लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा भईरहेको चुनढुङ्गा उत्खनन् विरुद्ध संघर्ष गर्ने भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खाँचीकोटमा उत्खनन भईरहेको चुनढुंगाले वातावरणीय प्रभाव परेको भन्दै उत्खनन बन्द गराउने निर्णय गरेको हो ।
बिपी स्मृती भवन सन्धिखर्कमा बसेको जिल्ला कार्य समिति बैठकले जथाभावी चुनढुंगा उत्खननले पर्यटकीय क्षेत्रमा वातावरण प्रदुषीत भएको भन्दै उत्खनन बन्द गर्ने निर्णय गरेको कांग्रेसका पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । उनका अनुसार राष्ट्रकै गहनाका रुपमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थल सुपादेउराली मन्दिर आसपासका क्षेत्रमा चुनढुङ्गा उत्खननले वातावरणमा असर पु¥याएको छ ।
‘खाँचीकोटको तीनपाने लेकमा उत्खनन् गरिंदै आएको चुनढुङ्गा खानीका कारण सुपादेउराली क्षेत्रमा प्रदुषण बढ्दा पर्यटनमा ह्रास आउने देखिन्छ,उनले भने,‘ अर्घाखाँचीको विशेष महत्व बोकेको क्षेत्रमा चुनढुङ्गा उत्खनन कार्यले खानी आसपासको सडक बिग्रने, भत्कने, धुलो–धुवाँ उड्ने, ध्वनी प्रदूषणलगायत वातावरणीय समस्याबाट त्यो क्षेत्रका स्थानीयवासी, पर्यटक, सर्वसाधारण लाई प्रत्यक्ष असर परेको छ ।’
चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन (उपकरण) को प्रयोग, पर्यटकिय गन्तव्य बाटै दैनिक सयौं टिप्परको आवतजावत हुनेहुँदा सडक बिग्रने र वातावरण प्रदुषित् भएकाले समस्या बढ्दै गएको छ । बर्षौं देखी यो क्रम चलिरहँदा तथा वैकल्पिक उपायहरु अवलम्बन नगर्दा वातावरण संगै पुर्वाधार, पर्यटन र जल क्षेत्रमा ह्रास आउने देखिन्छ । टिप्परहरुले ओभरलोड बोक्दा सन्धिखर्क–गोरुसिङ्गे सडक जिर्ण बन्दै गईरहेको छ । साँघुरो सडकमा टिप्पर हिंड्दा अन्य सवारी साधनहरुलाई हिंड्न समेत अफ्ठ्यारो छ ।
‘ओभरलोड बोकेर टिप्परहरु हिंडेका छन्, कांग्रेस सभापती केशव श्रेष्ठले भने,‘सडको हालत जिर्ण बनेको छ, जथाभावी भएपछी हामी बोलेका हौं ।’ धार्मिक तथा प्राकृतिक सौन्दर्यता मासिदै गएको भन्दै सभापती श्रेष्ठले प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र दिन–प्रतिदीन कुरुप बन्दै गएकोमा चिन्ता व्यक्त गरे । विप्लप नेतृत्वको (नेकपा) माओवादी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका साना दलहरु यसअँघी नै चुनढुङ्गा उत्खनन्को विरोधमा थिए ।
स्थानियहरु समेत चुनढुङ्गा उत्खननको विरोधमा छन् । खानीबाट निस्किएको प्रदुषणका कारण स्वास्थ्य र खेतिपातीमा समेत असर गरेको खाँचीकोट निवासी राजेन्द्र रायमाझीले बताए । ‘यहाँका बालबच्चाहरुको स्वास्थ्यमा असर त गरेको नै छ, उनले भने,‘खेतिपातीमा समेत यस्को असर हुने रहेछ ।’ नरपानी क्षेत्रमा अर्घाखाँची सिमेन्टको चुनढुङ्गा उत्खनन् ११ बर्षदेखि बन्द रहेको छ । कम्पनिले स्थानीयसँग गरेको संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै स्थानीयवासी संघर्षमा उत्रिएपछि उत्खनन कार्य रोकिएको थियो ।
चुनढुङ्गा उत्खननका कारण खानेपानीका मुहान सुकेको र वातावरणिय क्षती भएको भन्दै स्थानीय बासिन्दाहरुले २०६८ कातिक २० गते देखि नरपानीमा संचालित चुनढुङ्गा उत्खननको कामकाज पुर्ण रुपमा ठप्प पारेका थिए । त्यस लगत्तै भुगर्भ सिमेन्टले खाँचीकोटको तीनपाने लेकबाट चुनढुङ्गा उत्खनन् गरिरहेको छ । यो खबर नागरिक दैनिकमा प्रकाशित भएको हो ।