नेपालका खेलको तथ्यांक सट्टाबाजीका लागि प्रयोग गर्न एन्फाको सहमति

नेपालका खेलको तथ्यांक सट्टाबाजीका लागि प्रयोग गर्न एन्फाको सहमति

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिका लागि भोलि सोमबार निर्वाचन हुँदैछ। चार वर्षको कार्यकालका लागि अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनले एन्फा ध्रुवीकृत भइरहेको एन्फाले विदेशी कम्पनीलाई बेटिङ (सट्टाबाजी) का लागि तथ्यांक उपलब्ध गराएको विषयले नेपाली फुटबलमा तंरग ल्याएको छ।

स्विट्जरल्यान्डको इम्पावर स्पोर्ट्स एजीसँग सन् २०२१ सेप्टेम्बरमा नेपालको ‘ए’ डिभिजन लिग, ‘बी’ डिभिजन लिग, ‘सी’ डिभिजन लिग, नेपालको महिला फुटबल लिग र नेपालको राष्ट्रिय फुटबल टिमको खेल इन्टरनेटमार्फत् प्रत्यक्ष प्रसारण गर्ने सम्झौता गरिएको थियो। यो सम्झौता सन् २०१८ पनि गरिएकोमा २०२१ मा केही परिमार्जन गरिएको थियो। सम्झौतामा खेलका तथ्यांक ‘बेटिङ’ प्रायोजनका लागि प्रयोग गर्न सकिने उल्लेख छ।

परिमार्जनमा ‘बेटिङ’ को बुँदा थपिएपछि यो विषय कानुनसम्मत थियो वा थिएन भन्ने प्रश्न उठेको छ। एन्फाले स्विट्जरल्यान्डको कम्पनीसँग इन्टरनेटमार्फत् प्रत्यक्ष प्रसारण गर्ने सम्झौता गरेको एन्फाका अधिकारीले स्वीकार गरिसकेको छन्। तर बेटिङमा एन्फा संलग्न नभएको उनीहरूको भनाइ छ। ‘एन्फा पो बेटिङमा संलग्न हुन भएन त। कसैले डाटा बेच्छ वा के गर्छ भन्ने हामीलाई मतलब हुने विषय भएन,’ नाम उल्लेख नगर्न आग्रह गर्दै एन्फाका ती अधिकारीले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले यसबारे बुझिरहेको बताए। ‘हामीलाई यसबारे आधिकारिक रूपमा कतै पनि आइसकेको छैन। मिडियामा आइसकेपछि यसबारे के रहेछ त भनेर बुझ्ने प्रयास गर्दैछौं। सबै ठाउँमा कानुनबमोजिम भनिएको छ। कानुनबमोजिम गर्न नपाइने भन्ने त हुन्न। तर कहाँको कानुन हो तरु नेपालको हो कि विदेशको हो। नेपालमा त नेपालको कानुन लाग्छ। सम्झौतामा त्यस्तो भनिएको कुरालाई हामीले ठाडै मिल्दैन भन्न मिल्दैन। त्यसको अन्तरवस्तु के रहेछ हामी बुझ्दैछौं। हामी पनि आकर्षित भएका छौं,’ उनले भने।

एन्फाका अर्का एक केन्द्रीय सदस्यले भने सम्झौता गर्दा एन्फा पदाधिकारी गम्भीर नहुने बानीले समस्या निम्तिएको आरोप लगाए। ‘कुनै पनि सम्झौता गर्दा हाम्रा पदाधिकारी गम्भीर भएको पाउँदिनँ। राम्रोसँग नपढी हस्ताक्षर गर्ने बानी छ। नेपालमा बेटिङ गर्नु गैरकानुनी हो भन्ने सबैलाई थाहा छ। तर त्यसका लागि तथ्यांक उपलब्ध गराउनु हुन्छ वा हुँदैन भन्ने विषयमा गम्भीर भएको पाइएन,’ उनले भने।

सार्वजनिक भएको सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधरको हस्ताक्षर छ। उनले सन् २०२१ डिसेम्बर ६ मा हस्ताक्षर गरेका थिए। यसअघि एन्फाले एएफसी लिग विकास कार्यक्रम र प्रत्यक्ष फुटबल प्रसारणको लागि एएफसी प्रेसिडेन्ट्स इनिसिएटिभ्स प्लेटफर्मको अंशको रूपमा हस्ताक्षर गरिएको बताएको थियो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *