संसदका दुबै सदनको बैठक बस्दै

संघीय संसदका दुबै सदनको बैठक आइतबार बस्दैछ। राष्ट्रियसभाको बैठक बिहान ११ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
यस्तै देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले लोकसेवा आयोग विधेक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।