छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने

छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने

नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसदमा राजीनामा घोषणा गरेका छन्।

उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ। उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ। संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए।

‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’

छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए। यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरूले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपालि प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए।

‘भरतमोहन अधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि छानबिन समिति बनेका थिए तर उहाँहरूले राजीनामा दिनुभएन,’ पुनले भने,‘रामशरण महतले भने छानबिन समिति बनेपछि राजीनामा दिनुभएको रैछ। निर्दोष प्रमाणित भएपछि उहाँ फेरि फर्किनुभयो।’

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *