अहिलेसम्म झन्डै २० प्रतिशत मात्र रोपाइँ

अहिलेसम्म झन्डै २० प्रतिशत मात्र रोपाइँ

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

प्रदेश-२ मा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ । पश्चिममा अलि छिटो रोपाइँ हुने गरेको तर पूर्वमा मकैबाली र चैते धानबालीका कारण ढिलो हुने गरेको वरिष्ठ कृषि अर्थविज्ञ जोशीको भनाइ छ । धान रोपाइँ ढिला हुनुमा मुख्य दुई कारण मल र सिँचाइ रहेका छन् । किसानले बेलैमा मल पाउन नसक्दा कुरेर बस्नुपर्ने बाध्यता छ ।

भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उनको भनाइ छ ।

भारतबाट पहिलो लटमा १५ हजार टन युरिया मल भित्रिँदैछ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर ९आरसीएफ० ले कृषि सामग्री संस्थानको वीरगञ्ज गोदामसम्म यो मल ल्याइदिने गरी सहमति भएको प्रवक्ता सञ्जेलले जानकारी दिए। त्यस्तै कृषि सामग्री कम्पनीले गरेको ग्लोबल टेन्डरमार्फत ३० हजार टन मल आउनेक्रममा रहेकाले केही सहज हुने उनको भनाइ छ ।

धानबालीका लागि मात्रै नेपालमा झन्डै १ लाख ५० हजार टन मल आवश्यक पर्छ । धानबाली खाद्यान्नको रुपमा चामल मात्रै नभएर समग्र अर्थतन्त्रसँग पनि जोडिन्छ । आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ५१ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७४ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको ११ महिनामा धानरचामलरकनिका र बीउ गरी ४५ अर्ब रुपैयाँभन्दा धेरैको आयात भएको छ । धानको उत्पादन तथा उत्पादकत्व बढाउने र व्यवसायीकरण गर्ने उद्देश्यले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको थियो । हिजो देशैभर ‘धानबालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *