छन् । अन्य जिल्लामा यो कार्य हुँदै आएपनी अर्घाखाँचीमा यो नौलो अभ्यासका रुपमा प्रयोग गरिएको छ । यसले मागका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्न मद्दत गर्ने विश्वास लिईएको छ ।
यस पटक नवनिर्वाचित जनप्रतिनिधिले हतारमा बजेट बनाउनुपरेको हुँदा प्राथमिकता र उपलब्ध स्रोतको तालमेल मिलाउन समस्या हुनसक्ने शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले बताए । ‘जनप्रतिनिधी भर्खर आउनु भएको छ,उनले भने,‘तालमेल मिलेन भने अफ्ठ्यारो हुनसक्छ ।’
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालका अनुसार असारभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुन सकेन भने पालिकाले राजस्व उठाउन र खर्च गर्न पाउने छैनन् । पालिकामा सङ्घबाट जाने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम बजेटको मुख्य स्रोत हो । साथै पालिकाको आन्तरिक स्रोत पनि बजेटमा समावेश हुन्छ । सङ्घ सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
आर्थीक वर्ष २०७९/०८० का लागी अर्घाखाँचीले ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ ।
यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख तथा भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख र मालारानी गाउँपालिकाले ४७ करोडको बजेट पाएका छन् ।